नेपालीहरूको प्रमुख श्रम गन्तव्य खाडी मुलुकहरुमा युद्ध छेडिँदा त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको छ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र (पश्चिम एसिया) खाडी मुलुकमा अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको जवाफी हमलासँगै विगत चार दिनदेखि यस क्षेत्रमा युद्ध छेडिएको छ।
युद्ध सुरु भएदेखि नेपालबाट खाडी मुलुक र खाडी हुँदै पश्चिमी देश जाने उडान तथा ती क्षेत्रबाट नेपाल आउने सबै उडान अनिश्चितकालका लागि रद्द भएका छन्।
शनिबारदेखि यस क्षेत्रमा नियमित उडान हुन सकेको छैन। अन्य क्षेत्रको अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालनमा रहे पनि खाडी क्षेत्रको उडान भने हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।
उडान बन्द हुँदा वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुग्ने योजनामा रहेका हजारौँ नेपाली श्रमिकको यात्रा अनिश्चित बनेको छ। परराष्ट्र मन्त्रालयका अनुसार खाडी राष्ट्रहरुमा १७ लाख बढी नेपाली श्रमिक छन्।
फागुन १७ गतेसम्म ४१ हजार ७०४ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। तर खाडी मुलुकका लागि कति संख्याले श्रम स्वीकृति लिएको भन्ने यकिन तथ्यांक विश्लेषण भने नभइसकेको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए।
‘नेपालबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जानेको संख्या ठूलो रहन्छ। मासिक डेटा विश्लेषण नगरेसम्म कति खाडी मुलुकका लागि कतिले श्रमस्वीकृति लिएको यकिनका साथ भन्न सकिन्न। यसका लागि फागुन महिनाको डेटा विश्लेषण गर्नु पर्ने हुन्छ। अहिलेसम्म यो डेटा विश्लेष गरिसकेको छैन’, प्रवक्ता शिवाकोटीले भने।
२०८२ माघ मसान्तसम्म १०७ मुलुकका लागि ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका थिए। खाडीका १७ मुलुकमध्येमा शीर्ष १० मा सात मुलुक छन्। शीर्ष तीनमा यूएई, साउदी अरबिया र कतार रहेका छन्। माघमा यूएई १५ हजार १३७, साउदी अरबिया ११ हजार ५९२, कतार ११ हजार ५८०, कुवेत ५ हजार ४४३, साइप्रस १ हजार २५५, ओमान १ हजार २०५, बहराइन १ हजार १२७ जनाले श्रम स्वीकृति लिएका छन्।
नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ७० देखि ७५ प्रतिशतको गन्तव्य खाडी मुलुक रहने गरेको छ। फागुनमा करिब २५ हजारभन्दा बढी नेपालीले खाडी मुलुकमा लागि श्रम स्वीकृति लिएको हुन सक्ने एक मेनपावर व्यवसायीले बताए।
नेपालबाट औसतमा दैनिक १२ सयदेखि १५ सय वैदेशिक रोजगारीका लागि बाहिरिने गरेको छ। यो खाडी सहित अन्य मुलुकमा रोजगारीमा जानेको संख्या हो।
‘श्रमस्वीकृति लिएको दिनमै विदेश उड्ने पनि हुन्छन्। तीन महिना पछि पनि विदेश उड्ने गर्छन्’, उनले भने, ‘त्यसैले खाडी मुलुकमा अशान्ति हुँदा यति नै संख्यामा विदेश उड्ने प्रभावित भए भनेर भन्न सकिने अवस्था छैन।’
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ पनि खाडी क्षेत्रमा उत्पन्न द्वन्द्वबाट कति संख्यामा वैदेशिक रोजगारीमा जाने प्रभावित भए भन्ने यकिन तथ्यांक नभएको बताए।
‘अहिले खाडी युद्धको चपेटामा छ। त्यहाँ रहेका नेपालीहरु पनि असुरक्षित छन्। जान नपाउने भन्दा पनि त्यहाँ पुगियो भने के होला भन्ने चिन्ता व्याप्त छ,’ गुरुङले भने। सुरक्षाका दृष्टिकोणले पनि युद्ध सकिएर शान्ति सुरक्षा कायम नभएसम्म खाडी मुलुकमा जानु भन्दा स्वदेशमै बस्दा उपयुक्त हुने उनी बताउँछन्।
वैदेशिक रोजगार विभागले खाडीका १७ मध्ये १२ देश साउदी अरबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा हुने श्रम स्वीकृति रोक्ने निर्णय छ।
खाडी क्षेत्रमा युद्ध अन्त्य भएर शान्ति सुव्यवस्था कायम भए लगत्तै श्रमस्वीकृति खुल्ला गरिने प्रवक्ता शिवाकोटी बताउँछन्।
‘युद्ध अन्त्य हुने वित्तिकै नियमित रुपमा हवाई सेवा सुरु हुनेबित्तिकै तुरुन्त श्रमस्वीकृति खोलिन्छ। हवाई सेवा अवरुद्ध हुँदा श्रम स्वीकृति दिएर मात्रै हुँदैन। प्लेन नउड्दा रोजगारीका लागि जान सकिँदैन। साथै नागरिकको सुरक्षाको पनि ख्याल गर्नु पर्ने हुन्छ। शान्ति सुरक्षा कायम भएर आगवमन सहज हुँदा श्रमस्वीकृति खुल्छ’, शिवाकोटीले भने।
खाडीको युद्ध लम्बिएमा नेपालको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेल बताउँछन्।
उनका अनुसार नेपाल भित्रिने रेमिट्यान्समा खाडी मुलुकको योगदान ४१ प्रतिशत छ भने वैदेशिक रोजगारीमा जाने ७० देखि ७५ प्रतिशत संख्या त्यहीँ छ।
‘१८ महिनाको वैदेशिक व्यापार धान्न सक्ने विदेशी मुद्रा सञ्चिति छ। अहिले नै आत्तिनुपर्ने अवस्था छैन’, मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘तर युद्ध लम्बिन पुगे नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्छ।’
उनका अनुसार युएई, कतार, कुवेत र साउदी अरबियाले मात्र ३७ प्रतिशत रेमिट्यान्समा योगदान पुर्याइरहेको छ।
नेपालका दुई अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका साथै एयर अरेबिया, फ्लाई दुबई, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, कतार एयरलाइन्स र टर्किस एयरलाइन्सले खाडीका लागि उडान रद्द गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले खाडी मुलुकका लागि शनिबारदेखि अनिश्चितकालका लागि रद्द भएको बताए। उनका अनुसार चीन, भारत, हङकङ, मलेसिया, सिंगापुरलगायत देशमा भने नियमित उडान भइरहेको छ। मंलगरबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २९ वटा गन्तव्यमा हवाई उडान हुने कार्यतालिका छ।
खाडी क्षेत्रमा भएको तनावले नेपालको मात्रै नभई यस क्षेत्रमा हुने विश्वभरकै उडान प्रभावित भएको छ। फ्लाइटरडारका अनुसार खाडी क्षेत्र हुँदै उड्ने जहाजहरुले अर्कै रुट प्रयोग गरिरहेका छन्।
Shares

प्रतिक्रिया