कारोबार


निगमको आग्रह: ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

निगमको आग्रह: ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

नेपालखबर
चैत २२, २०८२ आइतबार १८:३५, काठमाडौँ

नेपाल आयल निगमले इन्धनको चरम अभाव र मूल्य वृद्धिको सङ्कट चुलिएपछि उपभोक्तालाई इन्धन खपतमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रिपरिषद्ले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै निगमले उक्त बिदाको समयमा सवारी साधन लिएर अनावश्यक घुमघाम नगर्न अनुरोध गरेको हो।

निगमका प्रवक्ता मनोज ठाकुरले सरकारको निर्णय इन्धन बचाउनका लागि भएको उल्लेख गर्दै यसमा जनताको पनि ठूलो योगदान चाहिने बताए। 'बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन। मुख्य उद्देश्य इन्धन खपत कम गर्ने हो,' प्रवक्ता ठाकुरले भने, 'अहिले निगमलाई प्रतिलिटरमा १२० रुपैयाँसम्म घाटा भइरहेको छ। यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक इन्धन प्रयोग नगरौँ।'

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको विश्वव्यापी सङ्कट र नेपालको बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन मन्त्रिपरिषद्ले सोमबारदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार सरकारी कार्यालय र शैक्षिक संस्थाहरू दुई दिन बन्द हुँदा इन्धन खपतमा उल्लेख्य गिरावट आउने अपेक्षा गरिएको छ।

यति मात्र होइन, सरकारले दीर्घकालीन समाधानका लागि डिजेल र पेट्रोल गाडीलाई विद्युतीय (इभी) मा रूपान्तरण गर्न कानुनी ढोका खोल्ने निर्णय समेत गरिसकेको छ।

निगमको तथ्याङ्कअनुसार नेपालमा दैनिक २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुन्छ। अर्थशास्त्री इसान खरेल भन्छन्, 'यो निर्णय अपरिहार्य छ तर सरकारले इन्धनमा लिने कर केही घटाएर उपभोक्तालाई राहत दिनुपर्छ र सार्वजनिक यातायातलाई प्रोत्साहन गर्नुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad