कारोबार


भारततर्फ जाने पूँजी सहकारीले रोके

भारततर्फ जाने पूँजी सहकारीले रोके

नेपालखबर
असार २४, २०७६ मंगलबार १०:१८,

कुनै बेला नेपालगञ्ज बजारबाट करोडौँ रुपैयाँ सीमावर्ती भारतीय बजारका बैंक तथा सहकारीमा जाने गर्दथ्यो। दैनिकजसो भारतीय बैंक तथा सहकारीका एजेन्टले नेपालगञ्जका व्यवसायी कहाँ पुगेर रकम सङ्कलन गरी सीमापारि पुर्याउथे। कति बचतकर्ताको रकम त फिर्ता पनि आउँदैन्थ्यो तर, बाँके जिल्लामा सहकारीको बढ्दो प्रभावकारिता र विस्तारले दैनिक आम्दानीको रकम सुरक्षितरुपले बचत गर्न भारतमा पठाउन रोकिएको छ।

जिल्लामा बचत तथा ऋणका साथै कृषि सहकारी संस्था खुल्ने क्रम तीव्र भएको छ। टोलटोलमा सहकारी खुलेपछि दैनिक करोडौँ रुपैयाँ स्वदेशमै सञ्चित हुन थालेको छ। जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेम सुवेदीले बचत सहकारीको स्थापनापछि नेपाली पूँजी बाहिरिन कम भएको बताए। उनले स्थानीय सहकारीमा रकम जम्मा गर्ने बानी बसेपछि पूँजी पलायन रोकेको बताउँदै भारतमा बचत गर्नेको सङ्ख्या कम हुँदै गएको जानकारी दिए।

अध्यक्ष सुवेदीका अनुसार जिल्लामा चार सयभन्दा बढी सहकारी सञ्चालनमा छन्। 'बाँकेमा मात्रै ११ लाख ६५ हजार सदस्य सहकारीमा आबद्ध छन्', उनले भने। सहकारीको सञ्चालक समितिमा दुई हजार ७०० भन्दा बढी व्यक्ति आबद्ध रहेको बताउँदै उनले दुई हजारले सहकारीमा रोजगारी पाएको जानकारी दिए।

अध्यक्ष सुवेदीले बाँकेमा सञ्चालित कृषि सहकारीले मात्रै दैनिक आठ हजार लिटर दूधको कारोवार गर्ने गरेको पनि जानकारी दिए। उनले भने, 'बाँकेका सहकारीले वार्षिक एक हजार ५०० मेट्रिक टनभन्दा बढी धान र एक हजार मेट्रिक टन गहुँको बीउ तयार गर्छन्।' जिल्लामा विभिन्न प्रकृतिका सहकारी सञ्चालित छन्। यसबाट विपन्नलाई आयआर्जनमा समेत टेवा पुगेको छ।

सहकारीको ऋण परिचालनले धेरैलाई स्वरोजगारसमेत बनाएको अध्यक्ष सुवेदीको भनाइ छ। 'सहकारीमैत्री समाज बन्यो भने, कोही कसैको भर पर्नुपर्दैन', उनी भन्छन्, 'सहकारी भए घरघरमा रोजगारी हुने सिद्ध भइसकेको छ।'

अध्यक्ष सुवेदीका अनुसार महिलाले नेतृत्व गरेका सहकारीको वार्षिक कारोवार तुलनात्मक रूपमा राम्रो रहेको छ। स्थानीय तहमै सहकारी खुलेपछि महिलाले भारतीय बैंक तथा वित्तीय संस्थामा बचत गर्न छाडेका छन्। 'सहकारीले साँझ–बिहान चुलोचौको टार्न कठिन पर्नेलाई आयआर्जनमा सहयोग पुर्याएको छ”, पौरखी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद तिमिल्सिना भन्छन्, 'सहकारीले सर्वसाधारणलाई जीवनयापन गर्न सजिलो बनाएको छ। हामीले सीपमूलक तालीमसमेत दिने गरेका छौँ। यसबाट सर्वसाधारण आत्मनिर्भर पनि बनेका छन्।'

ठूला सहकारीले वैदेशिक रोजगार, सवारीसाधन र घर निर्माणमा लगानी गरिरहेका छन्। सरकारी बैंक तथा वित्तीय संस्थामा ऋण लिन लामो र धेरै प्रक्रिया पुर्याउनुपर्ने भएकाले सहकारीप्रति सेवाग्राहीको आकर्षण बढेको उनको भनाइ छ। पौरखी सहकारीले एक महीनामा मात्र रु २२ लाख शेयर बिक्री गर्न सफल भएको अध्यक्ष तिमिल्सिनाले बताए। उनले भने, 'जेठ महीनामा मात्र रु २२ लाखको शेयर बिक्री गरेर सहकारीको कूल पूँजी रु एक करोडमाथि पुर्याएको छ।' बैंकभन्दा सहकारी विश्वासिलो, भरपर्दो र सहज लाग्ने भएकै कारण शेयर खरीदका साथै बचत गर्नेतर्फ सर्वसाधारणको आकर्षण बढेको छ।'

 बचत समूहमा आबद्ध केही महिलाले व्यावसायिक रुपमा पशुपालन (बाख्रापालन, कुखुरापालन) च्याउखेती, तरकारी तथा फलफूल खेती, घरेलु तथा साना उद्योग र व्यवसाय गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए। 'केही वर्ष अघिसम्म सामान्य परिवारका महिलाले स–सानो खर्चका लागि श्रीमान्को मुख ताक्नुपथ्र्यो, अब त्यो अवस्था रहेन', उनी भन्छन्।

जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष सुवेदीका अनुसार स्थानीय सहकारीका उत्पादनको बजारीकरणका लागि सहकारी बजार स्थापना गर्ने तयारी भइरहेको छ। 'एक वर्षभित्र जिल्लामा सहकारी बजार स्थापना गर्ने लक्ष्य राखेका छौँ। सहकारी बजार स्थापनापछि सहकारीलाई उत्पादनसँग जोड्ने लक्ष्य छ', उनी भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad