कारोबार


अत्यधिक बल प्रयोग नगर्न सरकारलाई निर्देशन, आयोगले भन्यो– गम्भीर मानवअधिकार उल्लंघन हुने जोखिम छ

अत्यधिक बल प्रयोग नगर्न सरकारलाई निर्देशन, आयोगले भन्यो– गम्भीर मानवअधिकार उल्लंघन हुने जोखिम छ

नेपालखबर
भदौ २३, २०८२ सोमबार १७:४९, काठमाडौँ

सरकारले फेसबुक, ट्वीटर, युट्युुबलगायतका सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले आयोजना गरेको विरोध प्रदर्शनमा गम्भीर मानवअधिकार उल्लंघन हुने जोखिम देखिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। 

सोमबारको विरोध प्रदर्शनको अनुगमन गरेपछि निकालेको विज्ञप्तिमा आयोगले उक्त जोखिमप्रति सचेत हुन भनेको छ। 

‘आज काठमाडौँ लगायत देशका विभिन्न सहरहरुमा आयोजना भएको प्रदर्शन र सो क्रममा हुनसक्ने मानव अधिकार उल्लंघनको जोखिमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई प्रदर्शनको आयोगले अनुगमन टोलीहरु गठन गरी अनुगमन गरेको छ’, आयोगले भनेको छ, ‘अनुगमनका क्रममा हिँडेको आयोगको सवारी साधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको छ।’
काठमाडौँ, पोखरा, बुटवल, चितवन, बिराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका देशका विभिन्न सहरहरुमा जेनजीले प्रदर्शन गरेको हो। 

आयोगका अनुसार काठमाडौँको माइतीघरबाट सुरु भई बबरमहल हुँदै वानेश्वर पुगेका प्रदर्शनकारीहरु संसद् भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको छ। 

‘प्रहरीको गोली लागी दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरु घाइते भएको जानकारी प्राप्त भएको छ। आयोग मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’, आयोगले भनेको छ। 

नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनबमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रुपमा आफ्ना विमति राख्ने अधिकार रहेकाले लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरुको समयमै यथोचित सम्बोधन गर्न भनेको छ। 

‘यस प्रकारका प्रदर्शनहरु तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ’, आयोगले भनेको छ।

यस प्रकारका प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रुपमा समयमै संवोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको निशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारवाही गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad