कारोबार


सेयरबजारमा हुने चलखेल रोक्न ल्याइएको व्यवस्था सात महिनामै किन फेरियो?

सेयरबजारमा हुने चलखेल रोक्न ल्याइएको व्यवस्था सात महिनामै किन फेरियो?

सम्झना घिमिरे
असोज ७, २०८२ मंगलबार १४:५९, काठमाडौँ

सेयरबजारमा केही चलाख लगानीकर्ताले झूटो माग देखाएर मूल्यमा गर्ने चलखेल रोक्न भन्दै गत चैतमा ल्याइएको नयाँ व्यवस्था एकाएक स्थगित गरिएको छ।

बजारलाई पारदर्शी बनाउन भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ल्याएको कारोबारको अन्तिम १५ मिनेटको मूल्य गणना विधि कार्यान्वयनको ७ महिनामै रोकिएको हो।

सीमित लगानीकर्ताले फाइदाका लागि गर्ने चलखेल रोक्न यो विधि ल्याइए पनि अहिले पुनः सीमित लगानीकर्ताकै स्वार्थमा रोकिएको स्रोतको दाबी छ।

हरेक दिन ११–३ बजेसम्म सेयर कारोबार हुन्छ। त्यसमा यो विधिअनुसार नेप्सेले २ः४५ देखि ३ बजेसम्मको मूल्यलाई आधार मानी भारित औसत मूल्य निकालेर सोही मूल्यलाई भोलिपल्टको कारोबारको सुरुवाती मूल्य मान्ने गरिन्छ।

यसअघि दोस्रो बजार बन्द हुनु केही मिनेट तथा सेकेन्डमा लगानीकर्ताले सेयर खरिद चाप बढाएर कम्पनीको मूल्यमा सर्किट लगाउने गरेको नेप्सेको तर्क थियो। सोही कारण यसलाई रोक्न नयाँ व्यवस्था गरिएको हो।

तर अहिले नेप्से आफैँले नयाँ व्यवस्था रोकिदिएको छ। नेप्सेका एक अधिकारी धितोपत्र बोर्डका कारण अन्तिम १५ मिनेटको कारोबारमा आधारित मूल्य गणना रोकिएको दाबी गर्छन्। उनका अनुसार बोर्डले नेप्सेले बनाएको विनियमावलीविपरीत परिस्थितिजन्य निर्णय भन्दै उक्त व्यवस्था रोक्न निर्देशन दिएको हो।

‘हामीले विनियमावली बनाएर पास गरेरै कार्यान्वयनमा लगेको हो। तर लगानीकर्ताको दबाब आयो भनेरै व्यवस्था नै कार्यान्वयनमा रोक लगाइयो’, उनको दाबी छ।

नयाँ व्यवस्था नरुचाइरहेका केही लगानीकर्ताले जेनजी प्रदर्शन र त्यसपछि खुलेको बजारमा देखिएको उच्च गिरावटलाई निहुँ बनाएका थिए।

प्रदर्शनको कारण भदौ २३ देखि बन्द बजार असोज २ मा खुलेको थियो। खुलेको दिन तीनपटक नकारात्मक सर्किट लागेर बन्द भएको थियो। त्यसपछि केही लगानीकर्ता संगठनले नयाँ व्यवस्था हटाउनुपर्ने बताएका थिए।

त्योसँगै नेप्सेले बोर्डको निर्देशनमा भोलिपल्टै अन्तिम मूल्य गणनाको नयाँ विधिको कार्यान्वयन रोकेको थियो।

नेप्सेका अधिकारीहरु लहडको रुपमा नयाँ व्यवस्था नआएको बताउँछन्। ‘अध्ययन र प्राविधिक परीक्षण गरेर ल्याइएको हो’, एक अधिकारी भन्छन्, ‘धेरै समयदेखि चलखेल गर्नेहरुले फर्जी माग बढाएर मूल्य बढाउने गरेको गुनासो बोर्ड र नेप्सेमा आइरहेको थियो। त्यसलाई रोक्न यो विधि लागू गरेको हो।’ 

नेप्से–बोर्डले देखाए एकअर्कामाथि औँला
औसत मूल्य गणनाको नयाँ विधि रोकिएपछि व्यवस्थापकीय र नियामकीय संस्था भने एकअर्कालाई देखाएर चुपचाप बसेका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र बोर्डलाई र बोर्डले नेप्सेलाई नयाँ व्यवस्था रोकिनुको कारण देखाएका हुन्।

यसले दुवै निकायमा पहिलेको व्यवस्थाबाट फाइदा लिने बानी परेका केही ठूला लगानीकर्ताको चलखेल भएको स्रोतको बुझाइ छ।

‘लगानीकर्ताको दबाब बढेलगत्तै बोर्डले चलखेल रोक्न कार्यान्वयनमा ल्याएको व्यवस्था लागू नगरेर चलाख लगानीकर्तालाई सजिलो बनाइदिएको छ’, नेप्से स्रोतले भन्यो।

तर धितोपत्र बोर्डका अधिकारीहरु भने पछिल्लो स्थगन प्रस्ताव नेप्सेबाटै आएको दाबी गर्छन्।

नाम नखुलाउने शर्तमा बोर्डका एक अधिकारीले भने, ‘लगानीकर्ताले दबाब दिन थालेपछि नेप्सेले पुरानै अन्तिम मूल्य गणना विधिलाई कार्यान्वयन गराउनका लागि निर्देशन दिन बोर्डलाई सिफारिस गरेको थियो।’

उनका अनुसार नेप्सेबाट बोर्डमा सिफारिस आएपछि नै बोर्ड सञ्चालक समितिको बैठक बसेर स्थगनको निर्णय गरिएको हो।

नेप्सेका कार्यकारी निर्देशक (का.मु.) निरञ्जन फुँयालले अनौपचारिक छलफल भएरै नेप्सेबाट बोर्डमा नयाँ व्यवस्था कार्यान्वयन स्थगितको लागि सिफारिस गएको स्वीकारे।

‘अन्तिम १५ मिनेटको आधारमा नेप्सेमा औसत मूल्य गणना विधि रोक्नेबारे अनौपचारिक छलफल भएको थियो’, उनले भने, ‘छलफलपछि बोर्डलाई आवश्यक निर्देशनको लागि सिफारिस भएको थियो।’

कसलाई फाइदा?
नयाँ विधि कार्यान्वयन स्थगित भएसँगै फेरि बजारमा अन्तिम समयमा चलखेल गर्ने केही सीमित लगानीकर्तालाई फाइदा हुने भएको छ। 

यसको अर्थ फेरि बजारमा कारोबारको अन्तिम समयमा खरिदकर्ताले खरिद बढाउने तर बिक्रीकर्ताले उक्त रकममा बिक्री गर्ने समय नै नदिने गरी मूल्य बढाउन चलखेल गर्न पाउनेछन्। जसले अन्तिम समयमा माग बढ्न जाँदा मूल्य बढ्दै जाने हुन्छ।

पुरानो व्यवस्थाअनुसार ३ बजेसम्म खरिदकर्ता आउन नसक्ने र आफूले माग बढाउँदै जाँदा मूल्यको कृत्रिम वृद्धि हुने र भोलिपल्टको पहिलो कारोबार सोही बढेकै मूल्यमा उनीहरुले बेच्ने गरेका थिए।  अब पनि यही प्रवृत्ति देखिने एक लगानीकर्ता बताउँछन्।

यही प्रवृत्ति रोक्न नेप्सेका सीईओ चूडामणि चापागाईंले नयाँ मूल्य निर्धारण विधि कार्यान्वयनमा ल्याएका थिए।

गत वर्ष चैत ७ गते कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१ अनुरुप नेप्से सञ्चालक समितिको निर्णयले नयाँ गणना विधि कार्यान्वयनमा ल्याएको थियो। जुन सात महिना नपुग्दै रोकिएको हो।

कार्यान्वयनमा आउनासाथ ठूला लगानीकर्ताहरुले विरोध गरेको सो व्यवस्थाउपर नेप्सेले पटक–पटक स्पष्टीकरण दिएको पनि थियो। गत भदौ १३ गते मात्रै पनि नेप्सेले भारित औसत मूल्य गणना विधि सही रहेको दाबी गरेको थियो।

२ः४५ देखि ३ बजेसम्म प्रत्येक कम्पनीको कारोबारको मूल्य र कारोबार सेयर संख्याका आधारमा भारित औसत मूल्य निकाल्ने र सो नै अन्तिम मूल्य रहने नेप्सेले उल्लेख गरेको थियो।

नयाँ विधिले अन्तिम समयमा मूल्यमा चलखेल गर्ने लगानीकर्तालाई रोकेर बजारलाई थप सुरक्षित बनाएको समेत नेप्सेको भनाइ थियो।
केही लगानीकर्ताबाट पछिल्लो विधिले बजार घटाएको आरोप नेप्सेले खेप्नुपरेको थियो।

एक ब्रोकर सञ्चालक नेप्सेले पर्याप्त अध्ययन नगरी ल्याउँदा सकारात्मक नीतिले पनि बजारमा नकारात्मक छाप छोडेको बताउँछन्।

उनी भन्छन्, ‘नेप्सेले ल्याएको अन्तिम मूल्य गणाना विधि सही नै थियो तर कार्यान्वयनमा आएपछि सूचक र मूल्य परिवर्तन हुनु हुँदैनथ्यो।’

मूल्य बढेर बन्द भएको बजार केही समयपछि घटेको देखाउँदा त्यसले लगानीकर्तामा अविश्वासको वातावरण सिर्जना गरेको उनको तर्क छ। 

‘प्राविधिक रुपमा पनि तयार भइसकेपछि बल्ल कार्यान्वयन गर्नुपर्थ्यो’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad