नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर– सीसीएमसीसँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिएको टेलिकमले जनाएको छ । त्यसपछि क्रमशः प्राथमिकताअनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्ने टेलिकमले जनाएको छ । सो सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्रदेशका सबै जिल्लाहरुमा रहेका कम्पनीका मोबाइल प्रयोगकर्ताहरुलाई एसएमएसमार्फत जानकारी गराउने छ ।
एसएमएस प्राप्त भए पश्चात कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले यूएसएसडी मार्फत स्टार१४१९ह्याक्स डायल गरी सोधिएका प्रश्नहरुको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्नेछन् ।
सो सर्वेक्षण देवनागरी लिपिमा उपलब्ध हुनेछ र हरेक प्रश्नको उत्तर यदि ‘हो’ वा ‘छ’ भएमा १ र ‘होइन’ वा ‘छैन’ भएमा २ थिचेर पठाउनु पर्नेछ ।
उक्त सर्वेक्षणबाट प्राप्त तथ्यांक सीसीएमसीलाई सिधै प्राप्त हुनेगरी कम्पनीले आवश्यक व्यवस्था समेत गरेको छ ।
यसरी सर्वेक्षणबाट प्राप्त हुने तथ्यांकको विश्लेषणबाट सीसीएमसीले कोरोना संक्रमणको अवस्थाको बारेमा महत्वपूर्ण जानकारी हासिल गर्नसक्ने र संक्रमण नियन्त्रण गर्न थप सहयोग पु¥याउन सक्ने विश्वास गरिएको छ ।
यसैगरी हाल मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा अत्यावश्यक सेवा तथा वस्तु परिचालन गर्न तथा आवतजावत गर्नको लागि नेपाल सरकार, गृह मन्त्रालयले प्रदान गर्ने विद्युतीय पाससम्बन्धी जानकारी उपलब्ध गराउनको लागि नेपाल टेलिकमले एसएमएस सर्ट कोड सेवा उपलब्ध गराएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयको इ–पाससम्बन्धी वेब पोर्टल इ–पास डट एमओएचए डट जिओभी डट एनपीमार्फत आवेदन प्राप्त भएपछि इ–पास उपलब्ध गराउने सम्बन्धी जानकारी नेपाल टेलिकमको मोबाइल भएका सम्बन्धित निवेदकहरुलाई सर्ट कोड ‘१११२’ मार्फत पठाउन सकिनेछ ।
उक्त कोड इ–पास उपलब्ध गराउने प्रयोजनका लागि सञ्चालन गरिएको हो । लकडाउन अवधिभरको लागि उक्त सर्ट कोड मार्फत पठाइने एसएमएस कम्पनीले निःशुल्क गरेको छ भने सो सर्ट कोड सञ्चालनको लागि नेपाल टेलिकमले एसएमपीपी एकाउन्ट तथा भीपीएन कनेक्सन समेत निःशुल्क उपलब्ध गराएको छ ।
साथै कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले नेपाल सरकारको इ–पाससम्बन्धी वेब पोर्टल प्रयोग गर्दा खपत हुने मोबाइल डाटा समेत लकडाउन अवधिभरको लागि कम्पनीले निःशुल्क गरेको जनाएको छ ।

प्रतिक्रिया