रेमिट्यान्समार्फत ग्रामीण परिवारको जीवनस्तर सुधार गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको खाडी क्षेत्रमा युद्धको प्रभाव बढ्दै गर्दा त्यसको असर वैदेशिक रोजगारीमा जानेमा देखिन थालेको छ।
माघमा वैदेशिक रोजगारीका लागि नयाँ र पुरानासहित ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका थिए। तर फागुनमा यो संख्या ५२ हजार ९४४ जनामा सीमित हुन पुग्यो।
माघको तुलनामा फागुनमा वैदेशिक रोजगारीमा श्रमः स्वीकृति लिनेको संख्या १७ हजार ५५९ जनाले घट्न पुग्यो। अमेरिका र इजरायलले फागुन १६ गते इरानमाथि आक्रमण गरेपछि त्यसको जवाफमा इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य क्याम्पमा हमला गरेसँगै यस क्षेत्रमा युद्ध छेडिएको छ।
युद्धरत क्षेत्रमा नेपाली नागरिकको जीवन रक्षाका लागि अन्य अत्यावश्यक पहल गर्न नसकेपछि युद्ध सुरु भएपछि नेपाल सरकारले फागुन १७ गते खाडीका १२ देश साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा हुने श्रम स्वीकृति रोक्ने निर्णय गरेको थियो। वैदेशिक रोजगारीका लागि नेपालीको प्रमुख १० शीर्ष श्रम गन्तव्यमध्ये खाडीका सात मुलुक रहने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ।
वैदेशिक रोजगारीमा जानेमध्ये ७० देखि ७५ प्रतिशतको गन्तव्य खाडी मुलुक रहने गरेको छ।
माघमा नेपालमा वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै युएई गएका थिए। युएईमा काम गर्न १५ हजार १३७ जनाले श्रमः स्वीकृति लिएको विभागको तथ्यांकमा देखिन्छ। यस्तै, कतार ११ हजार ५८० जान, साउदी अरेबियामा ११ हजार ५९२ जना, कुवेतमा ५ हजार ४४३ जान, साइप्रसमा १ हजार २५५ जना, बहराइन १ हजार १२७ जना, ओमानमा १ हजार २०५, टर्कीमा ५३२ जना, जोर्डनमा ३०३ जना, इजरायलमा १२५ जना र इराकमा ४४ जनाले श्रम स्वीकृति लिएका थिए।
प्रतिबन्ध लगाइएको १२ मुलुकमध्ये यमनबाहेक बाँकी ११ मुलुकमा माघमा ४८ हजार ३४३ ले श्रमः स्वीकृति लिएका थिए।
फागुनमा भने खाडीका ११ मुलुकमा ३१ हजार ४६० जनाले श्रमः स्वीकृति लिएको विभागको तथ्यांकमा देखिन्छ। माघको तुलनामा फागुनमा खाडीमा रोजगारीमा जानेको संख्या १६ हजार ८८३ जनाले घटेको हो। परराष्ट्र मन्त्रालयका अनुसार यस क्षेत्रमा करिब १७ लाख नेपाली छन्।
अशान्तिकै बीच पुन: श्रम स्वीकृति खुल्ला
प्रमुख रोजगारी गन्तव्य अवरुद्ध हुँदा ठूलो संख्यामा नेपालीले श्रम स्वीकृति लिन पाएनन्। त्यो विभागको तथ्यांकमा पनि देखिन्छ। अहिले खाडी क्षेत्रको युद्ध कायम रहे पनि सरकारले चैत ३ गतेदेखि ७ मुलुकका लागि पुनः श्रम स्वीकृति खुल्ला गरेको छ। यो श्रम स्वीकृति नयाँ कामदारका लागि भने हैन। पहिल्यैदेखि यहीँ कार्यरत श्रमिकहरुका लागि मात्र श्रमः स्वीकृति दिने व्यवस्था गरिएको हो। मंगलबारदेखि साउदी अरब, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको छ।
श्रम विज्ञ डा. गणेश गुरुङका अनुसार सरकारको पहिलो प्राथमिकता खाडी क्षेत्रमा रहेका नेपाली श्रमिकको जिउधनको सुरक्षा हुनुपर्ने हो। यसमा सबैभन्दा उत्तम निर्णय सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासहरुले गर्न सक्ने उनी बताउँछन्।
राजदूतावासले सम्बन्धित क्षेत्रको स्थानीय अवस्थाको बारेमा बताउन सक्ने उनको भनाइ छ।
‘सम्बन्धित सरकारले लिएको नीति र नागरिकको सुरक्षाका लागि गरेको काम बारेमा दूतावासलाई जानकारी हुन्छ। नेपाली नागरिकको सुरक्षाका लागि नै ती देशमा राजदूतावास राखिएको हो। ती राजदूतावासको सिफारिसमा सरकारले निर्णय लिनुपर्ने हुन्छ। किन कि दूतावासलाई त्यहाँको स्थानीय वस्तुगत अवस्था थाहा हुन्छ’, गुरुङले भने।
वैदेशिक रोजगार विभागका एक अधिकारीले पुनः श्रमस्वीकृति लिने निर्णय गर्ने बैठकमा सहभागी नभएकाले कुन आधारमा सरकारले निर्णय लिएको भन्ने जानकारी नभएको बताउँछन्।
विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले विभिन्न कारणले वैदेशिक रोजगारीका क्रममा नेपाल आएकाहरुलाई सुविधा प्रदान गर्न पुन श्रमः स्वीकृति खुला गरिएको बताए।
‘कोही छुट्टी, निर्वाचन, पारिवारिक कारणले आउनुभएको भएको थियो। श्रमः स्वीकृति रोक्दा टिकट रद्द नहुने, कम्पनीले विदा नथप्ने, रोजगारी गुम्ने खतरा निवारण गर्न मन्त्रालय, दूतावासहरुको छलफलमा निश्चित देशमा पुनः श्रम स्वीकृति प्रदान गरिएको हो’, शिवाकोटीले नेपालखबरसँग भने।
साथै रोजगारीमा जानेहरुले फोन तथा निवेदनमार्फत पुनः श्रम स्वीकृति खुलाउन धेरै आग्रह पनि आइरहेको उनले जानकारी दिए।
सरकारले पुराना श्रमिकलाई के आधारले पुनः श्रम स्वीकृति दिने निर्णय गरेको आधार उल्लेख पनि नगरेको विज्ञ गुरुङ बताउँछन्।
‘नयाँको सुरक्षा नहुने। पुरानोको हुन्छ भन्ने हैन होला’, गुरुङले भने।
सरकारले कुन आधारमा अहिले पुनः श्रम स्वीकृति दिने निर्णय गरेको भन्ने विषयमा उनले बुझ्दा पनि प्रस्ट जवाफ पाउन नसकेको बताउँदै कुन आधारले सरकारले पुनः श्रम स्वीकृति दिएको हो भन्ने भन्न जरुरी भएको बताउँछन्।
‘बमले पुरानो र नयाँ स्वीकृति चिन्दैन। किन पुनः श्रम स्वीकृति दिएको भन्ने विषय सरकारले स्पष्ट गरेको छैन’, गुरुङले भने।
कस्तो छ आवागमन?
सरकारले तत्कालीन अवस्थामा युद्धग्रस्त १२ मुलुकमा श्रमः स्वीकृति रोक्दा नियमित उडान समेत प्रभावित हुँदा श्रमः स्वीकृति लिएका पनि उड्न पाएका थिएनन्। फागुन १९ गतेसम्म पश्चिम एसियाका मुलुकमा नियमित उडान अवरुद्ध भएका थिए।
तर फागुन २० गतेदेखि आंशिक रुपमा ती मुलुकमा हवाइ उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। फागुन २० गतेदेखि चैत १ गतेसम्म पश्चिम एसियाका मुलुकहरुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० पटक उडान तथा अवतरण भएको तथ्यांक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको छ। यस अवधिमा ६ हजार १०४ जना नेपाल भित्रिदा ६ हजार ४० जना बाहिरिएका छन्।
फेब्रुअरीमा १ लाख ४९ हजार ८९५ जना नेपाली विदेशिँदा १ लाख ४८ हजार ६३२ जना नेपाली फर्किएका थिए। मार्च १ देखि १८ सम्म ४९ हजार ९८६ जना नेपाली फर्किँदा ५७ हजार १७१ जना विदेशिएको अध्यागमन विभागको तथ्यांकमा देखिन्छ।
यस अवधिमा खाडीका ८ मुलुकबाट १० हजार ६५५ जना नेपाल फर्किँदा ७ हजार ४३९ जना बाहिरिएको अध्यागमन विभागको तथ्यांकमा देखिन्छ। यस अवधिमा सबैभन्दा धेरै नेपालीले युएईको यात्रा गरेका छन्।
युएईबाट ८ हजार ९३८ नेपाली आउँदा ५ हजार ६५३ जना त्यसतर्फ गएका छन्। ८३८ जना साउदी अरेबियाबाट आउँदा १००६ जना गएका छन्। त्यस्तै, ८५० जाना कतार जाँदा ७६९ जना फर्किएका छन्। जोर्डन जानेको संख्या १५ रहँदा फर्किने ११ छन्। यस्तै कुवेत ६ जना, इजरायल ३ जना, इराक ४ जना र लेबनान १ जना जाँदा फर्किने व्यक्ति छैनन्।
खाडीका यी मुलुकमा श्रम स्वीकृति भएका व्यक्तिहरु गएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।
Shares

प्रतिक्रिया