ad ad

कारोबार


लकडाउनकै बीच ७० बढी आयोजनाको काम सुरु, गौशाला–चाबहिल सडक कालोपत्रे हुँदै

लकडाउनकै बीच ७० बढी आयोजनाको काम सुरु, गौशाला–चाबहिल सडक कालोपत्रे हुँदै

वसन्त अर्याल
बैशाख ७, २०७७ आइतबार ७:२,

लकडाउनका कारण देशभर ठप्प भएका सडक तथा पुल निर्माणका केही काम पुनः सुरु भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावलाई कोरोना रोकथाम उच्चस्तरीय समितिले स्वीकार गरेसँगै ती आयोजनाको काम सुरु भएको हो।

मन्त्रालयले वर्षात्अघि गर्नुपर्ने कामलाई कोरोना संक्रमणबाट सुरक्षित रही काम गर्ने भन्दै सहमति मागेको थियो। उच्चस्तरीय समितिले गृह मन्त्रालयलाई कामदारको सुरक्षाको व्यवस्था अपनाउँदै अत्यावश्क काम गर्न सहजीकरण गर्न निर्देशन दिएपछि आयोजना नरोकिने भएका छन्।

‘उच्चस्तरीय समितिको निर्णयअनुसार अहिले ७० भन्दा बढी आयोजनामा पुनः काम सुरु भएको छ’, सडक विभागका महानिर्देशक इन्जिनियर केशव कुमार शर्माले नेपालखबरसँग भने, ‘श्रमिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी काम गर्न निर्माण व्यवसायीलाई भनेका छौँ।’

निर्माण व्यवसायीले वर्षात्अघि निर्माण गर्नुपर्ने पुलको काम अत्यावश्यक भएकोले काम जारी राख्नुपर्ने माग गर्दै आएका छन्।

‘लामो समय र धन खर्च गरी खोलामा बाँध बाँधेर पानीको वहाव मोड्ने काम भएको छ’, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘अहिले गर्न नपाए सबै मिहिनेत बाढीले बगाउँछ।’

उनका अनुसार देशभर करिब २ सय पुलको काम अहिले नै गर्नुपर्ने अवस्था छ। आयोजनाहरुको क्याम्पमा लकडाउनकै समयमा पनि कामदारहरु रहेको र स्थानीय क्षेत्रमा समेत निर्माण सामग्री पाइने अवस्थामा काम जारी राख्दा सम्भावित क्षतिबाट बच्न सकिन्छ।

२५ भन्दा बढी कामदार एक ठाउँमा हुन नहुने
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले कामदारको स्वस्थ्यलाई ध्यानमा राखी काम गर्न अनुमति पाएको जानकारी दिए।

‘काम गर्ने अनुमति पाए पनि निर्माण व्यवसायीले पहिलेजस्तो आफूखुसी कामदार प्रयोग गर्न पाउँदैनन्’, उनले भने, ‘सरकारले तोकेको २५ जनाभन्दा कम कामदारमा अहिले काम गर्नुपर्छ।’

सडक विभागका महानिर्देशक शर्माले निर्माण कम्पनीलाई करिब १५ जना कामदारले काम गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको जानकारी दिए।

‘उच्चस्तरीय समितिले २५ भन्दा बढी एकै ठाउँमा जम्मा नहुनु भन्ने निर्णय गरेको छ। त्यसैलाई ध्यानमा राखी कोरोना संक्रमण नफैलियोस् भन्नको लागि १५–१६ जनाको टिमले काम गर्न अनुरोध गरेका छौं’, उनले भने।

निर्माण व्यवसायीले कुन ठाउँमा काम गर्ने हो, सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर अनुमति लिएर काम सुरु गर्नसक्ने शर्माको भनाइ छ। निर्माणका सामग्री ढुवानीको अनुमति, कामदार ओसारपसारको अनुमति जिप्रकाले दिनेछ।

गौशाला चाबहिल सडक पनि बन्दै
यसैबीच, सडक डिभिजन कार्यालय काठमाडौंले लकडाउनका कारण बन्द गरेको कालोपत्रेको काम पुनः सुरु गरेको छ। डिभिजन कार्यालयले शनिबार एयरपोर्ट–गौशाला सडकको ओभरले गरेको हो।

‘लकडाउनका कारण रोकिएको ओभरलेको काम एयरपोर्ट र थापाथलीमा सुरु गरेका छौं’, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख इन्जिनियर कुवेर नेपालीले भने, ‘निर्माण सामग्री पाएसम्म सबै सडक ओभरले गर्छौं।’

गौशाला–चाबहिल सडक खण्डमा पुराना खानेपानीका पाइपलाइनको कारण सडक बन्नसकेको थिएन।

‘खानेपानीको पाइप लिकेजको कारणले त्यहाँ समस्या भएको हो। अहिले खानेपानी मन्त्रालय र भौतिक मन्त्रालयले संयुक्तरुपमा टेन्डर आह्वान गरेको थियो। त्यसअनुसार डिजाइनमा भएको पाइप बिछ्याउने काम सकिएको छ। अब पिचको काम सुरु भयो’, उनले भने।

उनले गौशाला–चाबहिल सडक निर्माणको लागि आवश्यक पर्ने सामग्री लिन काभ्रे तथा दोलालघाट गएको बताए। स्थानीयस्तरमा असहयोगका कारण सामग्री ल्याउन अप्ठ्यारो परिरहेको उनको भनाइ छ।

‘सडक ग्राभेल गर्न आवश्यक ढुंगा, गिट्टी काठमाडौं बाहिरबाट ल्याउनुपर्छ । सामग्री लिन गाडी गएका छन्। सामग्री आएपश्चात् पिचको काम सुरु हुन्छ’, नेपालीले भने, ‘गौशाला– चाबहिल सडक वैशाखभित्र सक्ने लक्ष्य राखेका छौं।’

गौशाला–चाबहिल–चुच्चेपाटी र चाबहिल–गोपीकृष्ण गरी ‘वाई’ आकारको सडक रहेको छ।

सडक डिभिजन कार्यालय काठमाडौंले काठमाडौंका अधिकांश सडकमा रङरोगन गरी आकर्षक बनाइरहेको छ। कार्यालयअन्तर्गत पर्ने करिब १० किमि सडक ओभरले गर्न अझै बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .