सोमबार खाना खुवाउने काम सकिनै लागेको थियो। दिउँसो १ बजेतिर भाँडाकुँडा थन्क्याउने तयारी भइरहँदा ६ जनाको समूह आइपुग्यो।
‘उनीहरुलाई पनि खाना खुवाऊ त’, सेतीओपी युवा क्लबका अध्यक्ष रवि रिमालले अह्राइहाले।
क्लबका स्वयंसेवक तत्कालै खाना बन्दोबस्तीमा जुटे। उनीहरु काठमाडौंमा काम गर्दै आएका मजदुर थिए। ललितपुरको च्यासलमा बस्दै आएका उनीहरु नियमित रुपमा खाना खान आउँछन्।
यी हरफ पढ्दै गर्दा मानसपटलमा आउने दृश्य थियो – कोटेश्वरस्थित सेतीओपी युवा क्लबको।
यो क्लबले यसरी मेसमा खाना खुवाउन लागेको सोमबार छैठौं दिन पुगेको छ।
‘आज (सोमबार) १ सय ७० जनाले खाना खानुभएको छ’, मेसमै भेटिएका क्लब अध्यक्ष रिमालले भने, ‘खाना खान जो आउँछ, सबैलाई खुवाइरहेका छौँ।’
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि देखिनथालेपछि गत चैत ११ देखि लकडाउन सुरु भएको थियो। लकडाउन सुरु भएको तीन हप्ता पुग्दै गर्दा दैनिक मजदुरी गर्नेहरुलाई के खाने भन्ने समस्या हुन थालेको छ।
यही समस्यालाई सम्बोधन गर्न क्लबले मेस सञ्चालन गरिरहेको छ। हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म मेस सञ्चालन हुन्छ।
छैठौं दिन मात्रै खाना खान आउनेको संख्या १ सय ७० रहेको छ। कोटेश्वर वरिपरिका मजदुर मात्र होइन, जडीबुटी, च्यासल, तीनकुनेसम्मका मजदुरहरु खाना खान आउँछन्।
खाना खुवाउने काममा युवा क्लबका दुई दर्जन स्वयंसेवकहरु खटिएका छन्। उनीहरुले बिहान ७ बजेदेखि तरकारी काट्न, दाल तरकारी पकाउने, अचार बनाउने, भात पकाउने काममा लाग्छन्।
१० बज्दा नबज्दै खाना खानेहरु आउन थाल्छन्। स्वयंसेवकहरुले सडकमै केही टेबल र कुर्सी राख्छन्। दूरी कायम गराएर खाना खुवाउन सुरु हुन्छ।
यस कामलाई प्रहरीले पनि सहयोग गरेको छ।
‘खाना खान न्यून, मध्यम र अति विपन्न वर्गका मजदुरहरु आउनुहुन्छ,’ रिमालले नेपालखबरसँग भने, ‘भोकै छु भनेपछि को हो र कहाँबाट आएको भनेर केही सोधखोज गर्दैनौँ।’
खाना खानेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। पहिलो दिन खाना खानेको संख्या ६२ थियो।
‘सुरुका दिनमा हामीले खान खुवाउने व्यवस्था मिलाएका छौँ भनेर मजदुर भएको ठाउँमा गएर जानकारी पनि गरायौंं’, रिमालले भने, ‘यसरी जानकारी गराएपछि आवश्यक भएकाहरु आउन थाल्नुभयो।’
त्यसपछि क्रमशः खान खाने आउनेको संख्या बढ्दै गएको छ। दोस्रो दिन १०८ जनाले खाना खाएकोमा तेस्रो दिन १४८ पुगेको रिमालले बताए।
एवं रीतले चौथो दिन २०८, पाँचौँ दिन १७८ र छैठौं दिन सोमबार १७० जना मजदुरले खाना खाएका छन्।
रिमालका अनुसार उनीहरुलाई खाना खुवाउँदा झण्डै डेढ बोरा चामल खर्च हुन्छ। सबै खर्च जोड्दा दैनिक खर्च दश हजार पुग्ने उनले बताए।
खर्च धान्न सक्ने बेलासम्म क्लबले नै खुवाउने भनेर मेस सुरु गरे उनीहरुले।
‘अहिले वरिपरिबाट पनि केही सहयोग आउन थालेको छ। केहीले एक दिनको खर्च म गर्छु भन्दै आउनुभएको छ, कोही दाल, चामल, आलु बोकेर आउनुहुन्छ’, रिमालले भने।
लकडाउन लम्बिँदै जाँदा काठमाडौंजस्ता सहरमा बस्ने मजदुरलाई समस्या थपिँदै गएको छ। दैनिक ज्यालादारी गर्नेलाई खानकै मुख्य समस्या छ।
चामलको राहत दिनुभन्दा मेस सञ्चालन गरेर भए पनि न्यून वर्गका मजदुरलाई खाना खुवाउनुपर्ने रिमालको भनाइ छ।
‘राहत वितरण न्यून वर्गका मजदुरसम्म पुगेकै छैन’, रिमालले भने, ‘एक छाक खान नपाउने मजदुर धेरै छन् काठमाडौंमा।’
२०५० सालमा स्थापना भएको क्लबले थुप्रै सामाजिक काम गर्दै आएको छ।
भूकम्प गएका बेलामा पनि विभिन्न राहत वितरण गरेको क्लबलाई यसपालि भने धेरै चुनौती भएको रिमालले बताए।
‘भूकम्पको बेलामा सामूहिक बस्न मिल्थ्यो’, रिमाल भन्छन्, ‘अहिले ठीक विपरीत दूरी कायम गर्नुपरेको छ।’
काठमाडौंको सनसिटी अपार्टमेन्टमै कोरोना भाइरस पोजेटिभ देखिएपछि मेस सञ्चालनमा चुनौती थपिएको उनले बताए।
‘कोरोना भाइरसको संक्रमण नजिकै आएको छ’, रिमालले भने, ‘समूहमा मेस सञ्चालन गर्दा के होला भन्ने समस्या छ।’
यसलाई थप व्यवस्थित गर्दै खानाको प्याकिङ गरेर वितरण गर्नेबारे कुरा भएको उनले जानकारी दिए। मेस सञ्चालनमा समस्या भएमा प्याकिङ गरेर खाना दिने व्यवस्था मिलाउने उनको भनाइ छ।
क्लबले लकडाउन सुरु भएको दुई हप्तासम्म अन्य कार्यक्रम गरेको थियो। सातौं दिनमा रक्तदान कार्यक्रम गरेको थियो। लकडाउनमा अस्पतालमा रगत कम भएको खबर आएपछि घुम्ती रक्तदान कार्यक्रम गरेको उनले बताए।
त्यस्तै, केही सहयोगी हातहरुबाट आएको राहत वितरणको काम पनि उनीहरुले गरेका थिए।
प्रतिक्रिया