पछिल्ला दिनहरुमा केही अनधिकृत व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाममा ग्राहकहरूलाई फोन गरी व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा बताई आर्थिक लाभको प्रलोभनमा पार्ने कार्य भएको भन्दै राष्ट्रिय वाणिज्य बैंकले सजग रहन अनुरोध गरेको छ।
ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना प्राप्त हुन आएकाले यसतर्फ बैंकको गम्भीर ध्यानाकर्षण भएको हो ।
सोही सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै पनि कुनै पनि प्रयोजनका लागि फोन, इमेल, सामजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटीएम पिन, मोबाइल बैंकिङ तथा ई- बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण नमागिने कुरा बैंकले स्पष्ट पारेको छ।
‘तसर्थ हामी हाम्रा ग्राहकहरूलाई अनाधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दछौँ’, बैंकले भनेको छ, ‘यदि कहिंकतै कुनै माध्यमबाट शंकास्पद गतिविधि भए गरेको पाइएमा नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरहरूमा मात्र सम्पर्क गर्नुहुन आम सर्वसाधारणमा हामी हार्दिक अनुरोध गर्दछौं । साथै बैंकका आधिकारिक सूचना, अफर तथा योजनाहरू बैंकको आफ्नै वेबसाइटबाट प्रकाशित गर्ने गरिएको जानकारी गराउँछौँ।’
राष्ट्रिय वाणिज्य बैंक ग्राहकहरूको सुरक्षित बैंकिङ कारोबारका लागि प्रतिबद्ध रहँदै आएको जनाउँदै बैंकले यस्ता ठगीजन्य क्रियाकलापविरुद्ध सचेत एवं सजग रहन सम्पूर्ण ग्राहकहरूलाई आह्वान गरेको छ।
Shares

प्रतिक्रिया