ad ad

कारोबार


कोरोना कहरबीच नीति तथा कार्यक्रममा सुनाइँदैछ सुरुङ–रेलमार्गकै सपना

कोरोना कहरबीच नीति तथा कार्यक्रममा सुनाइँदैछ सुरुङ–रेलमार्गकै सपना

दीपक भट्ट
जेठ २, २०७७ शुक्रबार ८:३३,

राष्ट्रपतिले आज संयुक्त सदनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा धेरै नयाँ योजनाहरु समावेश भएका छन्।

स्रोतका अनुसार वार्षिक नीति तथा कार्यक्रममा ५ वटा नयाँ सुरुङमार्ग तथा जलमार्गको अध्ययन र रेलमार्गको कामलाई तीव्रता दिइने घोषणा हुनलागेको हो।

नयाँ आर्थिक वर्षमा नयाँ ५ वटा सुरुङमार्गको काम सुरु गरिने ४ बजे सार्वजनिक हुने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसमा नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको कामलाई निरन्तरता दिँदै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा, कोशी राजमार्गको धुरान–मुलघाट, टोखा–छहरे, लामाबगर–लार्चे सडक खण्डमा सुरुङमार्गको अध्ययन र बीपी राजमार्गको खुर्कोट–चियाबारी सुरुङ मार्गको पनि अध्ययन गरिने घोषणा हुने स्रोतको भनाइ छ।

त्यस्तै काठमाडौं चक्रपथदेखि नाराणगोपाल चोकसम्म, कोटेश्वरदेखि गौशालाचोकसम्मको सडक खण्ड स्तरोन्नति कार्य गरिनेछ। कोटेश्वर तथा सातदोबाटोमा फ्लाइओभर निर्माण कार्य सुरु गरिने भौतिक मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतले भन्यो, ‘चालू आर्थिक वर्षभित्रै कोटेश्वरमा फ्लाई ओभर तथा अण्डरपासको निर्माण सुरु हुने गरी कार्य अघि बढाइने, राष्ट्रिय राजमार्गको मर्मतसम्भार, स्तरोन्नती, पुनर्स्थापना तथा निर्माणकार्यलाई विशेष प्राथमिकता दिइने कार्यक्रममा उल्लेख छ।’

त्यस्तै, पूर्व–पश्चिम राजमार्गलाई एसियन हाइवे मापदण्डयुक्त ४ लेन सडकको रुपमा निर्माण स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने, नारायणघाट–बुटवल सडकखण्डको ११५ किलोमिटर कमला–कञ्चनपुर ८७ किलोमिटर निर्माणकार्य अघि बढेको र बाँकी खण्डको स्तरोन्नति क्रमशः अगाडि बढाइने भएको छ।

मध्यपहाडी लोकमार्गको जम्मा १ हजार ८ सय ७९ किमि सडकमध्ये आगामी आर्थिक वर्षमा ३ सय किलोमिटर कालोपत्र निर्माण सम्पन्न गरिने र बाँकी २ सय किलोमिटर खण्डको ठेक्का लगाइने भएको छ। जहाँ १५ वटा पुल निर्माण गरिनेछ।

हुलाकी राजमार्ग आयोजनाअन्तर्गत १ हजार ७ सय ९२ किलोमिटर सडकमध्ये आगामी आर्थिक वर्षमा २५० किमि कालोपत्रे गरिने भएको छ।

सरकारले नीति तथा कार्यक्रममा कालीगण्डकी करिडोरमा ९० किलोमिटर कालोपत्रे गर्ने, गण्डकी करिडोर खुलाखु–मिमिकोट ट्रयाक निर्माण सम्पन्न गर्ने उल्लेख गरेको छ।

कोशी करिडोर धनकुटा–लेलेघाट, खाँदबारी–किमाथांका सडकको ट्रयाक निर्माणकार्य सम्पन्न गरिने, चुरे भित्री मधेशका क्षेत्रहरु जोड्ने गरी प्रस्ताव गरिएको मदन भण्डारी राजमार्गको १२ सय किलोमिटर सडकमध्ये ३ सय ७८ किलोमिटर कालोपत्रे भइसककोमा थप १ सय ५५ किलोमिटर सडक कालोपत्रे गरी स्तरोन्नति गर्ने भएको छ।

भारतीय सीमानाकासँग जोड्ने प्रमुख व्यापारिक नाकाहरुलाई पूर्व–पश्चिम राजमार्गसँग जोडी उपभोग्य वस्तुहरुको परिवहनमा सहजता ल्याउन प्रमुख व्यापारिक मार्गहरुको स्तरोन्नति गर्ने तथा चन्द्रनिगाहापुर–गौर ४४ किलोमिटर सडक स्तरोन्नति सुरु गर्ने कार्यक्रम राखेको छ।

महाकाली नदीमा चार लेनको मोटरेबल पुन निर्माणको कार्यलाई निरन्तरता दिने, काठमाडौं–तराई (मधेश) द्रुतमार्ग निर्माणलाई निरन्तरता दिने, गल्छी–रसुवागढी सडक निर्माणको कार्यलाई तीव्रता दिने कार्यक्रममा समावेश गरिएको छ।

पानीजहाज
नेपालमा दर्ता हुने पानीजहाजलाई सुरक्षित वातावरणमैत्री र व्यवस्थित बनाई अन्तर्राष्ट्रिय कानुन तथा प्रतिबद्धताअनुसार सञ्चालन गर्न आवश्यक व्यवस्थापन गरिने भएको छ। नेपाली झण्डा राखेर पानीजहाज सञ्चालनको कानुनको तर्जुमा गरिने नीति अख्तियार गरिने भएको छ।

कालीगण्डकी–राम्दी–देवघाट ९५ किलोमिटर जलयान सञ्चालनको कार्य सुरु गरिने, कोशी–चतरा–दोलालघाट २ सय ३२ किलोमिटर र वराह क्षेत्र–तुम्लिङटार ६७ किलोमिटर, कर्णाली–खक्रौला–खिमडी ११५ किलोमिटर तथा खिमडी–मान्मा १४५ किलोमिटर जलार्गको रुपमा विकास गर्न अध्ययन थाल्ने कार्यक्रम समावेश गरिएको छ। जलयान सञ्चालनसम्बन्धी तालिम दिने संस्थाहरुको अनुगमन तथा मूल्याङ्कन गरिने भएको छ।

रेलमार्गतर्फ
आगामी आर्थिक वर्षभित्र जयनगर–विजलनगरसम्म १५२ किलोमिटर तथा भारतको बथनाहादेखि विराटनगरसम्म १८ किलोमिटर रेल सञ्चालन गरिने भएको छ। बिजलापुर बर्दिवासको खण्डमा निर्माण कार्य सम्पन्न गरिने घोषणा हुने कार्यक्रममा समावेश गरिएको छ।

बर्दिबासदेखि निजगढसम्म ७० किलोमिटर खण्डमा ट्रयाक बेड र रेल पूर्वाधार निर्माण रेलका पुलहरु तथा अन्य पूर्वाधार निर्माणलाई निरन्तरता दिइने, मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणकार्य सुरु गरिने भएको छ।

काठमाडौं उपत्यकाको मेट्रो रेल, स्काई रेल सेवाको लागि डीपीआर तयार गरिने, काठमाडौं–केरुङ ७२ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरिनेछ।

काठमाडौं–रक्सौल १३६ किलोमिटर रेलमार्गको डीपीआर तयार गरिने नीति तथा कार्यक्रममा रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .