कारोबार


कोभिडपछि तंग्रिन थालेको थियो व्यवसाय, उभिनै नसक्ने गरी थलिए होटल

२५ अर्बको नोक्सानी भएको प्रारम्भिक अनुमान
कोभिडपछि तंग्रिन थालेको थियो व्यवसाय, उभिनै नसक्ने गरी थलिए होटल

कांग्रेस सांसद राजेन्द्र बजगाईंको बालुवाटारमा रहेको बुटिक होटल वर्णवास


निर्दोष घोरसाइने
भदौ २९, २०८२ आइतबार ६:२८, काठमाडौँ

कोभिड–१९ महामारीपछि विस्तारै तंग्रिन थालेको होटल व्यवसाय फेरि थला पर्ने अवस्थामा आइपुगेको छ।

होटल तथा पर्यटन व्यवसायमा जेनजी प्रदर्शनको प्रभाव लामो समयसम्म देखिने निश्चित भएको हो। अर्थात् आगजनीले भग्नावशेषमा परिवर्तित होटलहरू अब वर्षौँसम्म उठ्न नसक्ने अवस्थामा पुगेका हुन्। 

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले २३ गते सुरु गरेको आन्दोलन २४ गते भड्किएको थियो। सो क्रममा भएको तोडफोड र आगजनीको धेरै मार होटल तथा व्यावसायिक भवनलाई पर्‍यो। उच्छृंखल समूहले अन्तर्राष्ट्रिय चेन तथा स्वदेशी लगानीकर्ताका होटलमा तोडफोडबाहेक लुटपाट तथा आगजनी गरे। 

करोडौँ मूल्यका होटलभवन खरानी हुँदा अब फेरि केही वर्ष उठ्नै नसक्ने गरी थला परेको बताउँछन् व्यवसायीहरू। 

होटलमा तोडफोड, लुटपाट र आगजनीले नेपालको समग्र पर्यटन क्षेत्रमै अतुलनीय क्षति पुगेको होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन्। 

चन्द्रागिरि केबलकार स्टेसनमा लगाइएको आगो (एके रविन कर्माचार्य/फेसबु्क)

हानले शुक्रबार नै विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा करिब २ दर्जन होटलहरूमा ठूलो क्षति पुगेको जानकारी दिएको छ। यसबाट समग्रमा करिब २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको हानको प्रारम्भिक अनुमान रहेको शाहले बताए। 

‘तोडफोड, लुटपाट र आगजनीका घटनाले कुनै पनि क्षेत्रलाई राम्रो गर्दैन। यसबाट होटल विमुख हुन सक्दैन। अहिले राजनीति नै तरल छ’, शाहले नेपालखबरसँग भने, ‘कर्फ्यु छ। यसले पर्यटन तथा व्यवसायलाई सिधै असर गर्छ।’

पर्यटकहरू विदा मनाउन, ट्रेकिङ गर्न, हिमाल चढ्न र रमाइलो गर्न नेपाल आउने गरेका छन्। तर यसरी होटल, निजी सम्पत्ति, सार्वजनिक सम्पत्तिमा लुटपाट तथा आगजानी हुँदा उनीहरुले सुरक्षित महशुस गर्न नसक्ने व्यवसायी बताउँछन्। 

जेनजी प्रदर्शनमा भएको ठूलो क्षतिपछि तत्काल पर्यटकहरू नेपालमा आउने वातावरण नभएको उनीहरुको भनाइ छ। यसले अन्तर्राष्ट्रियस्तरमा पनि राम्रो सन्देश गएको छैन भने पर्यटकहरू नेपाल आउन मनोवैज्ञानिक रुपमा समेत तयार नहुने व्यवसायीको बुझाइ छ।

‘पर्यटकीय सिजन सुरु हुने क्रममा छ। तर मुलुकमा अशान्तिको अवस्था कायम रहँदा बुकिङहरू रद्द गर्ने क्रम बढ्छ’, शाहले भने, ‘स्थानीय पनि त्रासकै अवस्थामा छन्। विदेशी पर्यटकहरू यसबाट अछूतो रहने भएनन्।’

त्रासको वातावरणका बीच कसरी पर्यटकलाई सेवा दिन सकिन्छ भन्ने चरणमै व्यवसायीहरू रहेका छन्। यसका लागि पर्यटन बोर्ड र सरोकारवालाबीच छलफल पनि भइरहेको उनको भनाइ छ।

देशको राजनीतिक परिदृश्य नै आमूल परिवर्तन भएको छ। यहाँ देशकै विषय छ। पर्यटन भनेको मुलुकको एक अंग मात्रै हो। 

‘अहिलेको घटनाले लगानीकर्ताको मनोबल गिराएको छ। नयाँ सरकारसँग पुनर्निर्माणको विषय राख्नेछौँ’, शाहले भने।

जेनजीको प्रदर्शनको लक्षित उद्देश्य निजी तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउने नभएको उनको भनाइ छ। कोभिडपछि नेपाल घुम्न आउने पर्यटको संख्या बढ्दो क्रममा थियो। २०८० मा करिब ११ लाख पर्यटक नेपाल भित्रिएकोमा २०८१ मा बढेर साढे ११ लाख पुगेको थियो।

अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाल आउने पर्यटकको संख्या ५० हजारले बढी हो। 

आगलागीमा हिल्टन होटल

यस्तै गत अगस्टमा ८८ हजार ६८० जना पर्यटक नेपाल भित्रिएका थिए। जुन गत वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशत बढी भएको पर्यटन बोर्डको तथ्यांक छ। 

दुई ठूला जनसंख्या भएको मुलुकको बीचमा नेपाल छ। पर्यटक पूर्वाधार र मुलुकमा शान्ति अमनचयन हुँदा भारत र चीनका पर्यटकको आकर्षक गन्तव्यमा नेपाल विकास हुँदै गइरहेको थियो। 

हानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेक महतका अनुसार होटल व्यवसायमा १०–१२ खर्बको लगानी छ।

पछिल्लो समय नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताले होटल क्षेत्रमा लगानी बढाउँदै गएको अवस्था छ। त्यसको उदाहरणको रुपमा विश्वमा हजारौँको संख्यामा चेन भएको हिल्टन होटल पनि नेपाल आएको छ। तर जेनजी प्रदर्शनका क्रममा सामाजिक सञ्जाल तथा केही व्यक्तिले गरेको टीकाटिप्पणीका कारण हिल्टन होटलमा आगजानी गरिएको छ। 

‘अन्तर्राष्ट्रिय चेन होटल आउँदा विश्वमै नेपालको प्रवर्द्धन र प्रचार भएको थियो’, महतले नेपालखबरसँग भने, ‘तर अहिलेको आक्रमणले अन्तर्राष्ट्रियस्तरमा नेपालको छविमा नकारात्मक असर गरेको छ।’ 

सामाजिक सञ्जालमा हिल्टन जलेको भिडियो भाइरल भइरहेको छ। यसले पक्कै पनि विदेशी पर्यटकको मनोविज्ञान नेपालप्रति सकारात्मक बन्न सक्दैन।  

यसले स्वदेशी लगानीकर्तामा पनि होटल क्षेत्रमा लगानी थप गर्ने वातावरण सिर्जना गर्दैन। साथै अन्तर्राष्ट्रिय चेनमा क्षति पुगेकाले नेपालमा आउनुअघि धेरै सोच विचार गरेर लगानी गर्छन्।

बुटिक होटल वर्णवासका सञ्चालक एवं सांसद राजेन्द्र बजगाईं

जहाँ ठूलो क्षति भयो
हानले संकलन गरेको प्रारम्भिक अनुमानअनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ, विराटनगर, धनगढी, महोत्तरी, दाङ (तुल्सीपुर) लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा समेत ठूलो क्षति भएको छ। 

हानका अनुसार सबैभन्दा धेरै ठूलो क्षति हिल्टन होटलमा भएको छ। साढे आठ अर्ब रुपैयाँको लगानीमा गत वर्षदेखि सञ्चालनमा आएको हिल्टन आगोले पूरै जल्दा यसमा गरेको लगानी खरानीमा परिणत भएको छ। 

त्यसैगरी झापाको धुलाबारीस्थित मेची क्राउन होटलमा मेची नगरपालिकाको मेयर गोपाल बुढाथोकी र प्रधानमन्त्री केपी शर्मा ओली लुकेर बसेको आशंकामा तोडफोड तथा लुटपाट भएको छ। 

घटनाको विवरण नेपालखबरलाई बताउँदै होटल मेची क्राउनकी उपप्रबन्धनिर्देशक अश्लेषा कार्कीले भनिन्, ‘मंगलबार करिब २ बजेतिर एक समूहले मन्त्री आएर बसेको भन्दै सीसीटीभीको फुटेज हेर्न खोजेका थिए। फुटेजमा कुनै शंकास्पद व्यक्ति देखिएन। उहाँहरूलाई कर्मचारीहरूले होटलको अवलोकन समेत गराउनुभयो।’ 

मंगलबार भएकाले होटलमा अकुपेन्सी जिरो रहेको र उक्त समूह शान्तिपूर्ण रुपमा फर्किएको उनले बताइन्। 

उक्त समूह होटलबाट बाहिरिएको १०–१५ मिनेटपछि दुई–तीन हजार मानिस एक्कासि आएर मेची नगरका मेयर गोपाल बुढाथोकी र प्रधानमन्त्री केपी शर्मा ओली होटलभित्र लुकेको भन्दै फेरि प्रवेश गरेका थिए। 

उक्त टोलीले होटलमा तोडफोड तथा लुटपाट मच्चाएका हुन्। सो क्रममा क्यासिनो, भिल्ला, रेस्टुरेन्ट, कोठाका ढोका, सिसा फुटाइयो भने रेस्टुरेन्टमा राखिएको रक्सी लुटिएको थियो।

करिब एक घण्टाको वितन्डासँगै कोही नभेटेपछि प्रदर्शनकारी फिर्ता भएको उपप्रबन्धनिर्देशक अश्लेषाको भनाइ छ। 

यस घटनामा होटलमा कति क्षति पुगेको भन्ने पूर्ण विवरण प्राप्त भएको छैन। क्षतिको विवरण संकलन गर्ने क्रममै छ। उनका अनुसार होटलमा करिब दुई करोड रुपैयाँबराबरको क्षति भएको अनुमान छ। 

एमाले नेत्री एवं गायिक कोमल ओलीको दाङको होटल

एमाले नेत्री तथा गायिका कोमल ओलीको तुलसीपुर दाङमा रहेको कोमल होटल एन्ड रिसोर्टमा पनि आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए।

ओलीले बिहीबार सामाजिक सञ्जालमा आगजनी भएको होटल र आफ्नो घरको फोटो राखेकी छिन्। होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेनजी क्रान्ति हो र भन्दै ओलीले प्रश्न समेत गरेकी छिन्।

जेनजी प्रदर्शनको आक्रोश चन्द्रागिरिस्थित केबलकारको तल्लो स्टेसनमा समेत पोखियो। स्टेसनमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरे। यसबाट तल्लो स्टेसनमा ठूलो क्षति पुगेको छ।

प्रदर्शनकारीको तारो हुनेमा रुपन्देहीको बुटवलस्थित मिलन चोकमा रहेको होटेल ड्रिम इन्टरनेशनल र ड्राइभर टोलमा रहेको होटेल टुलिप पनि पर्‍यो। जहाँ प्रदर्शनकारीले लुटपाट गरेर आगो लगाए।

२०८० देखि एक अर्ब ३१ करोड रुपैयाँ लागतमा तयार भएको व्यवसायी तथा कांग्रेसका नेता राजेन्द्र बजगाईंको बालुवाटारस्थित लक्जरियस बुटिक होटल वर्णवास पनि आन्दोलनकारीको आँखामा परेको छ। उक्त होटलमा पनि आगजनी गरिएको थियो।

यस्तै काठमाडौंको बौद्धस्थित हायात होटल, पोखराको बगैँचा रिसोर्ट, सरोवर होटल, ड्रिमल्यान्ड होटललगायतमा पनि तोडफोड गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad