कारोबार


ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

नेपालखबर
असोज २९, २०८२ बुधबार १५:२४, पाटन

१८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ।
    
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ।

प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताए।

‘पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ’, उनले भने।

उनले नेपाल सरकारले लागू गरेको बीउबिजन नियमावलीका आधारमा आलंकारिक बिरुवाहरूलाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देशभित्रका पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नुपर्नेमा जोड दिए।

‘कृषि विधेयक तयार भएर पनि संसद् नभएको कारणले अल्झिएर रहेको छ, कृषि क्षेत्रका हितलाई समेटेर कृषि नीति तयार भएको छ, मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ, पुष्प व्यवसायीहरूको हितका लागि व्यवसायको संरचनाको जोखिमको मूल्याङ्कन गरेर बिमा गर्ने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्ने प्रयास जारी छ’ उनले भने।

उनले प्लास्टिकका फूलहरूलाई उपयोगमा नियन्त्रण गरेर पुष्प व्यवसायीहरूलाई प्रोत्साहनमा जोड दिनुपर्छ भन्दै देश बाहिरबाट आउने कृषिजन्य एवं पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणका विषयमा ध्यान दिएर नियन्त्रण गर्ने काम गर्छौं भने।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवर्द्धनका लागि बीउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए। उनले जेनजी आन्दोलनमा घुसपैठ भएर समाजले पचाउन नसक्ने र २१ औँ शताब्दीमा नसुहाउने खालको अपराधिक काम भएको भन्दै त्यसलाई निरुत्साहित गर्दै व्यावसायिक वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए।

पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्द्धनका साथै रोजगारीमा समेत महत्त्वपूर्ण योगदान दिने धारणा राखे। फ्लोरिकल्चर एसोसिएनि नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी गराए। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० वटा स्टल रहेका छन्। प्रदर्शनीमा रु ४० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad