नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई व्यवसायमा लगानी गर्न नहिच्किचाउन आग्रह गरेका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले सीईओहरुलाई व्यावसायिक लगानी गर्न नडराउन भनेका हुन्।
‘तराईमा बिचौलियाविना त लोन पनि पाइन्न भन्ने गुनासो छ। सीईओ धेरै ठूलो पोजिसन हो’, उनले भने, ‘बैंक भनेको व्यवसाय हो। बिजनेसमा इन्भेस्ट गर्नुस्, परेको सहयोग गर्छौँ। नयाँ उद्यमी खोज्नुस्।’
लगानीविना आर्थिक समृद्धि हासिल नहुने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बल पुग्ने गरी लगानी बढाउन उनले आग्रह गरे।
‘देशको ग्रोथ नभई तपाईंहरुको ग्रोथ हुँदैन। इकोनोमी ग्रोथ हुनुपर्छ’, उनले थपे, ‘आईटीमा लगानी गर्न मन छ? भन्नुस्। नयाँ क्षेत्र खोज्नुस्।’
सबै कुरा राष्ट्र बैंकलाई पनि थाहा नहुने भएकाले नीतिगत सुधारका कुराहरु भए स्पष्ट राख्न उनको आग्रह थियो। यसमा राष्ट्र बैंकले आवश्यक व्यवस्था गरिदिने पौडेलले उल्लेख गरे।
‘हामीलाई थाहा हुँदैन। नीतिगत कुराहरु छन् भने भन्नुस्, सँगै काम गर्छौँ। राष्ट्र बैंकले तपाईंलाई लगानी गर्न सघाउँछ’, उनले भने।
गभर्नर डा. पौडेलले कालोसूचीमा पर्नेहरुलाई अपराधिकरण गर्नु गलत भएको बताउँदै यसले व्यवसायीक क्षेत्रलाई थप समस्यामा पारेको बताए ।
आर्थिक गतिविधि सुस्त हुँदै जाँदा त्यसको असर व्यावसायिक क्षेत्रमा पर्दा कालोसूचीमा पर्नेको संख्या बढेको उनले बताए। तर ऋण तिर्ने मनासायका ऋणी पनि कालोसूचीमा पर्ने अवस्था र्सिजना भएको उनले बताए।
‘ब्ल्याकलिस्टमा कति जनालाई क्रिमिनलाइज गर्ने हो? अहिले १० लाख आन्टरप्रेनर नेपालमा छन् भने त्यसको डेढ लाख जति त कालोसूचीमै परेका छन्’, उनले भने।
गभर्नर पौडेलले कालोसूचीमा पर्ने सबैलाई आपराधिक नजरबाट हेर्न नहुने पनि बताए। उनले पछिल्लो दुई वर्षदेखि कर्जाको माग सुस्त भएको बताउँदै त्यसलाई जेन जी प्रर्दशनले थप सुस्त बनाएको उल्लेख गरे।
उनले अर्थतन्त्रको विषम परिस्थितिमा बैंकहरूले कर्जा लगानीका लागि नयाँ क्षेत्र नयाँ उद्यमतिर केन्द्रित हुन बैंकहरुलाई आग्रह समेत गरे।
Shares

प्रतिक्रिया