आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडान सुचारु हुने भएका छन्। विगतका निर्वाचनमा आन्तरिक उडान ठप्प पारिने गरिए पनि यसपटक निर्वाचन आयोगले हवाई सेवालाई यथावत राख्ने निर्णय गरेको हो।
आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै मतदानको दिन हवाई उडान सञ्चालनमा कुनै अवरोध नगर्न र आवश्यक वातावरण मिलाउन निर्देशन दिएको छ। यो निर्णयसँगै २१ फागुनमा उडानको टिकट भएका यात्रुहरूले ढुक्कसँग यात्रा गर्न पाउनेछन्।
यात्रुलाई सहज बनाउन यस्तो छ व्यवस्था:
- सवारी साधन प्रयोग: आन्तरिक वा अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुहरूले विमानस्थलबाट घर वा होटलसम्म र होटलबाट विमानस्थलसम्म जान निजी सवारी साधन वा सम्बन्धित एयरलाइन्सको गाडी प्रयोग गर्न पाउनेछन्।
यसअघि नेपाल पर्यटन बोर्डले पुरानै अभ्यासका आधारमा 'ट्राभल एडभाइजरी' जारी गर्दै उडान बन्द हुन सक्ने संकेत गरेको थियो। तर, आयोगको नयाँ निर्णयले पर्यटन क्षेत्र र हवाई यात्रुलाई ठूलो राहत दिएको छ। आयोगले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मतदान प्रक्रियामा सहजीकरण गर्न यस्तो खुकुलो नीति लिएको जनाएको छ।
Shares

प्रतिक्रिया