कारोबार


रुपन्देहीका उद्योगीको गुनासोः प्रदेशका मन्त्री उद्योग चलाउनुपर्‍यो भन्छन् तर एउटा सवारीपास बनाइदिन सक्दैनन्

रुपन्देहीका उद्योगीको गुनासोः प्रदेशका मन्त्री उद्योग चलाउनुपर्‍यो भन्छन् तर एउटा सवारीपास बनाइदिन सक्दैनन्

सन्तोष न्यौपाने
बैशाख २२, २०७७ सोमबार १४:४८,

मुलुकको अग्रणी औद्योगिक क्षेत्रमा पर्छ रुपन्देही। बुटबल औद्योगिक क्षेत्र, लुम्बिनी करिडोर, परासी लगायतका क्षेत्रमा ठुल्ठूला उद्योगहरु छन्।

अझ यस क्षेत्रमा होङ्सी, अर्घाखाँची जस्ता ठूला सिमेन्ट उद्योग छन्, जहाँबाट मुलुककै सबैभन्दा धेरै सिमेन्ट उत्पादन हुन्छन्।

सरकारले सावधानी अपनाएर उद्योगधन्दा चलाउने तयारी गरिरहेको छ। तर, भारतको सीमा क्षेत्रमा पर्ने रुपन्देहीका उद्योग सञ्चालनमा भने ठूलो चुनौती देखिएको छ।

खुला सीमा क्षेत्रका कारण लुकीछिपी नेपाल भित्रिनेहरुका कारण उद्योग चलाउन जोखिम रहेको त्यस क्षेत्रका व्यवसायीहरुको भनाइ छ।

‘सरकारले उद्योग चलाउन भन्छ तर औद्योगिक क्षेत्रमा रहेको समस्या केही सम्बोधन भएको छैन,’ बुटबल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले नेपालखबरसँग भने, ‘यहाँ सीमा क्षेत्रबाट जोखिम बढ्दै गएको छ।’

उनका अनुसार रुपन्देही जिल्लामा झन्डै ४ हजार ५ सय उद्योग दर्ता भएकोमा ३ हजारको हाराहारीमा उद्योग सञ्चालनमा छन्। बुटबल औद्योगिक क्षेत्रमा मात्र साढे तीन सय उद्योग छन्।

औद्योगिक क्षेत्र, लुम्बिनी करिडोर, परासी, कृष्णनगर क्षेत्रमा झन्डै १ हजार ५ सय उद्योग लकडाउन अघि चलिरहेका थिए।

प्रदेश ५ मा कोराना भाइरस संक्रमण (कोभिड–१९) का बिरामी बढ्दै गएको, सीमा क्षेत्रबाट हरेक रात दर्जनौं नेपाल प्रवेश गरेको र प्रदेश सरकारले उद्योग सञ्चालनमा समन्वय गर्न नसकेका कारणले उद्योग सञ्चालनमा चुनौती थपिँदै गएको व्यवसायीहरुको भनाइ छ।

‘भारतबाट हरेक रात दर्जनौँ व्यक्ति नेपाल प्रवेश गरिरहेका छन्,’ हमालले भने, ‘दिनभरी सुरक्षा हुन्छ तर राति कसैले रोक्न सकेको छैन।’

दिउसो आउँदा क्वारेन्टाइनमा बस्नु पर्छ भनेर राति सीमा नाघेर आउनेहरु रहेको उनले बताए।

भारतमा संक्रमण बढिरहेको अवस्थामा नेपाल प्रवेश गरेका ती व्यक्तिले भाइरस फैलाउन सक्ने ठूलो जोखिम छ। यसै कारण पनि धेरै उद्योगी र मजदुर काम गर्न डराइरहेका छन्।

‘भारतबाट नेपाल छिर्नेहरुका कारण प्रदेश ५ मा अझ गम्भीर अवस्था आएको छ,’ हमालले भने, ‘पहिला त क्षेत्र छुट्याएर काम गर्न सकिने विषयमा कुरा अगाडि बढेको थियो। अहिले त्यो पनि नसकिएला जस्तो छ।’

khim-b-hamal.jpgबुटबल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल

रुपन्देहीमा भेटिएका एक जना संक्रमित र नेपालगन्जको पछिल्लो अवस्थाले गर्दा सिंगै प्रदेश त्रसित छ।

सरकारले भने जस्तै सामाजिक दूरी कायम राखेर उद्योग चलाउन सकिने तर कामदारलाई कारखानामा ल्याउने र लैजाने व्यवस्था कसरी गर्ने भन्ने विषय पनि चुनौती बनेको छ। कामदारहरु २०÷२५ किलोमिटर टाढासम्म बस्छन्। जसमध्ये केही साइकल र मोटरसाइलकमा आउँछन्।

‘उद्योग सञ्चालनका विषयमा धेरै पटक प्रदेशको उद्योगमन्त्रीसँग बस्यौंं,’ हमालले भने, ‘तर उहाँहरुले कामदारलाई आउनेजाने व्यवस्था मिलाउन सक्नुहुन्न।’

प्रदेश सरकारले उद्योग चलाउन भन्ने तर त्यसको लागि समन्वय गर्न नसकेको गुनासो व्यवसायीको छ।

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको कस्तो भूमिका हुने हो, त्यसअनुसार समन्वय गर्न उनीहरुका माग छ।

‘उद्योग चलाउने जिम्मेवारी संघीय सरकारको हो कि प्रदेश सरकारको, हामीले बुझ्न पनि सकेका छैनौं,’ हमालले भने, ‘प्रदेश सरकारका मन्त्रीहरुले उद्योग चलाउन भन्छन् तर, उनीहरुले एउटा सवारीपास पनि बनाउन सक्दैनन्।’

प्रमुख जिल्ला अधिकारीले समेत संघीय सरकारको निर्देशनअनुसार पास बनाउन गाह्रो भएको उत्तर दिने व्यवसायी बताउँछन्। यसले उद्योग सञ्चालमा संघीय सरकार र प्रदेश सरकारको समन्वय नभएको देखिन्छ।

‘सबै मजदुर कारखानाभित्र बसेर चल्न सम्भव छैन, कारखाना त्यसरी बनेका पनि छैनन्,’ हमाल भन्छन्, ‘पास पनि नबन्ने, उद्योग पनि चल्नु पर्ने, कसरी सम्भव छ?’

उद्योग सञ्चालनको लागि अबको समस्या भनेको कामदारको अभाव हो। रुपन्देही क्षेत्रमा यो समस्या अझ चर्को छ।

बुटबल, भैरहवा क्षेत्रमा भारतका कामदारको संख्या ठूलो छ। स्टिल, सिमेन्ट, इँटाभट्टामा काम गर्नेहरु प्रायः भारतीय नागरिक नै छन्। लकडाउन सुरु भएपछि त्यस्ता कामदार भारततिरै गएका छन्। उनीहरु फर्केर आउने सम्भावना छैन।

रुपन्देहीका उद्योगमा बाँके, बर्दिया, कैलाली, धनगढीतिरका मजदुर पनि धेरै छन्।

‘कामदार अभाव अहिलेमात्र होइन, लकडाउन खुलेपछि पनि हुनेछ,’ उनी भन्छन्, ‘लकडाउन खुलेपछि पनि उद्योग सञ्चालन झन् जटिल होला जस्तो देखिन्छ।’

स्थानीय युवा धेरै विदेश गएकाले भारतका मजदुर त्यस क्षेत्रमा आएका छन्। नेपालबाट त्यसको पूर्ति हुन केही समय लाग्छ। सीमा क्षेत्रमा उद्योगमा यो समस्या अझ ठूलो छ।

स्थानीय कामदार पनि घर गएको अवस्था छ। उनीहरु आउन समस्या छ। उद्योग चलाउने हो भने उनीहरुलाई आउने जाने व्यवस्थापन गर्नु पर्छ।

त्यस्तै, उद्योग सञ्चालनका लागि कच्चा पदार्थ अभाव छ। एक्कासि लकडाउन भएकाले उद्योगहरुले कच्चा पदार्थ पर्याप्त राखेका छ्रैनन्।

मुलुककै विभिन्न जिल्लाबाट र भारतबाट कच्चा पदार्थ आउँछन्। बर्दियाबाट आउने धान वा पाल्पा, अर्घाखाँचीबाट ल्याइने चुनढुंगाको अभाव उद्योगलाई छ। उद्योग चलाउने हो भने ती कच्चा पदार्थ व्यवस्था गर्नुपर्ने व्यवसायी बताउँछन्।

‘सरकारले सुरक्षाको प्रत्याभूति दिने र आवश्यक कुरा उपलब्ध गराउने हो भने उद्योग चलाउन सम्भव छ, नत्र गाह्रो छ,’ हमालले भने।

लकडाउनको अवधिमा दुईचार वटा अति आवश्यक उद्योग चलिरहेका छन्। तिनीहरुलाई पनि मर्मत गर्ने ठाउँ, पाटपुर्जाको समस्या भइरहेको व्यवसायीको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad