संस्थापक सेयर र साधारण सेयरमा दुईवटा फरक–फरक चिनारी नम्बर दिने सीडीएससीको निर्णयविरुद्ध व्यवसायीहरु विरोधमा उत्रिएका छन्।
बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले कार्यान्वयन गर्दै आएको दुईवटा आइजिन लिने व्यवस्था अन्य कम्पनीहरुमा पनि लागू गर्ने निर्णयपछि यसविरुद्ध आवाज उठेको हो।
सेयर निष्काशन गर्दा संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीलाई सीडीएससीले १२ वटा अंकको आइजिन (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) नम्बर उपलब्ध गराउँछ। धितोपत्रको राफसाफ गर्ने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उक्त नम्बर प्रदान गरेपछि सोही नम्बरमा आधारित रहेर नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सेयर सूचीकृत गरेर दोस्रो बजारमा कारोबार गराउँछ।
बैंक वित्त तथा बिमा कम्पनीहरुको संस्थापक र सर्वसाधारण सेयरमा छुट्टाछुटटै नम्बर प्रदान गर्दै आएको थियो। तर गएको केही महिनायता सीडीएस एन्ड क्लियरिङले बैंक, वित्त तथा बिमाबाहेकका कम्पनीहरुमा पनि दुईवटा नम्बर हुनुपर्ने व्यवस्था गर्न लागेसँगै व्यवसायी लगानीकर्ताहरुलाई आन्दोलित बनाएको हो।
व्यवसायीहरुको संगठन चेम्बर अफ कमर्सले संस्थापक सेयरलाई सर्वसाधारण समूहमा परिणत हुनबाट रोक्ने कार्य भएको भन्दै कार्यान्वयन नगर्न दबाब दिँदै आएको छ।
फरक आइजिन नम्बरले लकिङ पिरियडपछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने चेम्बरले उल्लेख गरेको छ।
‘यो निर्देशिका लगानीकर्ताको हितविरुद्ध जान्छ र नेपालको परिपक्व नबनेको पुँजी बजारमा यस्तो व्यवस्थाले लगानीको वातावरणमा अन्योल र असुरक्षा थप्नेछ’, विज्ञप्तिमा उल्लेख छ।
तर विज्ञप्तिमा लगानीकर्ताको हितविपरीत कसरी हुन्छ भन्नेबारे खुलाइएको छैन।
सीडीएस एन्ड क्लियरिङले संस्थापक सेयरधनीहरुले नीतिगत लुपहोल खोजेर लकइन पिरियडभित्रै सेयर बिक्री गरेर निस्किने र त्यसले सर्वसाधारण लगानीकर्ताको जोखिम बढाउने भन्दै उक्त प्रस्ताव ल्याएको बताउँदै आएको छ।
तर लकइन पिरियडपछि स्वतः सर्वसाधारणमा परिणत हुने व्यवस्था हुँदाहुँदै दुईवटा आइजिन नम्बर प्रदान गरेर संस्थापक सेयरधनीलाई थप कस्न खोजेको आरोप व्यवसायीहरुले लगाउँदै आएका छन्।
संस्थापक सेयरधनीहरुले लकइन पिरियडभित्रै बेच्ने तथा लकइन सकिनै लाग्दा सेयरको मूल्य बढाएर बेच्ने प्रवृत्ति बढेको थियो। त्यसैलाई रोक्ने भन्दै सीडीएससीले ल्याउनलागेको नयाँ व्यवस्था ल्याउन लागेको हो।
जलविद्युत् व्यवसायी तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष मोहन बहादुर डाँगी केहीले लकइन पिरियडभित्रै सेयर बेचेर निस्केको भनेर सबैलाई कस्न नहुने बताउँछन्।
‘सयवटामा १० वटाले फट्याइँ गर्यो भनेर सबैलाई अप्ठ्यारो पार्ने नीति त बनाउनु भएन नि!’, उनले भने, ‘प्रस्तवित व्यवस्थाले संस्थापक लगानीकर्तालाई अप्ठ्यारोमा पार्नेछ।’
लगानीकर्ताको जोखिमलाई न्यूनीकरण गर्न भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२ को प्रस्ताव स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाएको छ।
उक्त निर्देशिकाले अब बैंक तथा वित्तीय र बिमा कम्पनीबाहेकको सेयरमा पनि दुई फरक आइजिन नम्बर दिने व्यवस्था गरेको छ।
उक्त निर्देशिकाले जलविद्युतसहितका अन्य व्यवसायहरुमा लगानीकर्तालाई निरुत्साहित गर्न खोजेको भन्दै संस्थापक सेयरधनी रहेका व्यवसायीहरुले विरोध जनाएका हुन्। यता सीडीएस एन्ड क्लियरिङले भने दोस्रो बजारमा लगानीकर्ताको जोखिम न्यूनीकरण गर्नका लागि उक्त प्रस्ताव ल्याएको बताउँदै आएको छ। सीडीएस एन्ड क्लियरिङका एक अधिकारी बाहिर आएजस्तो व्यवसायीलाई कस्ने नीति नभएर धितोपत्र बजारलाई व्यवस्थित गर्ने गरी ल्याउन लागिएको बताउँछन्।
उनले सर्वसाधारण लगानीकर्ता केही बाठा संस्थापक सेयरधनीहरुको कारण जोखिममा नपरून् भन्ने उद्देश्यले कार्यविधि ल्याउन लागिए पनि संस्थापक सबै सेयरधनी विरोधी नीति आउन लागेको भनेर भ्रम फैलाइएको बताए।
उनले भने, ‘धितोपत्र बजारमा लगानीकर्ताको जोखिम न्यूनीकरणका लागि ल्याउन लागिएको हो। यो व्यवस्था नयाँ होइन, यसअगाडि नै बैंक, वित्त तथा बिमा क्षेत्रमा यो व्यवस्था कार्यान्वयनमै थियो।’
प्रस्तावित निर्देशिका हाल धितोपत्र बोर्डमा छ। बोर्डले स्वीकृति दिएको खण्डमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडले कार्यान्वयनमा ल्याउनेछ। तर जलविद्युत् व्यवसायीसँगै अन्य व्यवसायीहरुले संस्थापक सेयरधनीलाई निरुत्साहन गर्ने गरी निर्देशिका प्रस्ताव गरिएको भन्दै तत्काल सच्याउन दबाब दिँदै आएका छन्।
Shares

प्रतिक्रिया