कारोबार


विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरणमा राष्ट्र बैंकलाई चिनियाँ केन्द्रीय बैंकले सघाउने

नागरिक आवतजावत गर्दा क्यूआरबाट भुक्तानी मिलाउनेबारे दुई गभर्नरबीच छलफल
विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरणमा राष्ट्र बैंकलाई चिनियाँ केन्द्रीय बैंकले सघाउने

नेपालखबर
माघ १४, २०८२ बुधबार १२:४१, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर फान कोङसङबीच बुधबार भेटवार्ता भएको छ।

ब्यांक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस) द्वारा चीनको थिआनचिनमा आयोजित २०औँ एसिया प्यासिफिक हाइलेभल मिटिङ अन ब्यांकिङ सुपरभिजन कार्यक्रममा सहभागी हुने क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका अवसरमा उनीहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदानप्रदानका क्षेत्रका अवसर र चुनौतीबारे छलफल भएको राष्ट्र बैंकले जनाएको छ। 

साथै वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदानप्रदानका विषयमा गभर्नरद्वयबीच छलफल भएको थियो। 

यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्यूआर कोडमार्फत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत उनीहरुबीच छलफल भएको थियो । सो अवसरमा पीबीओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदानप्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा राखे।

चीन भ्रमणका क्रममा गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र तत्पर रहेको विचार व्यक्त गरे। भेटका अवसरमा पिपुल्स बैंक अफ चाइना (पीबीओसी)का अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैंकका तर्फबाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेको समेत सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad