कारोबार


विदेशबाट कालो धन भित्र्याउने तयारी, मार्ग प्रशस्त गर्न राजश्व विभागको यस्तो प्रतिवेदन

विदेशबाट कालो धन भित्र्याउने तयारी, मार्ग प्रशस्त गर्न राजश्व विभागको यस्तो प्रतिवेदन

दीपक भट्ट
जेठ १२, २०७७ सोमबार १३:४९,

सरकारले कोरोनाको कारण आर्थिक संकट निम्तिएको भन्दै विदेशमा रहेको कालोधन भित्र्याउने तयारी गरेको छ।

नेपालीहरुले विदेशमा कालोधन राखेको हुनसक्ने आकलनका आधारमा त्यसलाई नेपाल भित्र्याउन खुकुलो नीति बनाउने प्रक्रिया सुरु गरिएको हो।

जेठ १५ गते प्रस्तुत हुने बजेटमै यो विषय सम्बोधन गराउने गरि आन्तरिक राजश्व विभागले एक प्रतिवेदन निर्माण गरेर अर्थमन्त्रालयमा बुझाइसकेको छ।

विभागले गठन गरेको उपसमितिले आगामी वर्ष आन्तरिक तर्फको राजस्व स्वाट्टै घट्ने हुँदा विदेशमा नेपालीले राखेको पैसा भित्र्याउनु पर्ने तर्कसहित सो प्रतिवेदन निर्माण गरेको छ।

आगामी वर्ष आन्तरिक राजस्व कमजोर हुने भन्दै तरलता लगायतका समस्या सम्बोधन गर्न कालोधन ल्याउन बाटो खुलाउनु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनको ५ नम्बर बुँदामा उक्त विषयलाई व्याख्या गरिएको छ।

केहि नेपालीले ठूलो रकम विदेशमा अबैध रुपमा राखेको अनुमान गरिएको छ। तर स्रोत खुलाउनुपर्ने अहिलेको कडा प्रावधानका कारण उनीहरुले अवैध पैसा नेपाल ल्याउन सकिरहेका छैनन्।

विभागले आर्थिक संकटको बेला यस्तो सम्पतिलाई उपयोग गर्न सक्नुपर्ने सुझाव सहितको प्रतिवेदन तयार गरेर त्यस्तो पैसा भित्र्याउन मार्ग प्रशस्त गर्न लागेको हो।

‘देशमा आर्थिक गतिविधि संकुचित हुँदै गएको सम्बन्धमा तरलता अभाव हुनसक्ने देखिन्छ। अर्कोतिर विदेशमा रहेको नगद वा चलअचल सम्पत्ति बिक्रि गरि नेपालमा ल्याउन चाहेमा आगामी २ वर्षसम्म स्वयम् घोषणा गरी स्रोत नखुलाई ल्याउन सकिने व्यवस्था गर्नुपर्नेछ,’ प्रतिवेदनमा भनिएको छ।

विभागले विदेशी मुद्रा संचिति र तरलताको संकट टार्ने उपायको रुपमा २ वर्ष सम्म यो व्यवस्था गरेको खण्डमा नेपालीले विदेशमा राखेको सबै पैसा नेपाल आउने विभागले गठन गरेको उपसमितिको ठहर छ।

संकटका बेला यसरी पैसा ल्याउँदा देशलाई पनि फाइदा नै हुने र गैरकानुनी रुपमा विदेशमा पैसा राख्नेलाई पनि नेपाल भित्र्याउने राम्रो अवसर हुने प्रतिवेदनमै बताइएको छ।

AntarikRajaswa

अबैध धनलाई रेमिट्यान्स मार्फत् भित्र्याउन पनि सजिलो बनाइँदै

नेपाल राष्ट्र बैंकले पनि आइतबार साँझ एक सर्कुलर जारी गर्दै बिभिन्न देशमा रहेका नेपाली कामदार कार्यरत् कम्पनीले त्यस देशमा रहेको बैंक वित्तीय संस्थाको सहकार्यमा बैंक खाता खोली उक्त खातामा कामदारको पारिश्रमिक जम्मा गर्ने र सोहि खातामा रहेको रकम मध्येबाट कम्पनीको प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको व्यक्तिको नाममा भुक्तानी दिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ।

यो नयाँ व्यवस्था लागु भएपछि पैसा पठाउन सहज हुनेछ। अहिलेको कोरोना संकट, लकडाउन लगायतका अवस्था हेरी सहजिकरण गर्न यो व्यवस्था लागु गरिएको हो।

तर अहिलेलाई गरिएको सहजिकरणले विदेशमा अबैध धन राखेकोलाई पनि सघाउ पुग्ने भएको छ। विदेशमा रहेका र कम्पनी खोलेकाहरुले यहि मौकामा त्यहाँको बैंक तथा वित्तीय संस्थामा खाता खोली नेपाली बैंकमा पैसा पठाउन सक्नेछन्।

नेपालीको अबैध धन पनि त्यस्ता कम्पनी मार्फत नै आउन सहजीकरण हुने देखिएको हो।

यो मात्रै नभई नेपाल राष्ट्र बैंकले रेमिट कम्पनी मार्फत नै रेमिट्यान्स पठाउनेको लागि सहजीकरणको व्यवस्था गर्ने अर्को तयारी गरिरहेको छ।

यसरी विदेशबाट पैसा भित्र्याउन ती सम्बन्धी प्रावधानहरुलाई बिभिन्न ढंगबाट खुकुलो पारिँदैछ।

अहिले जसले पैसा पठाउने हो, सो व्यक्ति स्वयम् रेमिट कम्पनीमा उपस्थित भएर पैसा पठाउनुपर्ने व्यवस्था छ।

तर अब धेरै जनाको पैसा एक व्यक्तिले पठाउन मिल्ने बैधानिक व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए।

यो प्रावधान लागु भएपछि एउटै व्यक्तिले एकैचोटि ठूलो रकम स्वदेश पठाउन सक्नेछ।

अहिले एक जना व्यक्तिले एकचोटिमा बढिमा १५ सय डलरसम्म मात्र पठाउन पाउने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad