हङकङमा सम्पन्न अल्ट्रा ट्रेल दौडमा नेपालीको वर्चस्व

हङकङमा सम्पन्न अल्ट्रा ट्रेल दौडमा नेपालीको वर्चस्व

मगेन्द्र राई
फागुन १९, २०८२ मंगलबार १८:५९, हङकङ

हङकङमा सम्पन्न ‘नाइन ड्र्यागन्स’ अन्तर्गत एसियाकै सर्वाधिक कठिन र चुनौतीपूर्ण मानिने अल्ट्रा-ट्रेल दौड प्रतियोगितामा नेपालीहरूले बाजी मारेका छन्।

गत शुक्रबार र आइतबार गरी दुई खण्डमा सम्पन्न झन्डै १४० किलोमिटरको दौडमा नेपालका मनकुमार रोका मगरले निर्धारित दुरी १६ घण्टा ५४ मिनेट ४५ सेकेन्डमा पूरा गरी पहिलो स्थानमा बाजी मरेका छन्। त्यसैगरी युक्रेनका मेलान्स्क ओलेक्सी र बेलायतका गे म्याथ्यु क्रमशः दोस्रो र तेस्रो बने।

नाइन ड्रागन्स ५०/५० का विजेता मनकुमार रोका मगर

साथै, हङकङवासी भेटेरान धावक दिननाथ बगालेले ओभर अल छैटौँ तथा पुरुषतर्फ पाचौँ स्थानमा आफ्नो पोडियम सुरक्षित गरे। 

हङकङको न्यु टेरिटोरिज क्षेत्रअन्तर्गत ताईपोबाट शुक्रबार रातको झन्डै ११ बजेर ५९ सेकेन्डमा सुरु भएको दौड हङकङको सर्वोच्च शिखर ताइमो शान, कादुरी फार्म, फानलिङ, ब्राइड पुल आदि डाँडाकाँडा छिचोल्दै साइकुङमा समाप्त भएको थियो।

नाइन ड्रागन्स ५०/५० प्रतियोगिताको पुरुषतर्फ पाचौँ हङकङवासी भेटेरान धावक दिननाथ बगाले

३४ घण्टा ३० मिनेट कटअफ टाइम रहेको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका दुई सय धावकधाविकले दौड सुरु गरेका थिए जसमा १०६ जना पुरुष थिए। दौड पूरा भने ७० जनाले मात्रै गरेका थिए। दौड पूरा गर्नेहरूले ५ आईटीआरए पोइन्ट प्राप्त गर्नेछन्।

प्रिया राईले पहिरिन् एटीएम च्याम्पियनसिप फाइनलको ताज
नाइन ड्रागन्सअन्तर्गत नै सम्पन्न ‘एसियन ट्रेल मास्टर्स च्याम्पियनसिप फाइनल’मा महिलातर्फ नेपालकी प्रिया राईले बाजी मारेकी छन्।

करिब ७२ किलोमिटरको निर्धारित दूरी ९ घण्टा ५६ मिनेट ५७ सेकेन्डमा पूरा गरी प्रिया महिलातर्फ ओभरअल प्रथम बनेकी हुन्। हङकङकी चेउङ मान यी र लो देनिङ क्रमशः दोस्रो र तेस्रो बने।

गत शनिबार बिहान १ बजे सुरु भएको उक्त दौड ताइपोमा समाप्त भएको थियो। २१ घण्टा कटअफ टाइम रहेको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका कुल ८० प्रतियोगीको सहभागिता थियो।

प्रिया गतसाल हङकङ १०० का लागि हङकङ आएकी थिइन्। तर, चोटका कारण झन्डै आधा दूरी पार गरेपछि ‘वाक ओभर’ गरेकी थिइन्।

एसियन ट्रेल मास्टर्स च्याम्पियनसिप २०२६ कि विजेता प्रिया राई

‘गतवर्ष हङकङमै भएको दौडमा घाइते भएर नमिठो अनुभव रह्यो, यो पटक पनि त्यस्तै हुन सक्ने डर कत्तिको थियो?’ भनी नेपालखबरले सोधेको प्रश्नको जवाफमा प्रियाले भनिन्, ‘यो अत्यन्तै चुनौतीपूर्ण र साहसिक खेल हो, कति बेला के हुन्छ कुनै पत्तो हुँदैन, केही भाग्यको कुरा पनि हो। तर यो पटक गत सालको नमिठो अनुभवलाई अवस्मरणीय र मिठासमा परिणत गर्ने अठोटका साथ पूर्ण समर्पित थिएँ। यसको निम्ति मैले २ महिनाको कठिन अभ्यास गरेर शारीरिक रूपमा ‘फिट एन्ड फाइन’ बनाएको थिएँ। जसमा प्राविधिक सिपमा निखार ल्याउने, विगतका अनुभवबाट स्मार्ट दौड रणनीति अवलम्बन  गर्ने, पोषण तत्त्व र हाइड्रेसन कायम राखी शारीरिक र मानसिक रूपमा तयार थिएँ। जित्ने कुरामा ढुक्क थिएँ।’ 

यो प्रतियोगिता निकै प्रतिष्ठित भएको साथै रेस कोर्स एसियाकै सबैभन्दा टेक्निकल भएकोले पनि तयारी राम्रो गर्नु परेको प्रिया बताउँछिन्। 

दौडेरै दर्जनौँ देश पुगिसकेकी प्रियाले अङ्ग्रेजी साहित्य र पत्रकारितामा स्नातक गर्दैछिन्। उननले भनिन्, ‘हाल फ्रिलान्स पत्रकारिता गरिरहे पनि केही समय दौडमै पूर्णकालीन रूपमा लाग्छु, किनकी दौडले नै मेरो परिचय दिएको हो।’

प्रिया वरीयतामा नेपालको ओभरअल महिलातर्फ दोस्रो, एसियामा ३०औँ र विश्व वरीयतामा ३५२औँ स्थानमा रहेकी छन्।

शुक्रबार नेपाल फर्कने तरखरमा रहेकी प्रिया केही समय विश्राम लिएर पुन: दौडमा सक्रिय बन्ने बताउँछिन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .