कारोबार


भारतीय कूटनीतिज्ञ भन्छन्– आर्थिक प्रगतिका लागि नेपाल–भारत थप सहकार्य आवश्यक

भारतीय कूटनीतिज्ञ भन्छन्– आर्थिक प्रगतिका लागि नेपाल–भारत थप सहकार्य आवश्यक

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार ११:४४, काठमाडौँ

भारतको काठमाडौँस्थित दूतावासका नयाँ उपप्रमुख (डीसीएम) डा राकेश पाण्डेले आर्थिक प्रगतकिो लागि भारत र नेपालबीच औपचारिक तथा अनौपचारिक रूपमा सम्पर्क तथा संलग्नता बढाउन सुझाव दिएका छन्।

बिहीबार काठमाडौँमा नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)ले आयोजना गरेको राउन्ड टेबलमा अन्तर्क्रिया गर्दै डा पाण्डेले लगानीको वातावरण अझ सहज बनाउन क्षेत्रगत रूपमा, सकेसम्म मासिक रूपमा, बैठकहरू आयोजना गर्न पनि सुझाव दिए।

डा पाण्डेले निक्कीलाई भारतका निजी क्षेत्रका संघ संस्थाहरूसँग सहकार्य बढाउन तथा दुवै देशका क्षमताहरू र आवश्यकताहरूको अध्ययन थाल्न पनि आग्रह गरे। 

उनले दुवै देशबीचको परिपूरकतालाई अध्ययन गरी दुबै देशका नेतृत्वसमक्ष प्रस्तुत गर्न आवश्यक रहेको पनि बताए।

भौतिक तथा डिजिटल दुबै प्रकारका सम्पर्क विस्तारले लगानीका लागि पनि अनुकूल वातावरण बनाउन सहयोग पुर्याउने उल्लेख गर्दै उनले परम्परागत क्षेत्रबाहेक नयाँ क्षेत्रमा पनि सहकार्य गर्न पनि सुझाव दिए। 

अन्तर्क्रियामा भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले पनि द्विपक्षीय सम्बन्धबारे बोले।

त्यसैगरी, निक्की अध्यक्ष सुनील केसीले डा पाण्डेको स्वागत गर्दै नेपालमा भारतीय लगानीको चर्चा गरे र भारतको आर्थिक विकासबाट नेपालले लाभ लिनसक्ने बताए। 

‘भारत तीव्र गतिमा आर्थिक रूपमा बढिरहेको छ र नेपालले छिमेकीको विकासबाट फाइदा उठाउन सक्छ’, उनले भने।

त्यस अवसरमा, निक्की र भारतीय दूतावासबीचको ऐतिहासिक सम्बन्धलाई उल्लेख गर्दै निक्कीका उपाध्यक्ष रवि रायवरमले नेपालमा आएका कुल प्रत्यक्ष वैदेशिक लगानी भारतको हिस्सा झण्डै ३५ प्रतिशत रहको जानकारी गराए। 

बैठकमा निक्कीका सदस्यहरूले व्यापार तथा पारवहन (ट्रान्जिट) समस्या, बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी समस्या, र हालसालै भारतीय निजी क्षेत्रको प्रत्यक्ष वैदेशिक लगानीमा आएको कमीबारे चर्चा गरे। 

यद्यपि जलविद्युत क्षेत्रमा सरकार(सरकारबीच लगानी जारी रहेको भएपनि पछिल्ला वर्षहरुमा भारतीय निजी क्षेत्रको लगानीमा कमी आएको लगायत नेपाल भारत व्यापार तथा आर्थिक सम्बन्धसम्बन्धी विविध मुद्दाहरूमा चर्चा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad