कारोबार


भारत र चीनबीच पाँच वर्षपछि फेरि सुरु भयो प्रत्यक्ष उडान

भारत र चीनबीच पाँच वर्षपछि फेरि सुरु भयो प्रत्यक्ष उडान

रासस/एएफपी
कात्तिक ९, २०८२ आइतबार १६:४८, कोलकाता

पाँच वर्षको अवरोधपछि भारत र चीनबीच आइतबार प्रत्यक्ष हवाइ उडानहरू पुनः सुरु भएका छन् ।

यो कदम व्यापार र जनता–जनताबीचको सम्पर्कका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ । यसले एसियाका दुई दिग्गज राष्ट्रबीच सम्बन्ध पुनर्निर्माणको प्रतीकात्मक सुरुआत गरेको छ ।

विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकी यी दुई देशबीच लामो समयदेखि रणनीतिक प्रतिस्पर्धा रहँदै आएको छ । सन् २०२० मा हिमाली सीमामा भएको घातक झडपपछि सम्बन्धमा आएको तिक्तता विस्तारै घट्दै गएको छ । भारत सरकारका अनुसार उडान पुनः सुरु हुनु ‘जनता–जनताबीचको सम्पर्क सुदृढ गर्न’ र ‘द्विपक्षीय आदानप्रदानलाई सामान्यिकरणतर्फ लैजान’ सहयोगी हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ५० प्रतिशत करको सजाय लगाइएपछि वासिङ्टनसँगको व्यापारिक सम्बन्धमा तनाव झेलिरहेको भारतको बेइजिङसँगको सम्बन्ध पछिल्ला महिनाहरूमा न्यानो भएको देखिएको छ । ट्रम्पका सहयोगीहरूले भारतले मस्कोबाट तेल खरिद गरेर रुसको युक्रेन युद्धलाई परोक्ष रूपमा समर्थन गरेको आरोप लगाएका थिए ।

भारतको सबैभन्दा ठूलो विमान सेवा प्रदायक इन्डिगो एयरलाइन्सले चीनका लागि पहिलो दैनिक प्रत्यक्ष उडान सञ्चालन गरेको छ । कोलकाताबाट आइतबार बिहान १० बजे (१६ः३० जिएमटी) ग्वाङ्झाउका लागि पहिलो उडान प्रस्थान गरेको थियो । राजधानी नयाँदिल्लीबाट साङ्घाई र ग्वाङ्झाउतर्फका थप सेवाहरू नोभेम्बरदेखि सुरु हुने तयारीमा छन् ।

“प्रत्यक्ष हवाइ सम्पर्कले लजिस्टिक लागत र ट्रान्जिट समय घटाउनेछ”, कोलकातास्थित इन्डियन चेम्बर अफ कमर्सका प्रमुख राजीव सिंहले भन्नुभयो, “यसले व्यापारिक समुदायलाई ठूलो फाइदा पुर्‍याउनेछ ।”

कोलकाता सहरको चीनसँग ऐतिहासिक सम्बन्ध छ, जुन ब्रिटिश शासनकालदेखि नै सुरु भएको हो, जतिबेला चिनियाँ आप्रवासीहरू व्यापारीका रूपमा यहाँ आएका थिए । सहरको प्रसिद्ध ‘इन्डो–चिनियाँ फ्युजन’ परिकार त्यही सम्पर्कको स्वादिलो प्रतीक बनेको छ ।

“हामीजस्ता चीनमा आफन्त भएका मानिसहरूका लागि यो हर्षको समाचार हो”, कोलकाताको चिनटाउन क्षेत्रमा रहेको नागरिक समाजका नेता चेन खोइ कुईले भने, “हवाइ सम्पर्कले व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदान दुवैलाई सुदृढ पार्नेछ ।”

भारत र चीनबीच व्यापारिक असन्तुलन अझै ठूलो छ । भारतले चिनियाँ कच्चा मालमा ठूलो निर्भरता राखेको छ, जसले औद्योगिक उत्पादन र निर्यात वृद्धिलाई असर गरेको छ । गत वर्ष रुस तथा यस वर्ष अगस्टमा चीनमा भएका उच्चस्तरीय बैठकहरूले दुई देशबीच मेलमिलापको वातावरण सिर्जना गरेको बताइन्छ ।

भारतको वाणिज्य मन्त्रालयका अनुसार गत महिना चीनबाट आयात ११ अर्ब डलरभन्दा बढी पुगेको छ । यो गत वर्षको तुलनामा १६ प्रतिशत वृद्धि हो । त्यही अवधिमा भारतबाट चीनमा निर्यात एक अर्ब ४७ करोड डलर पुगेको छ । यसमा वार्षिक रूपमा करिब ३४ प्रतिशत वृद्धिदर देखिएको छ ।

कोभिड–१९ महामारीका समयमा दुई देशबीचका करिब ५०० मासिक प्रत्यक्ष उडानहरू स्थगित भएका थिए । सन् २०२० मा भएको सीमा झडपमा २० जना भारतीय र चार जना चिनियाँ सैनिकको मृत्यु भएपछि सम्बन्ध अझै बिग्रिएको थियो । त्यसपश्चात् भारतले चिनियाँ लगानी र प्राविधिक पहुँचमा प्रतिबन्ध लगाउँदै टिकटकसहित सयौँ एप  प्रतिबन्धित गरेको थियो ।

यद्यपि पछिल्ला महिनामा सम्बन्धमा सुधारका सङ्केत देखिएका छन् । यस महिना दुवै देशका सैनिकहरूले हिन्दू पर्व दशैँ–तिहार (दीपावली) को अवसरमा मिठाइ आदानप्रदान गर्दै ‘सद्भावको प्रतीक’ प्रदर्शन गरेको भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता यु जिङले बताए।

“बेइजिङसँग सम्बन्ध सुधार गर्नु वासिङ्टनलाई उपयुक्त सन्देश पठाउने कूटनीतिक सङ्केत हो”, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अगस्टमा भएको भेटपछिको सम्पादकीयमा द इन्डियन एक्सप्रेसले लेखेको थियो, “तर, सामान्यीकरणको बाटो अझै लामो छ । बढ्दो दृढ चीनलाई व्यवस्थापन गर्नु भारतको दीर्घकालीन चुनौती बनेको छ ।”

“ट्रम्पका अनिश्चित कूटनीतिक नीतिहरूका बाबजुद पनि यी आधारभूत वास्तविकताहरू अपरिवर्तित रहन्छन्”, सम्पादकीयमा भनिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad