नेपाल टेलिकमले फोरजी सेवा सुधार्न ५ मेगाहर्ज फ्रिक्वेन्सी पाएको केही समयमै फेरि त्यही बराबरको फ्रिक्वेन्सी माग गरेको छ।
केही समयअघि मात्रै ८०० मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज रहेको फ्रिक्वेन्सीलाई बढाएर १५ मेगाहर्ज पुर्याएको थियो। टेलिकमले थप ५ मेगाहर्ज बढाउँदै त्यसलाई २० मेगाहर्ज पुर्याउन प्राधिकरणसँग थप फ्रिक्वेन्सी माग गरेको हो।
१८०० ब्यान्डमा २० मेगाहर्ज फ्रिक्वेन्सी छ। यही ब्यान्डमा रहेको फ्रिक्वेन्सी प्रयोग गरेर टेलिकमले टुजी चलाउँदै आएकामा त्यसलाई बन्द गरेर सबै स्रोत फोरजीमा चलाइरहेको छ। यस हिसाबमा हाल टेलिकमले ८०० र १८०० ब्यान्डमा गरेर कुल ३५ मेगाहर्ज ब्यान्डविथ उपयोग गरिरहेको छ।
समग्र देशलाई नै आधार बनाएर हेर्दा यो भनेको औसतमा ६० प्रतिशत उपयोगिता (युटिलाइजेसन) हुने टेलिकमले जनाएको छ। तर, जनघनत्व बढी भएका सहरी क्षेत्रलाई मात्रै आधार मान्दा टेलिकमलाई ८०० मेगाहर्ज ब्यान्डमा ५ मेगाहर्ज थप्दा पनि अपुग भइरहेको नेपाल टेलिकमका उपप्रबन्धक इन्जिनियर राजेन्द्र दुलालले जानकारी दिए।
‘यो ब्यान्डविथ बढाउनका लागि के-के विकल्प हुन सक्छ भने एउटा ८०० मेगाहर्ज ब्यान्डमा थप ५ मेगाहर्ज थपेर २० मेगाहर्ज पुर्याउन मिल्छ। हामीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र सूचना तथा सञ्चार मन्त्रालयमा यसका लागि प्रस्ताव पठाइसकेका छौं। यो प्रस्ताव स्वीकृत भयो भने टेलिकमको विद्यमान हार्डवेयरबाटै फ्रिक्वेन्सी २० मेगाहर्ज पुर्याउन सक्छौं। यसले ग्राहकहरुको सेवासम्बन्धी अनुभव (युजर एक्पेरियन्स) सुधार गर्न सक्छौँ’, दुलालले भने।
टेलिकम अनुसार सहरी क्षेत्रमा उसले उपयोग गरिरहेको फ्रिक्वेन्सी ब्यान्डविथको उपयोगिता एकदमै उच्च छ। उपयोगिता झण्डै १०० प्रतिशत पुगेर कतिपय ग्राहकको डेटा नचल्ने अवस्था समेत देखिएको दुलालले जानकारी दिए।
‘यसको लागि उपाय भनेको त ब्यान्डविथ बढाउनुपर्यो वा साइट (सेल टावर) बढाउनुपर्यो। काठमाडौं लगायतका ठुला सहरमा साइट बढाउन धेरै समस्या छ। भूकम्पपछि झन् समस्या बढ्दो छ। राजधानीमै टेलिकमलाई करिब २०० साइट अपुग भइरहेको छ। घरधनीहरुले टावर राख्नै दिनु हुन्न। कतिपय ठाउँमा त साइटमा गएर उपकरण जडान गरेपछि पनि झिकेर ल्याउनु परेको छ। यसले पनि टेलिकमको सेवाको गुणस्तरमा असर पुर्याइरहेको छ’, दुलालले भने।
त्यसैगरी, टेलिकमले अहिले आफूसँग भएका फ्रिक्वेन्सीलाई 'रि-फार्म' गरेर उपयोगिता बढाउने नीति लिएको छ।
‘टुजी मात्रै चलिरहेको कुनै फ्रिक्वेन्सी ब्यान्ड छ भने जस्तै ९०० ब्यान्ड। यसमा १० मेगाहर्ज छ भने ५ मेगाहर्ज टुजी मै छोडेर बाँकी ५ मेगाहर्जलाई फोराजीमा चलाउन सक्छौं। टेलिकमले यो आफ्नो योजनाअनुसार कार्यान्वयनमा लैजाँदै छ। हाम्रो प्लान अनुसार अहिलेको ३५ मेगाहर्ज फ्रिक्वेन्सीमा थप ५ मेगाहर्ज थपेर ४० मेगाहर्ज बनाउने हो’, उनले भने। टेलिकमले ९०० ब्यान्डमा रहेको फ्रिक्वेन्सी रिफार्म गर्न चाहिरहेको छ।
प्राधिकरणका निमित्त अध्यक्ष अर्जुन घिमिरेले वैशाख ३० गते टेलिकमलाई ८०० मेगाहर्ज ब्यान्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय गरेका थिए। घिमिरेलाई सञ्चार मन्त्रालयले निमित्त अध्यक्षको अख्तियारी दिएलगत्तै सञ्चारमन्त्री विक्रम तिमल्सिनाको निर्देशनमा उनले टेलिकमलाई थप फ्रिक्विन्सी दिने निर्णय गरेको थिए। जबकि प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकमलाई थप फ्रिक्वेन्सी दिन चाहेका थिएनन्।
Shares

प्रतिक्रिया