राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले आयोजनाहरू विना तयारी कार्यान्वयनमा जाँदा बढी सङ्घर्ष गर्नुपरेको बताएका छन्।
पूर्वयोजनाकार मञ्चद्वारा आज ललितपुरमा आयोजित सार्वजनिक नीति संवाद बजेट कार्यान्वयन र समाधानमा चुनौतीहरू विषयक कार्यक्रममा उपाध्यक्ष अधिकारीले आयोजना प्रविष्ट गर्नु मात्र ठूलो कुरा नभएको भन्नु हुँदै सबै मापदण्ड पुरा नगरेको भए अध्ययनका आयोजनामा र सम्पूर्ण चरण पुरा गरेका आयोजना कार्यान्वयनमा जाने गरी दुई वटा कार्य योजना बनाइएको समेत जानकारी दिए।
उनले कार्यान्वयनमा नजाने आयोजना अध्ययनमा जाने समेत बताए। उपाध्यक्ष अधिकारीले अहिलेको विनियोजन ऐनअनुसार यसै आर्थिक वर्षमा अध्ययनमा गएका आयोजनाहरू सम्पन्न भयो भने कार्यान्वयनको चरणमा जान सक्ने समेत बताए।
उनले जहाँ निजी क्षेत्रले क्रेडिट लिएका छैनन् र बैङ्कमा तरलता जम्मा भएको अवस्थामा सरकारले देश भित्र भएको स्रोत प्रयोग गर्नुपर्ने र यससन्दर्भमा आन्तरिक ऋण बाह्य ऋणसँगै तुलना गर्न नमिल्ने समेत बताए। बजेट कार्यान्वयनको सन्दर्भमा अर्थशात्रीहरुको नजरमा आन्तरिक र बाह्य ऋण एकै नभएको र त्यसलाई फरक ढंगले हेर्नु पर्नेमा जोड दिए। निजी क्षेत्र लगानीको निम्ति उत्साहित नभएको ठाउँमा सरकारले ऋण लिएरै भए पनि काम गर्नु पर्ने धारणा राखे।
आयोगका उपाध्यक्ष अधिकारीले राष्ट्रिय विकास समाधान समितिको बैठकमा पनि सिक्टा, हुलाकी जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूमा समीक्षा गर्दै त्यसलाई प्रोजेक्ट पक्षबाट ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइएको बताउनु हुँदै आन्तरिक क्षमता जति छ त्यसको पनि प्रयोग गर्दै जानुपर्ने बताए।
उनले त्यस्ता आयोजनाहरूको ऋणपत्र जारी गरेर दुई वर्ष भित्रमा पुरा गरेर प्रतिफल दिने हिसाबमा काम गर्न खोजिरहेको समेत बताए।
उपाध्यक्ष अधिकारीले अब राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूका लागि आयोगमा आउन नपर्ने सम्बन्धित मन्त्रालयले प्राथमिकता प्राप्त आयोजना हो भनेर राजपत्रमा प्रकाशित गरेपछि हुने बताउँदै यसलाई आयोगले सहजीकरण गरेको बताए।
पालिकाको एउटा सानो भवन बनाउन पर्यो भने पनि योजना आयोग धाउन पर्ने अवस्था रहेको र स्रोत सुनिश्चितता गर्नुपर्ने अवस्था रहेको बताउँदै त्यसलाई पुनः परिभाषित गरी तीनवटै सरकार बराबरी भएको र जुन सरकारले स्रोत सुनिश्चितता गर्छ त्यसलाई मान्यता दिने भनेपछि समाधान भएको उपाध्यक्ष अधिकारीले बताए।
उनले सन् २०२६ मा हुने विकासशील मुलुकमा स्तरोन्नतिको निम्ति पनि सम्पूर्ण मापदण्ड पूरा गरेको बताउँदै त्यसको निम्ति अब काहीँ पनि रोकिन नहुने धारणा राखे।
उनले तीनवटै मापदण्ड पूरा भए पनि हामी पास भइयो भनेर मात्र बस्न नहुने भन्दै हामी उत्कृष्ट बन्नैपर्ने समेत बताए। त्यसका लागि निजी क्षेत्रसँग पनि मिलेर काम गरिरेको बताए।
उपाध्यक्ष अधिकारीले छलफल, बहसका माध्यमबाट फरक पद्धति र ढङ्गबाट आफूहरूले काम गरिरहेका कारण पछिल्लो समयमा यसले गरेका गतिविधिका कारण संसद् देखि अन्य क्षेत्रबाट योजना आयोगलाई बलियो बनाउनुपर्ने धारणा उठिरहेको उल्लेख गरे।
Shares

प्रतिक्रिया