कारोबार


रूसी लुकोइलले थेग्न सकेन अमेरिकी प्रतिबन्ध, विदेशी सम्पत्ति बेच्ने घोषणा

रूसी लुकोइलले थेग्न सकेन अमेरिकी प्रतिबन्ध, विदेशी सम्पत्ति बेच्ने घोषणा

रासस\एएनआई
कात्तिक ११, २०८२ मंगलबार १६:४७, काठमाडौँ

अमेरिकी प्रतिबन्धको दबाबपछि रूसको प्रमुख तेल कम्पनी लुकोइलले आफ्नो अन्तर्राष्ट्रिय सम्पत्ति बेच्ने निर्णय गरेको छ।

कम्पनीले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा सम्भावित खरिदकर्ताहरूबाट बोलपत्र माग्ने प्रक्रिया सुरु गरिएको उल्लेख छ।

रूसी राज्य मिडियाका अनुसार सम्पत्ति बिक्री प्रक्रिया अमेरिकी विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (अमेरिकी ओएफएसी) द्वारा जारी विन्डडाउन इजाजतपत्र अन्तर्गत सञ्चालन गरिनेछ। कम्पनीले भन्यो, “केही राष्ट्रले लुकोइल र यसको सहायक कम्पनीहरूविरुद्ध लगाएका प्रतिबन्धका कारण यो कदम आवश्यक भएको हो।”

अमेरिकी ओएफएसीले कम्पनीलाई विदेशमा सञ्चालन बन्द गर्न वा अन्यथा भारी जरिवाना भोग्न नोभेम्बर २१ सम्मको समयसीमा दिएको छ। लुकोइलले आवश्यक परे इजाजतपत्र विस्तारका लागि आवेदन दिने योजना रहेको जनाएको छ।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि तेल र ग्यास कम्पनी रोसनेफ्ट सँगै लुकोइलमाथि प्रतिबन्ध लगाएको घोषणा गरेपछि आएको हो। ट्रम्प प्रशासनले यो कदमलाई ‘युक्रेनमा युद्ध अन्त्य गर्न रूसको गम्भीर प्रतिबद्धताको अभावको परिणाम’ भनेर व्याख्या गरेको थियो।

अमेरिकी अर्थ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “यी प्रतिबन्धहरूले रूसको ऊर्जा क्षेत्रमा थप दबाब सिर्जना गर्नेछन् र क्रेमलिनको युद्धका लागि राजस्व बढाउने क्षमतालाई कमजोर पार्नेछन्।”

अर्थमन्त्री स्कट बेसेन्टले भने, “यो युद्ध रोक्ने र तत्काल शान्ति स्थापना गर्ने समय हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले हामीले क्रेमलिनको युद्ध मेसिनलाई आर्थिक रूपमा पोषण गर्ने दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएका हौँ। आवश्यकता परे थप कारबाही गर्न तयार छौँ।”

यसै क्रममा, वासिङ्टनले रूसी संस्थाहरूसँग कारोबार गर्ने कम्पनीहरूलाई एक महिनाभित्र सम्बन्ध तोड्न चेतावनी दिएको छ। अन्यथा ती कम्पनीहरूलाई अमेरिकी बैंक, व्यापारी, ढुवानी र बीमा सेवामा पहुँच नदिने चेतावनी दिइएको छ।

लुकोइल रूस र विदेशमा तेल तथा ग्यासको अन्वेषण, उत्पादन, शोधन, वितरण र विपणनमा संलग्न छ। अमेरिकी अर्थ मन्त्रालयले कम्पनीका सहायकहरूलाई ‘एक्जीक्युटिभ अर्डर १४०२४’ अन्तर्गत रूसको ऊर्जा क्षेत्रमा सञ्चालन गर्ने कारण निर्दिष्ट गरेको छ।

यी सहायक कम्पनीहरूमा लुकोइल पर्म, लुकोइल वेस्ट साइबेरिया लिमिटेड, लुकोइल कालिनिनग्रादमोर्नेफ्ट, उरालोइल र रूसी इन्नोभेसन इन्धन तथा ऊर्जा कम्पनी समावेश छन्। यिनीहरूले भूगर्भीय अन्वेषणदेखि तेल र ग्यास उत्पादन तथा प्रविधि विकाससम्मका कार्य गर्छन्।

लुकोइलले भनेको छ, “हामी आफ्नो अन्तर्राष्ट्रिय सम्पत्तिको निरन्तर सञ्चालन सुनिश्चित गर्न प्रतिबद्ध छौँ र शान्तिपूर्ण समाधानका लागि आवश्यक सबै कानूनी बाटो अपनाउनेछौँ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad