कारोबार


बालुवाटारमा राष्ट्र बैंकको दुई अर्बको भवन बन्ने, राष्ट्रपति भण्डारीबाट शिलान्यास

बालुवाटारमा राष्ट्र बैंकको दुई अर्बको भवन बन्ने, राष्ट्रपति भण्डारीबाट शिलान्यास

नेपालखबर
असार २३, २०७६ सोमबार ७:०,

राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गरेकी छिन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवर्द्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गरिन्। उक्त भवन वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भएको थियो ।

उनले आम नेपालीमा विश्वास र भरोसा भएको बैंकले आगामी दिनमा जारी गर्ने मौद्रिक नीतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई साकार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। ‘कृषि, उद्योग, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकको छिटो आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘ऐतिहासिक विरासत बोकेको यो बैंक र यसको भवन समग्र बैंकिङ प्रणालीमा अत्याधुनिक र मौलिक प्रतिबिम्ब बन्न सक्नुपर्छ ।’

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुक अहिले आर्थिक क्षेत्रकै पुनर्निर्माणको चरणमा रहेको उल्लेख गर्दै सरकारले आर्थिक वृद्धिका साथै सामाजिक न्यायमा आधारित वितरणलाई पनि उत्तिकै प्राथमिकता दिएको बताए। लगानीको वातावरणका लागि सरकारले काम गरिरहेको भन्दै उनले मुलुकलाई विद्युतीय र बंैकिङ कारोवारयुक्त बनाउन अभियान सञ्चालन गरिएको बताए।

अर्थमन्त्री डा खतिवडाले वित्तीय स्थायित्वको चरणमा मुलुक पुगेकाले मूल्यवृद्धि र व्यापार घाटा घटाउन तथा लगानीको प्रतिफल ल्याउन बैंकले प्रभावकारी भूमिका खेल्न सक्ने बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुनःनिर्माणले पछिल्लो समयमा गति लिएको उल्लेख गर्दै नेपालले पुनःनिर्माणका क्षेत्रमा प्राप्त गरेका उपलब्धि र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विनाशकारी भूकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायत प्रभावित भए पनि भूकम्प गएको दोस्रो दिनदेखि सेवालाई निरन्तरता दिएको जनाए। कुल दुई अर्ब आठ करोडको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ। आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad