कारोबार


सञ्चारमन्त्री तिमिल्सिनासँग विश्व बैंकका निर्देशकको भेट, डिजिटल ट्रान्सफरमेसन परियोजनाबारे छलफल

सञ्चारमन्त्री तिमिल्सिनासँग विश्व बैंकका निर्देशकको भेट, डिजिटल ट्रान्सफरमेसन परियोजनाबारे छलफल

नेपालखबर
चैत २५, २०८२ बुधबार १३:१८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एसिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्देशक डेभिड सिस्लेनसहितको उच्चस्तरीय प्रतिनिधिहरुबीच मन्त्रालयमा भेटवार्ता भएको छ।

उक्त अवसरमा आपसी सहयोगसम्बन्धी वर्तमान अवस्था तथा आगामी सहकार्यका सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ। 

भेटवार्ताका क्रममा निर्देशक सिस्लेनले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै विश्व बैंकको सहयोगमा कार्यान्वयन हुन गइरहेको 'नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट' मा सरकारको प्राथमिकता सम्बन्धमा चासो व्यक्त गरेका थिए।

उनले सरकारले ल्याएको शासकीय सुधारसम्बन्धी कार्यसूचीको कार्यान्वयनमा पनि सो प्रोजेक्टले सहयोग पुऱ्याउने विश्वास व्यक्त गरे। सो क्रममा नेपालको सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनका लागि सूचना प्रविधि पहुँच विस्तार, डेटा व्यवस्थापन, नेपालको डिजिटल रूपान्तरण, मिडिया साक्षरता र शासकीय सुधार लगायतका क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न विश्व बैंक प्रतिवद्ध रहेको समेत जानकारी गराए। 

भेटवार्ताका क्रममा मन्त्री तिमिल्सिनाले विश्व बैंकको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै 'नेपाल: डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट' कार्यान्वयनमा तीव्रता दिइने बताए।

साथै, नयाँ सरकार गठनपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी काम सुरु भइसकेको बताउँदै विगतभन्दा फरक तरिकाले काम गरी विभिन्न योजनामा देखिएका समस्या समाधान गर्नतर्फ केन्द्रित भई काम गर्न सरकार प्रतिबद्ध रहेको समेत जानकारी गराए।

सो भेटघाटमा मन्त्रालयका सूचना प्रविधि महाशाखाका प्रमुख आदेश खड्कासहित परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विश्व बैंकका अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad