काष्ठमण्डप खाद्य उद्योगले आफ्नो गल्तीका कारण भाटभटेनीमाथि कारबाही भएको भन्दै क्षमायाचना गरेको छ। सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको थियो।
काठमाडौंको टेकुमा रहेका काष्ठमण्डप खाद्य उद्योगले भाटभटेनी सुपरमार्केटलाई विगत १० वर्षदेखि नेवार समुदायको लोकप्रिय खानेकुरा लाखमरी, तिलको लड्डु, ऐंठे, रोट, पञ्जाफी, अनरसा लगायत सप्लाई गर्दै आएको छ।
काष्ठमण्डपका अनुसार भाटभटेनी सुपरमार्केटमार्फत बिक्री हुने हरेक सामानमा सोको मूल्य उल्लेख हुने र भाटभटेनीले हरेक वस्तुको मूल्य पहिचानका लागि बारकोड प्रयोग गर्ने गरेको छ। यस्तो बारकोड र मूल्यको स्टिकर टाँस्ने कार्य मूलतः भाटभटेनी आफैंले गर्ने गरे पनि यसपटक लकडाउनको प्रतिकूल अवस्थामा उक्त बारकोडको स्टिकर टाँस्ने जिम्मा आफ्नै उद्योगलाई दिएको काष्ठमण्डपले स्पष्ट पारेको छ।
‘लकडाउनका कारण हाम्रा अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको र सोही वस्तु अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले फेला पारेर भाटभटेनीमाथि कारवाही भएको हो’ काष्ठमण्डपले विज्ञप्तिमा भनेको छ, ‘२५० ग्रामको र ५०० ग्रामको लाखामरीमा फरकफरक मूल्यको बारकोड स्टिकर टाँस्नुपर्नेमा एउटै स्टिकर टाँसिएको व्यहोरा अनुगमनमा संलग्न अधिकारीहरुले पनि प्रत्यक्ष देख्नुभएको छ।’
सो उद्योगले गल्ती उद्योग वा भाटभटेनीको यितबस नभएर उद्योगका कर्मचारीको मानवीय गल्ती भएको भन्दै कारबाहीप्रति दुःख व्यक्त गरेको छ।
प्रतिक्रिया