ad ad

कारोबार


लकडाउनको असर पुष्प व्यवसायमा, एक करोडकाे नोक्सानी

लकडाउनको असर पुष्प व्यवसायमा, एक करोडकाे नोक्सानी

नेपालखबर
जेठ ५, २०७७ सोमबार ९:५१,

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपछि पुष्प व्यवसाय पनि प्रभावित भएको छ। बजार पूर्ण रुपमा बन्द छ। कुनैपनि औपचारिक कार्यक्रमहरु भएका छैनन्। जसले गर्दा फूलको माग शुन्य छ। फूलको माग नै नभएपछि अहिले यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको छ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको अवधि झण्डै दुई महिना पुगेको छ। लामो समय लकडाउन हुँदा उद्योग व्यवसाय ठप्प छन्। पर्यटन क्षेत्र, उत्पादन क्षेत्र, सेवा क्षेत्र, कृषि क्षेत्र सबै बन्द छन्। कृषिमा पनि पुष्प व्यवसायमा सबैभन्दा धेरै असर परेको छ। दुई महिना यता फूल विक्री नभएको पुष्प व्यवसायीहरु बताउँछन्।

बजारमा फुलको माग नै नभएपछि दैनिक १ करोड रुपैयाँ भन्दा बढीको नोक्सानी भइराखेको फ्ल्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए। उनले कोरोना भाइरसको असर देखिन थालेदेखि नै औपचारिक कार्यक्रम नभएको र सरकारले कुनैपनि कार्यक्रम नगर्न भनेपछि गत फागुन महिनादेखि नै फूलको माग घटेको बताए।

भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरी यस वर्ष फूलको उत्पादन बढाउन लगानी वृद्धि भएको थियो। फूलको उत्पादन पनि बढेको छ। तर बजार नहुँदा सबै उत्पादन खेर गइरहेको छ। अध्यक्ष कसजुले तीन महिनाको उत्पादन पूर्ण रुपमा क्षति भएको बताए।

६ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी रहेको यस क्षेत्रमा बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु धेरै छन्। अध्यक्ष कसजुले व्यवसाय नै ठप्प भएपछि बैंकले समेत सहयोग गर्नुपर्ने बताए। उनले ऋण उठाउने समय अवधिलाई एक वर्ष थप्नु पर्ने, व्यवसायलाई बचाउनका लागि पुर्नकर्जाको व्यवस्था हुनुपर्ने बताए। सरकारले पनि तत्कालिन रुपमा व्यवसायलाई पुनः सुचारु गर्न राहत दिनुपर्ने र दिर्घकालिन रुपमा पनि संकट आउन नदिन सहयोग गर्नुपर्ने अध्यक्ष कसजुले बताए।

यस्तै लकडाउन लम्बिदै गएपछि नर्सरीमा काम गर्ने श्रमिकहरु पनि बेरोजगार बनेका छन्। तरपनि पुष्प व्यवसायीहरुले आफ्नो दायित्व भने पुरा गरेका छन्। नर्सरीको सम्पर्कमा रहेका सबै श्रमिकहरुलाई समयमै तलब दिने व्यवस्था मिलाइएको अध्यक्ष कसजुले बताए। उनले फ्ल्लोरिकल्चर एसोसिएसनमा आवद्ध भएका सबै नर्सरीहरुले समयमै तलब दिएको र कसैले दिन नसक्ने अवस्था भए संघको पहलमा राहतको व्यवस्था मिलाइएको बताए।

पुष्प व्यवसायमा पनि कट फ्लावर व्यवसायमा सत प्रतिशत क्षति भएको व्यवसायीहरु बताउँछन्। विक्रीका लागि तयार भएको कट फ्लावरले बजार पाउन नसक्दा पूर्ण रुपमा नष्ट भएको छ। देशभर ४३ जिल्लामा १ हजार भन्दा बढी पुष्प व्यवसायीहरु रहेका छन। फ्लोरिकल्चर एसोसिएसन नेपालमा ७ सय बढी व्यवसायी आवद्ध छन्।

त्यस्तै देशभर प्रतक्ष अप्रत्यक्ष रुपमा ४३ हजार भन्दा बढीले रोजगारी पाएका छन्। पुष्प व्यवसायमा देशभर ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको व्यवसायीहरु बताउँछन्। लकडाउनका कारण बजार बन्द भएपछि फूलको माग घटेको छ र यसबाट व्यवसायीहरुलाई करोडौं नोक्सानी भएको छ। लकडाउन अझै बढ्दै जाँदा यस्तो नोक्सानी अर्बौ रुपैयाँसम्म पुग्ने व्यवसायीहरु बताउँछन्।

लकडाउन खुलेपछि व्यवसायलाई फेरि सुचारु गर्न अभाव हुने पूँजीको व्यवस्थापनामा सरकारले सहयोग गर्ने अपेक्षामा व्यवसायीहरु छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .