अमेरिका र इरानबीच सप्ताहान्तमा वार्ता भएको पाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग रचनात्मक वार्ता भएको उल्लेख गर्दै तत्काललाई पावर प्लान्टमा गर्ने भनिएको आक्रमण स्थगित गरेको बताएका हुन्।
सीएनएनका अनुसार तत्काललाई ५ दिनका लागि इरानी ऊर्जा प्लान्टहरुमा अमेरिकाले बम नहान्ने भएको हो।
‘अमेरिका र इरानले विगत दुई दिनयता रचनात्मक वार्ता गरेको खुसी बाँड्न चाहन्छु’, उनलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘वार्ता मध्यपूर्वमा पूर्ण शान्तिलाई लिएर रचनात्मक र राम्रो भएको छ।’
सोही कारण आफूले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्टमा आक्रमण नगर्न निर्देशन दिएको उल्लेख गरेका छन्। चलिरहेको वार्ताका लागि कम्तीमा ५ दिनलाई ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने उनको भनाइ छ।
यसअघि ट्रम्पले ऊर्जा प्लान्ट र पूर्वाधारमा आक्रमण गर्ने भन्दै ४८ घण्टे अल्टिमेटम दिएका थिए। इरानले हर्मुज घाँटी नखोले आक्रमण गर्ने बताएका थिए।
ट्रम्पको पछिल्लो घोषणापछि ओरालो लागेको सेयरबजार र उकालो लागेको तेलको मूल्यमा ह्वात्तै सुधार देखिएको छ।
बीबीसीका अनुसार मध्यपूर्वमा पूर्ण शान्तिका लागि प्रयास भइरहेको ट्रम्पको टिप्पणीसँगै कच्चा तेल ब्रेन्ट क्रुड १३ प्रतिशत घटेर ९६ अमेरिकी डलर प्रतिब्यारेलमा झरेको छ भने एफटीएसई १०० इन्डेक्स ०.५ प्रतिशतले बढेको छ। यसअघि यो इन्डेक्स २ प्रतिशत बढीले घट्न पुगेको थियो। त्यसैगरी ग्यास मूल्य समेत घटेको छ।
Shares

प्रतिक्रिया