राजधानीको अलोफ्ट होटलमा बिहीबार साँझ एउटा फरक माहोल थियो। कपाल सेताम्मे भएका तर जोसले भरिएका अनुहारहरूको जमघटले उमेर केवल एउटा संख्या मात्र हो भन्ने पुष्टि गरिरहेको थियो। अवसर थियो— ५० वर्ष उमेर नाघेका व्यक्तिहरूको साझा संस्था 'क्लब फिफ्टी'को १९ औँ साधारण सभा।
सोही साधारण सभाले क्लबको नयाँ नेतृत्व चयन मात्र गरेन, ५० कटेकाहरूको सामाजिक सक्रियताले कसरी नयाँ पुस्तालाई समेत ऊर्जा दिन सक्छ भन्ने बहस पनि छेड्यो। सभाले निवर्तमान वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँलाई नयाँ अध्यक्षका रूपमा सर्वसम्मत चयन गरेको छ। निर्वाचन आयुक्त दीपक मल्होत्राले नयाँ कार्यसमिति निर्विरोध छानिएको घोषणा गर्दा हलमा तालीको गडगडाहट सुनिएको थियो।
'हामी ५० कटेका कि जेन्जी पुस्ता!'
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुगेका अर्थसचिव घनश्याम उपाध्यायले माहोल देखेपछि रमाइलो टिप्पणी गरे। उनले भने, ‘म आफैँ ५० वर्ष पुगेको छैन तर यहाँको माहोलले मलाई ५० पुगिसकेको अनुभूति भयो।’ उनले क्लब भन्नेबित्तिकै मनोरञ्जन मात्र बुझिने परम्परागत सोचलाई यो संस्थाले तोडेको दाबी गर्दै भने, ‘क्लब फिफ्टीले गरेका सामाजिक कार्यहरू हेर्दा यो कुनै ठूला एनजिओ वा आइएनजिओभन्दा कम छैन।’
यसैगरी, पूर्वगृहमन्त्री निरञ्जन थापाले क्लबको सक्रियतालाई युवा पुस्तासँग जोडे। उनले भने, ‘यो ५० ओभरका नागरिकहरूको संस्था भए पनि क्लबको क्रियाकलापले मलाई जेन्जी पुस्ताको क्लब जस्तो महसुस गराएको छ।’
यस्तो छ नयाँ कार्यसमिति
कार्यकारिणी सदस्यहरूमा सुवर्ण राजभण्डारी, प्रमोद जैसवाल, शान्ति मोक्तान, सिर्जना मास्के, बाबा खड्का सुवेदी र डा.कविता अधिकारी छानिएका छन्।
अभियानको विमोचन
डा. अंगुर कार्कीको अध्यक्षतामा भएको उक्त सभामा क्लबको मुखपत्र 'अभियान'को १४ औँ अंक पनि विमोचन गरियो। सो अवसरमा कृतिको अतिथि सम्पादक रहेका साहित्यकार रमेश दाहाललाई कदरपत्र र मायाको चिनो प्रदान गरियो। निवर्तमान अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै मायाको चिनो वितरण गरेकी थिइन्।
पानसमा बत्ती बालेर सुरु भएको औपचारिक कार्यक्रम समापन भएपछि 'कक्टेल डिनर'सँगै सहभागीले उमेरका अनुभव र आगामी योजना साटासाट गरेका थिए।
संस्थापक अध्यक्ष कुलप्रकाश मास्के, पूर्वअध्यक्षहरू भुपेन्द्र कार्की, शारदाभक्त रञ्जित, दमन बस्नेत, रमेश लुइँटेलका साथै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल र वरिष्ठ पत्रकार जीवराम भण्डारीले नयाँ समितिलाई शुभकामना दिएका थिए।
Shares

प्रतिक्रिया