पर्यटकीय क्षेत्र ठमेलमा घरधनी र भाडावाल व्यवसायीबीच भाडा समायोजनमा सहमति भएको छ। घरधनी र आफ्ना घरमा बस्ने भाडावालबीच आपसी समझदारीमा आवश्यकताअनुसार भाडा समायोजन गर्ने सहमति दुवै पक्षले गरेका छन्।
आइतबार ठमेलमा घरधनी र भाडावालबीच भएको बैठकमा आवश्यकताअनुसार आपसी समझदारीमा भाडा समायोजन गर्ने सहमति भएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष तथा भाडा समायोजन समिति संयोजक भविश्वर शर्माले बताए।
‘व्यवसायको प्रकृति र आवश्यकताअनुसार भाडा छुट गर्ने दुवै पक्षबीच सहमति भएको छ,’ शर्माले भने, ‘यो घरधनी र भाडावालाबीचको आपसी समझदारीमा के कस्तो अवस्था छ, त्यसअनुसार गर्ने बैठकमा छलफल भएको छ।’
ठमेलमा सामान्य चिया पसलदेखि ठुल्ठुला होटलहरु रहेकाले तिनीहरुलाई क्षति फरक–फरक पर्ने भएकाले अहिले यति प्रतिशत नै भनेर तोक्दा न्याय नहुने बैठकमा छलफल भएको थियो। उक्त क्षेत्रमा मासिक भाडा १५ हजारदेखि २५ लाखसम्म रहेकाले भाडा समायोजन गर्दा ५० प्रतिशतभन्दा माथि वा तल पनि हुनसक्ने कुरामा समझदारी भएको छ।
‘कुनै पनि व्यवसायी भाडाकै कारण विस्थापित हुन नपरोस् भन्ने बैठकको निष्कर्ष छ’, शर्माले भने, ‘घरधनीले भाडावाललाई विस्थापित नहुने वातावरण बनाउने बताउनुभएको छ।’
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले पर्यटन व्यवसायलाई थला पारेपछि पर्यटकीय क्षेत्रका रुपमा रहेका ठमेल संकटमा परेको छ। तीन महिनादेखिको लकडाउनमा पूर्ण बन्द भएको उक्त क्षेत्र अन्य ठाउँमा बजार खुल्दा पनि ठमेल सुनसान छ।
पर्यटकमा निर्भर रहेको ठमेल अगामी कम्तीमा एक वर्षसम्म सुनसाउन हुनसक्ने देखिएको छ। कोरोना संक्रमणले कति समयसम्म प्रभाव पर्ने हो भन्ने एकीन नभएकाले एक वर्षदेखि दुई वर्षसम्म भाडा समायोजन गर्नुपर्ने विषय बैठकमा उठेको थियो।
शर्माका अनुसार पछिल्लो समय ठमेलमा ३ सयभन्दा धेरै सटर खाली भइसकेका छन्। व्यवसाय सञ्चालन गर्न नसक्ने भन्दै ती व्यवसायीले घरधनीलाई चाबी बुझाए हिँडेका छन्।
त्यस्तै, झण्डै १८० व्यवसायी र घरधनीबीच भाडा समायोजनका सहमति पनि भइसकेको छ।
त्यस क्षेत्रमा १५ हजारदेखि २५ लाखसम्म भाडा छ। ठमेल क्षेत्रमा २ सय घरधनी र १० हजार व्यवसायीहरु रहेका छन्।

प्रतिक्रिया