कारोबार


निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न

निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न

नेपालखबर
चैत १९, २०८२ बिहिबार २०:४७, काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि बिहीवार भएको मतदान कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ। 

महासङ्घको चैत १७ गतेदेखि शुरु भएको अधिवेशन अन्तर्गत बिहीबार दिउँसो मतदान सकिएको हो। कुल ९ सय ६१ मतदाता रहेकोमा ९ सय ४२ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतदान कार्य सम्पन्न भएसँगै अहिले मतपेटिका सङ्कलन गरी मतगणना शुरु गर्ने तयारी भइरहेको छ।

यस पटकको निर्वाचनमा दुई प्यानलबीच मुख्य प्रतिष्पर्धा देखिएको छ। वर्तमान नेतृत्वको प्यानलबाट एडि लामाले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने परिवर्तनको उद्घोषसहित निकोलस पाण्डे पनि अध्यक्षको प्रतिष्पर्धामा छन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि महासचिव रोशन दाहाल र एसोसिएट उपाध्यक्ष रामजी पन्त मुकेशबीच चुनावी प्रतिष्पर्धा भइरहेको छ।

एसोसिएट उपाध्यक्ष पदमै एनसी शेर्पा र नरहरि थपलिया तथा महासचिव पदमा शिवहरि घिमिरे र बलिभद्र राना चुनावी मैदानमा छन्।

निर्वाचन प्रक्रिया अन्तर्गत लुम्बिनी र कर्णाली प्रदेशको उपाध्यक्ष पदमा भने बुधबार नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ। लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का र कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा निर्विरोध निर्वाचित भएका हुन्।

नवनिर्वाचित लुम्बिनी प्रदेश उपाध्यक्ष शहदेव खड्काले व्यवसायीहरूको हकहितका लागि आगामी कार्यसमितिले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे। खड्काले निर्माण व्यवसायीहरूको हकहित, खरिद ऐनमा सुधार र रुग्ण आयोजनाहरूको व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताए।

उनले आफूलाई विश्वास गरेर सर्वसम्मत रूपमा निर्वाचित गराउने सम्पूर्ण मतदाता र प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै व्यवसायीहरूको विश्वासमा आँच आउन नदिने प्रतिवद्धता व्यक्त गरे।

उपाध्यक्ष खड्काले वर्षौंदेखि अलपत्र परेका रुग्ण आयोजनाहरूको समाधानका लागि महासंघको तर्फबाट सरकारलाई ठोस प्रस्ताव (प्रपोजल) बुझाउने तयारी भइरहेको जानकारी दिए।

उनले राज्य र व्यवसायी दुवैलाई फाइदा हुने गरी १०–१५ वर्ष पुराना आयोजनाहरूको निकास खोज्नुपर्नेमा जोड दिए। वर्तमान समयमा डिजेल, बिटुमिन, डन्डी र सिमेन्ट जस्ता निर्माण सामग्रीमा भएको चरम मूल्य वृद्धिले व्यवसायीहरू मारमा परेको उनले बताए।

देशभरका निर्माण व्यवसायीहरूको चासो रहेको यस निर्वाचनको अन्तिम नतिजा मतगणना सकिएलगत्तै सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad