कारोबार


एनसेलले प्रहरीमा दियो सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी

एनसेलले प्रहरीमा दियो सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी

२४ गते एनसेल कर्पोरेट बिल्डिङमा आगजनीपछि


नेपालखबर
भदौ ३०, २०८२ सोमबार १६:३५, काठमाडौँ

काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समुहहरूले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गराएको छ।

उजुरीमा यी घटनाहरूसँग संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपुर्ति समेत दिलाई भराई पाऊँ भनी उल्लेख गरिएको छ।

आन्दोलनको नाममा अपराधीहरूले समूह बनाई कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाई एकैठाउँमा राखेर जलाउने डरधाक धम्की दिई उनीहरूलार्ई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको, भवनको अगाडि भागको सिसाहरू फुटाई कार्यालय भित्र प्रवेश गरि ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरू तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक सामानहरू तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा एवं कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ।

एनसेलले आफ्नो कार्यालयको दश वटै तलामा रहेका बहुमुल्य विद्युतीय समानहरू, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायतका सम्पूर्ण कार्यलयको काममा प्रयोग हुने सामानहरू डकैती गरी लगेको, कर्मचारीहरूलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहनाहरू डकैती गरेको, मिटिङ हलमा रहेको टिभी, मोनिटरहरू तथा भवनको दोश्रो तलामा रहेको फिटनेशका सामानहरू बाहिर फालि केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरू डकैती गरी झिकेर लगेको, कम्पनीका आफ्नै र तेस्रो पक्षबाट भाडामा लिएका महंगा मोटरगाडीहरू भेहिकल रुपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालै पालो गरि भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पान्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रुपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरू समेत तोडफोडका साथै आगजनी गरी ठूलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ।

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभि फुटेज पनि अनुसन्धानलाई सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको जनाएको छ । 

तोडफोड, आगजनी, डकैतिबाट कम्पनीको सम्पतिमा भएको वास्तविक क्षति यकिन गर्न मुल्याङ्कनको कार्य भैरहेको हुँदा अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने पनि जानकारी सो उजुरीमा खुलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad