नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएका र ५० करोडको चुक्तापुँजी भएका इन्भेष्टमेन्ट कम्पनीहरुले आईपीओ निष्काशन गर्न पाउने भएका छन्।
आइतबार बोर्डले लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा भएको नीतिगत व्यवस्थालाई परिमार्जन गरेको हो।
यसअघि यातायात, सञ्चार र ऊर्जामा मात्र लगानी गर्न पाउने व्यवस्था थियो। बोर्डले अहिले भने लगानी क्षेत्र थप गरेको छ।
यसअनुसार संगठित संस्था र लगानी कम्पनीले आईपीओ निष्काशन गर्दा कम्तीमा विगत तीन वर्ष सञ्चालनमा रही पछिल्लो दुई आर्थिक वर्षमा मुनाफा गरेको हुनुपर्ने, कम्पनीको प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा बढी भएको हुनुपर्ने, चुक्तापुँजी कम्तीमा ५० करोड भएको हुनुपर्ने व्यवस्था गरेको छ।
यसैगरी आईपीओ निष्काशन गर्ने लगानी कम्पनीहरुले बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको बुक बिल्डिङ विधिमार्फत हुने प्रारम्भिक सार्वजनिक निष्काशनमा मात्र योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने समेत व्यवस्था गरिएको छ।
यस्ता संस्थाहरु ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको संगठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने, न्यूनतमभन्दा कम्तीमा एक स्तर माथिको क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
बोर्डले नेपाल सरकार संस्थापक भई स्थापना भएको संगठित संस्था वा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएको संगठित संस्था लगानी कम्पनी हुनुपर्ने व्यवस्था गर्दै वैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनको प्रक्रिया पूरा गरेको हुनुपर्ने समेत व्यवस्था गरेको हो।
उक्त प्रक्रिया पूरा गरेका कम्पनीहरुले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति पाउने उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया