नेपालको निजीक्षेत्रकाे दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकर बापतको सबै रकम चुक्ता गरेको छ।
एनसेलले आइतबार १४ अर्ब ३३ करोड रुपैयाँ बुझाएसँगै उसले सरकारलाई लाभकर बापत तिर्नुपर्ने सबै रकम चुक्ता गरेको हो।
अन्तर्राष्ट्रिय कम्पनी टेलियाले २०७२ सालमा एनसेलमा रहेको ८० प्रतिशत स्वामित्व मलेसियाली कम्पनी आजियाटालाई बिक्रि गरेपछि तिर्नुपर्ने लाभकर बल्ल चुक्ता भएकाे हो।
सर्वाेच्च अदालतले बुझाउनु पर्ने भनी तोकेको र जरिवाना सहितको रकम अब पुरै चुक्ता भएको ठूला कारदाता कार्यालयले जानकारी दिएको छ।
ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले नेपालखबरसँग कुरा गर्दै सर्वाेच्चकाे फैसलापछि २४ अर्ब ४३ करोड रुपैंया तिरेको जानकारी दिए।
सर्वाेच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ निर्धारण गरे पनि जरिवानासहित सो रकम तिरेको हो।
लाभकर विवाद
लाभकर वापतको रकम बिक्रि गर्ने कम्पनीले तिर्नुपर्ने एनसेलले दाबी गर्दै आएको थियो।
तर नेपाल सरकारले किन्ने कम्पनी आजियटाले नै तिर्नुपर्ने अडान राखेपछि कर विवाद ०७२ सालदेखि नै चल्दै आएको थियो।
विवाद आएपछि सरकारले ३५ अर्ब ९१ करोड ३४ लाख रुपैंया लाभकर माग दावी गरेको थियो।
तर एनसेलले अग्रिम रकम भन्दै ९ अर्ब ९६ करोड भने भुक्तानी गरेको थियो।
पछि पनि सो विषय निरन्तर उठेपछि ११ अर्ब ५७ करोड रुपैंया बुझाएको थियो।
त्यसपछि पनि उसले बुझाउनुपर्ने रकमको विवाद अदालत पुगेको थियो।
सर्वोच्च अदालतलले सरकारलाई पहिले तिरेको रकमलाई कट्टा गरि बाँकि करको जरिवाना समेत जोडेर असुली गर्न भनेको थियो।
सो अनुसार ठूला करदाता कार्यालयले २२ अर्ब ४४ करोड रुपैंया माग गरेको थियो। सोहीअनुसार जरिवाना रकम समेत गरेर एनसेलले पूँजीगत लाभकर बापत सरकारलाई ४४ अर्ब ९८ करोड रुपैंया बुझाएको हो।
यो अवधीमा एनसेलले सरकारलाई जरिवानास्वरुप मात्रै ९ अर्ब रुपैंया दाखिला गरेको छ। सर्बोच्चले फैसला गरेको भदौदेखि यता ८८ करोड रुपैंया जरिवाना भुक्तानी गरेको छ।

प्रतिक्रिया