कारोबार


घमीखोलामा डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमै थन्किए मालवाहक १८ ट्रली

घमीखोलामा डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमै थन्किए मालवाहक १८ ट्रली

नेपालखबर
असोज १७, २०८२ शुक्रबार ९:१२, काठमाडौँ

मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालवाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन्।

जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मंगलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन्।

कोरलानाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुस्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिएका छन्। 

अब दसैँ सकिएपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गरिने उनले बताए।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आए पनि कोरला सडकको घमी खोलामा सडक डाइभर्सन नहुँदा समस्या भएको बताए।

व्यापारीसँग समन्वय गरी डाइभर्सन निर्माण गर्न पहल भइरहेको उनले बताए।

घमी खोलामा निर्माणाधीन पुल सात वर्ष भइसक्दासमेत सम्पन्न हुन सकेको छैन।

पुल निर्माणका लागि विसं २०७५ मा रु ६ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनसँग ठेक्का सम्झौता भएको थियो।

निर्माण कम्पनीलाई आयोजनाले दैनिक हर्जानासमेत लगाइरहेको भए पनि काम अझै अघि बढ्न सकेको छैन।

एक स्पानको ४० मिटर लामो पुल बनाउने भनिएकामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad