ad ad

कारोबार


चैत महिनामा मात्रै नेपाल टेलिकमले दियो ६७ करोडको बोनस

चैत महिनामा मात्रै नेपाल टेलिकमले दियो ६७ करोडको बोनस

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ८:३१,

नेपाल टेलिकमले लकडाउन सुरु भएको चैत महिनामा मात्र आफ्ना उपभोक्तालाई ६७ करोड रुपैयाँबराबरको बोनस ब्यालेस उपलब्ध गराएको जनाएको छ।

०७६ चैत ११ गते मुलुकभर लकडाउन सुरु भएपछि टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस दिने घोषणा गरेको थियो। उक्त घोषणासँगै चैत महिनामा टपअपमा दिएका शतप्रतिशत बोनसबापत ५३ करोड ४० लाख उपलब्ध गराइएको हो।

साथै, उक्त अवधिमा शून्य ब्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ करोड ३० लाख रुपैयाँबराबरको शून्य ब्यालेन्स प्याकेज प्रदान गरेको कम्पनीले जनाएको छ। त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको थियो। जुन ८ करोड २० लाखबराबरको रकम हुन आउँछ।

‘यसरी लकडाउनको कारण कम्पनीको आयमा कुल ६६ करोड ९० लाख रुपैयाँबराबरको नकारात्मक असर परेको छ’, टेलिकमले भनेको छ, ‘यसबाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड योगदान गरेको छ।’

टेलिकमले कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागि मुलुकभर लकडाउन सुरु भएसँगै नाफा घटेको जनाएको छ। टेलिकमले आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासिक (माघ–चैत)को वित्तीय विवरण सार्वजनिक गर्दै यसअवधिमा आयमा ६७ करोडको घाटा भएको जनाएको छ।

गत आवको तेस्रो त्रैमासिकसम्मको कूल सेवाबापतको आय २७ अर्ब ५० करोड ६० लाख ७५ हजार १ सय ७९ रहेकोमा चालू आवको सोही अवधिसम्मको कुल सेवाबापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार २ सय ७२ रुपैयाँ रहेको जनाएको छ।

घाटा हुनुमा छुटलाई कारण मानिएको छ। ०७६ चैत १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा छुट गणना गर्न सुरु गरेको र कमिसन कुल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवाबापतको आय घटेको कम्पनीको भनाइ छ।

चालू आवको तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कुल ८५ करोड ३३ लाख ४४ हजार २ सय ७३ रुपैयाँ रहेको छ। गत वर्षको आम्दानीसँग तुलना गर्दा यो रकम पनि हिसाब गर्नुपर्ने टेलिकमको भनाइ छ।

त्यस्तै, यसरी चालू आवको तेस्रो त्रैमासिकसम्मको कुल आयमा माथि उल्लिखित डिस्काउन्ट पनि मिलाउँदा कुल आय गत आवको सोही अवधिको तुलनामा करिब १८ करोडले बढी हुने हुन्छ।

त्यसका अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत महिनाको राजस्वमा नकारात्मक असर परेको छ।

लकडाउनको अवधिमा चैत २०७६ भित्र कम्पनीले उल्लिखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत)मा भएको वृद्धि तथा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .