कारोबार


टिग नास आईटी एक्स्पो सम्पन्न: सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा जोड

टिग नास आईटी एक्स्पो सम्पन्न: सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा जोड

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १७:१, काठमाडौँ

नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आईटी) द्वारा आयोजित ‘टिग नास आईटी एक्सपो २०२५’ सम्पन्न भएको छ। कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुईदिनसम्म स्वदेशी प्रविधि कम्पनीहरूको प्रदर्शनी सञ्चालन भएको थियो। 

दुई दिनसम्म चलेको एक्सपोले नेपालको डिजिटल इकोसिस्टम विकासका लागि सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा जोड दिएको नास आईटीले जानकारी दिएको छ। प्रविधि र अवसरबीचको पुल निर्माण गर्न आयोजना भएको एक्सपो भव्यताका साथ समापन भएको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए। ‘एक्सपोमार्फत प्रविधि र अवसरबीचको पुल निर्माण गर्ने उद्देश्य हामीले हासिल गरेका छौं,’ उनले भने,‘यसले नेपालको आईटी उद्योगका लागि नयाँ मापदण्ड स्थापित गरेको छ।’

एक्सपोमा उद्यमी, व्यवसायी, सरकारी अधिकारी, विदेशी नियोग तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि, विद्यार्थी लगायत प्रविधिप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। दुई दिनको अवधिमा २५०० भन्दा बढीले एक्सपो अवलोकन गरेका छन्। यस एक्स्पोलाई स्वदेशी आईटी प्रविधि तथा सेवालाई प्रवर्द्धन गर्न आयोजना गरिएको नेपालकै एक ठूलो आईटी तथा व्यवसायिक प्रदर्शनीका रूपमा लिइएको छ।

एक्स्पोमा नयाँ प्रडक्ट लन्च, स्टार्टअप नवप्रवर्तन, सफ्टवेयर सेवाहरूमा विशेष अफर, क्लाउड सोलुसन र डिजिटल उपकरणहरू प्रस्तुत गरिएका थिए। साथै, लाइभ पिच डेक सत्रमार्फत कम्पनीहरूले आफ्ना आइडिया, अफर र सहकार्यका अवसरहरू समेत प्रस्तुत गरेका थिए।

प्रदर्शनीमा सहभागी कम्पनी रिप्पल बाइट्सले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न र अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खलेको बताउँदै आगामी वर्ष पनि सहभागी हुने पनि बताएको छ।

नास आईटीका अनुसार एक्सपोले नेपालको प्रविधि इकोसिस्टमलाई एकत्रित गर्दै नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सशक्त बनाउने माइलस्टोन रूपमा आफूलाई स्थापित गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad