ad ad

कारोबार


स्थानीयले चुनढुंगा खानी चल्न दिएनन्, भारतबाट आउँछ महंगो क्लिंकर

स्थानीयले चुनढुंगा खानी चल्न दिएनन्, भारतबाट आउँछ महंगो क्लिंकर

सन्तोष न्यौपाने
जेठ २८, २०७७ बुधबार १२:१७,

स्वदेशी चुनढुंगा खानी सञ्चालनमा अवरोध हुँदा भारतबाट महंगो मूल्यमा क्लिंकर आयात हुनथालेको छ। कोरोना महामारी फैलिनसक्ने डरले स्थानीयबासीले खानी सञ्चालनमा रोक लगाएका हुन्।

केन्द्र सरकारले उद्योग सञ्चालन गर्न दिने भने पनि स्थानीय सरकारहरुले पनि रोकिरहेका छन्। सोही कारण महंगो मूल्य नै तिरेर भारतबाटै क्लिंकर आयात भइरहेको व्यवसायीहरुले बताएका छन्।

कोरोनो संकटपछिको पूर्वाधार निर्माण गर्न अति आवश्यक पर्ने सिमेन्ट उत्पादन गर्न चाहिने क्लिंकर भारतबाट महंगो मूल्यमा ल्याउँदा सिमेन्ट महंगिने उनीहरुको भनाइ छ।

‘अहिले स्वदेशी चुनढुंगा खानी सञ्चालन हुनसकेका छैनन्’, नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोख्रेलले नेपालखबरसँग भने, ‘सिंहदरबारले चलाउन भन्छ तर स्थानीय क्षेत्रमा अवरोध छ।’

कोरोना संक्रमण फैलिँदै जाँदा स्थानीय बासिन्दाले खानी सञ्चालनमा अवरोध गर्र्दै आएका छन्। कोरोना संक्रमण फैलिने भन्दै त्यहाँ मजदुरलाई जान रोक लगाएको र टिपर पनि चल्न नदिएको पोख्रेलले बताए।

‘भारतबाट निर्बाध रुपमा ट्रक आइरहेका छन्, त्यहाँबाट कोरोना नसर्ने तर मुलुकभित्रै उद्योग चलाउँदा सर्ने कस्तो अचम्म हो?’ पोख्रेलले प्रश्न गर्दै भने, ‘तीन तहका सरकारले उद्योग सञ्चालनको लागि कुनै पनि सहजीकरण गरेनन्।’

सिंहदरबारले उद्योग चलाउन त भनेको तर स्थानीय तहसम्म सहजीकरण नगरिदिएको उनको दुःखेसो छ।

उनले भने, ‘यहाँबाट निर्देशन मात्र दिएर हुँदैन। तलसम्म नै मिलाउनुपर्छ।’

लकडाउनको सुरुवातको बेला चलेका क्लिंकर उद्योग पनि विस्तारै बन्द हुँदै गएका छन्। अहिले तीन÷चारवटा खानी र ४० प्रतिशत सिमेन्ट उद्योग सञ्चालनमा रहेको पोख्रेलले बताए।

वर्षातको समयमा चुनढुंगा खानी चल्न सक्दैनन्। अहिले लकडाउनका कारण यी उद्योग चल्नसकेका छैन्। चुनढुंगाहरु पहाडबाट ल्याउनुपर्ने भएकाले वर्षातमा बाटो अवरोध हुन्छ।

लकडाउन र लगत्तैको वर्षातले गर्दा क्लिंकर उद्योगहरु लामो समय चल्न नसक्ने अवस्थामा पुगेको छ।

स्वदेशका क्लिंकर उद्योग चल्न नसकेका कारण व्यवसायीहरु भारतबाट क्लिंकर आयात गर्न बाध्य भएका छन्। सरकारले क्लिंकरमा आत्मनिर्भर भएको घोषणा गरे पनि पुनः समस्या आउनथालेको व्यवसायीको भनाइ छ।

भारतबाट क्लिंकर ल्याउँदा महंगो गर्ने र स्वदेशी रोजगारी समेत गुम्ने थप समस्या उत्पन्न हुनेछ।

तीन तहका सरकार छन् र त्यसपछिको जनतासम्म समन्वयको खाँचो रहेको उनले बताए। खानी सञ्चालनको लागि सरकार र जनप्रतिनिधि मिलेर सहजीकरण नगरेसम्म नहुने व्यवसायीहरुको भनाइ छ।

खानी सञ्चालन गर्न समस्या भएको भन्दै नेपाल सिमेन्ट व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य, चेम्बरलगायत सबै संस्थाबाट सरकारसमक्ष धेरै पटक भेटघाट समेत गरेका छन्।

उद्योग मन्त्रालय, अर्थ, गृह मन्त्रालयमा धेरै अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो व्यवसायीको छ।

स्थानीय जनताले कोरोना सर्छ भनेर त्यहाँ गाडी चल्न दिएका छैनन्। खाडी सञ्चालनको लागि ६ जनाभन्दा धेरै मजदुर नहुने र उनीहरु छुट्टै तरिकाले बस्ने भएकाले स्थानीयले नबुझेको व्यवसायीका भनाइ छ। यसलाई सम्बोधन गर्न जनप्रतिनिधि आवश्यक रहेको उनीहरुको बुझाइ छ।

‘हामीले खानी चलाउँदा स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउँछौँ भनिरहेकै छौँ’, पोख्रेलले भने।

मुलुकभित्र उत्पादन भएको क्लिंकर सकिँदै गएको छ। यस्तो अवस्थामा व्यवसायीले भारतबाट क्लिंकर आयात बढाउँदै गर्दा त्यहाँ प्रतिक्विन्टल एक हजारका दरले मूल्यवृद्धि गरिएको छ।

‘पहिले प्रतिटन २५ सय भारु पर्नेमा आहले ३५ सय पु¥याएको छ’, पोख्रेलले भने, ‘टनमा हजार भारु बढेको छ।’

पहिला भारतबाट नेपालमा यो आइपुग्दा ९ हजार रुपैयाँ आउने क्लिंकर अब ११ हजार प्रतिटन पर्न आउने प्रोखेलले भने। यसले गर्दा मुलुकभित्र सिमेन्टको भाउ उच्च रुपमा बढ्नसक्ने सम्भावना रहेको छ।

कोरोना संकटपछिको निर्माण क्षेत्रमा थप महंगो हुने र यसले अन्य निर्माण सामग्रीको प्रयोगमा समेत असर गर्ने व्यवसायीको भनाइ छ।

मुलुकभर हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगको संख्या ६२ पुगेको छ भने केही आउने तरखरमा छन्। त्यसमध्ये २१ वटाले आफ्नै क्लिंकर उत्पादन गरिरहेका छन्। यी सिमेन्ट उद्योगमा झण्डै ४ खर्ब लगानी भएको छ भने ५५ हजारले रोजगारी पाएका छन्।

हाल बजारको माग वार्षिक १ करोड २० लाख टन (१२ मिलियन टन) छ भने उत्पादन १ करोड ८० लाख टन (१८ मिलियन टन) पुगिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .