नेपाली वायुसेवा कम्पनीहरुले लकडाउन खुल्ला भए जहाज उडानको तयारी अवस्थामा रहेको बताएका छन्।
सरकारले समेत लकडाउन केही खुकुलो पार्ने तयारी गरिरहँदा विमान सेवा प्रदायक कम्पनीहरुले उडानको लागि तयार रहेको बताएका हुन्।
विश्व महामारी कोरोनाभाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै सरकारले चैत ११ यता गर्दै आएको लकडाउन यही २५ गते सकिँदै छ। तर आउँदो जेठ २ सम्म अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान बन्द नै हुने सरकारले यसअघि नै निर्णय गरिसकेको छ।
सरकारले अन्तर्राष्ट्रिय उडान खुल्न नसके पनि आन्तरिक उडान खोल्न सकिने विषयमा छलफल गरिरहँदा कम्पनीहरु तयार देखिएका हुन्।
तर लकडाउन कहिलेसम्म लम्बिने भन्ने नै निश्चित छैन। किनकि पछिल्लो समय नेपालमा संक्रमितको संख्या ७० कटिसकेको छ। यस्तो अवस्थामा सरकारले तत्कालै लकडाउन नखोल्न पनि सक्छ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले आफ्नो कम्पनीले यात्रालाई कसरी सुरक्षित बनाउने भनेर कार्यविधि (प्रोटोकल) बनाइसकेको बताए।
‘बाहिर चर्चामा आएजस्तो जहाज क्षमताको आधा मात्रै बोक्न पाउने भन्ने कुरामा हामी सहमत छैनौं’, निर्देशक जोशीले भने, ‘हामीले नागरिक उड्डयन प्राधिकरणलाई सुरक्षाका उपायसहितको प्रोटोकल बुझाएका छौं तर आधा अकुपेन्सीमा उडाउन तयार छैनौं।’
उनले लकडाउन खुलेको केही दिन राम्रै चले पनि अन्तर्राष्ट्रिय उडान नै नभएपछि अकुपेन्सी फुल नहुने बताए।
‘एयरलाइन्सको अस्तित्व जोगाउन टिकट सस्तो दिएर भए पनि जहाज चलाउने प्रयास गर्छौं। फुल रिकभरी हुन त समय लाग्छ’, जोशीले नेपालखबरसँग भने।
कम्पनीहरुका तीन माग
एयरलाइन्स कम्पनीहरुले सरकारसँग मुख्य ३ माग गरेको बताएका छन्। पहिलोमा ऋण तिर्ने समयतालिकाको पुनर्संरचना गर्नुपर्ने छ। दोस्रो, नेपाल नागरिक उड्डयन प्राधिकरणले उठाउँदै आएको शुल्कमा सामान्य अवस्था नबनुन्जेलसम्म ५० प्रतिशत छुट दिनुपर्ने छ।
तेस्रो, पेट्रोलियम पदार्थमा आएको गिरावटले हवाइ तेलको मूल्यमा कटौती गर्नुपर्ने छ।
त्यस्तै श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले पनि ऋणको पुनर्तालिकीकरण मुख्य माग रहेको बताए।
‘एयरलाइन्स कम्पनीहरुले बैंकबाट ऋण लिएर जहाज खरिद गरेको हुन्छ। उडान नै ठप्प भएपछि अहिले ऋण तिर्न सकिँदैन। त्यसैले ऋण तिर्ने समयलाई पछि सार्नुको विकल्प छैन’, मानन्धरले भने।
विश्वभर ८० प्रतिशत उडानमा असर
महामारीको कारण विश्वभर ८० प्रतिशतभन्दा बढी उडान बन्द भएका छन्। हवाइ कम्पनीहरुलाई आफ्नो अस्तित्व जोगाउन हम्मे हम्मे परिरहेको छ।
गत हप्ता ब्रिटिस एयरवेजले १२ हजार रोजगारी कटौती गरिसकेको छ। कम्पनीले २०१९ को जस्तो अवस्थामा फर्किन केही वर्ष लाग्ने भन्दै कम्पनीको पुनर्संरचना आवश्यक भन्दै कर्मचारी कटौती गरेको हो।
त्यस्तै इजीजेटले बेलायतमा बसेर काम गर्ने ४ हजार क्याबिन क्रु सदस्यलाई दुई महिना विदा दिएको छ। अष्ट्रेलियाको क्वान्टस एयरलाइन्सले २० हजार कर्मचारीलाई छुट्टी दिएको छ। अमेरिकन एयरलाइन्सले ७ सय पाइलटलाई समय अवधि पहिलै विदा गरेको छ।
यी त केही उदाहरण मात्रै हुन् ।
यसै पनि कोरोना महामारी तत्कालै अन्त्य हुने छाँटकाँट छैन। हालसम्म भ्याक्सिनको पत्तो छैन। सोही कारण पनि हवाइ, पर्यटन क्षेत्र अझै कहिलेसम्म पुरानो लयमा फर्किने भन्ने टुंगो छैन।
त्यसमाथि हवाइ कम्पनीहरुले उडान सुरु गरे पनि मानिसहरु यात्राको लागि तयार नहुने अवस्था छ।
हाल विश्वभर करिब १७ हजार हवाइजहाज पार्किङको अवस्थामा रहेको एजेन्सीहरुले जनाएका छन्। पार्किङमा राख्दा पनि नियमित मेनटेन गर्नुपर्ने र केही तत्काल उडानको लागि पनि तयार अवस्थामा राख्नुपर्ने अवस्था छ।
लकडाउन खुले पनि उडानमा समस्या
लकडाउन खुले पनि एयरलाइन्स कम्पनीहरुलाई उडान गर्न समस्या हुनेछ। पाइलट, क्रु मेम्बर, कर्मचारी व्यवस्थापन मात्र नभई अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध मुख्य समस्या देखिनेछ।
अन्तर्राष्ट्रिय हवाइ यातायात संघका महानिर्देशक डी जुनिकले हवाइ उडानको मुख्य समस्या कुन देशले कहिले अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध खोल्छ भन्ने रहेको बताउँछन्।
उनले केही देशले २०२० को बीचमा उडान प्रतिबन्ध खोल्ने र केहीले २०२० को अन्तसम्म खोल्ने विश्वास गरेका छन्। अन्तर्राष्ट्रिय उडानभन्दा पहिले आन्तरिक उडान खुल्ने उनको बुझाइ छ।
अन्तर्राष्ट्रिय उडान सुरु भए पनि कोरोनाको औषधि पत्ता नलागेकाले सामाजिक दूरी कायम गर्दै यात्रा गर्न कहिलेसम्म गर्ने? यो समस्या एयरलायन्स र एयरपोर्ट दुवैलाई हुने जुनिकले बताए। एयरपोर्टमा पाउने सुविधा अब यात्रुलाई कसरी दिने भन्ने एयरपोर्ट सञ्चालक चिन्तित छन् ।
जर्मनीको लुफ्थान्सा एयरलाइन्सले सामाजिक दूरी कायम राख्दै आफ्नो सेवा सुचारु गरेको बताएको छ। कम्पनीले जहाजमा बीचको सिट खाली राखेर दूरी कायम गरिएको जनाएको छ।
यसले यात्रुमा आत्मविश्वास जागेको तर एयरलाइन्सको लागत भने बढेको छ। केही समयको लागि यस्तो गर्न सम्भव भए पनि कहिलेसम्म ४० प्रतिशत कम अकुपेन्सीमा उडान गर्ने कम्पनी आफैँ अन्योलमा छ।

प्रतिक्रिया