ad ad

कारोबार


भवानी राणालाई प्रश्न : लकडाउन कसरी बिताइरहनुभएको छ?

भवानी राणालाई प्रश्न : लकडाउन कसरी बिताइरहनुभएको छ?

सन्तोष न्यौपाने
चैत २६, २०७६ बुधबार ११:३,

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले नेपाललाई पनि छोडेन। भाइरस फैलिन सक्ने त्रासका बीच सरकारले लकडाउनको अवधि तीन हप्ता पुर्‍याएको छ।

यो बेला महत्वपूर्ण भूमिका हुन्छ सरकारसँगै निजी क्षेत्रको पनि। यसै सन्दर्भमा मुलुकको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणासँग नेपालखबरले गरेको छोटो फोनवार्ता :

लकडाउन भएको दुई हप्ताभन्दा धेरै भइसक्यो, दिनहरु कसरी बिताइरहनुभएको छ?
कहिलेकाहीँ बाहिर पनि जानुपर्छ। सरकारसँगका विभिन्न बैठकमा सहभागी भइरहेकी छु। बाहिर धेरै हिँड्न नपाए पनि कामहरु भइरहेका छन्। फोनबाट पनि काम भइरहेका छन्। सरकारबाट फोन आउँछ। के गर्ने, कसरी अगाडि जाने भन्नेबारे छलफल हुन्छ। कोभिड–१९ संकटमा गर्नुपर्ने विभिन्न काममा सहभागी भइरहेकी छु।

महासंघका कतिपय कर्मचारी अफिसमै काममा हुनुहुन्छ। उहाँहरुसँग पनि सम्पर्कमा रहेर काम गर्नुपर्छ। प्रेस विज्ञप्ति निकालिरहनुपर्छ। त्यसबाहेकको समय परिवार बिताइरहेकी छु। घरमै हुँदा फिल्म हेर्ने, पुल टेबल खेल्ने, क्यारम खेल्ने, चेस खेल्ने, क्रिकेट खेल्ने गरेर समय बितिरहेको छ।

लकडाउन भएको तेस्रो हप्तामा प्रवेश गरेको छ। अझै पनि लम्बिने हो कि भन्ने पनि छ। यसले मुलुकको औद्योगिक क्षेत्रलाई कस्तो असर गर्ला?
कोरोना भाइरसको संक्रमण विश्वमै छ। नेपालमा मात्र नभएर विश्व नै लकडाउन भएको अवस्था छ। यसले विश्वकैै अर्थतन्त्रलाई ठूलो असर गरेको छ। नेपाल त झन् सानो देश। त्यसको चपेटामा नेपाल पनि पर्ने देखिन्छ। लकडाउन विश्वव्यापी भएकाले पनि यसको असर दीर्घकालीन हुने देखिन्छ।

खासगरी पर्यटन क्षेत्रमा ठूलो असर छ। यो क्षेत्र तंग्रिन दुई वर्षसम्म लाग्न सक्छ। अरु उद्योगमा पनि असर गरेको छ। सानो, मझौलादेखि ठूला उद्योगमा प्रभाव परेको छ। अहिले नै लकडाउनको प्रभाव कस्तो छ भनेर भन्न सकिँदैन। कति लम्बिने हो भनेर पनि भन्न सकिँदैन। लकडाउन नै कति लम्बिन्छ भन्ने नै थाहा छैन।

यसको असर कति पर्ला, कुन क्षेत्रमा कस्तो प्रभाव हुनसक्छ भनेर हामीले अध्ययन गर्दै छौँ। अध्ययनको लागि विज्ञ टोली नियुक्त गरिसकेका छौँ। विश्वमै बेराजगारी बढ्ने हो कि भन्ने आशंका उत्पन्न भएका छन्। त्यस्तो भएमा नेपालको रेमिट्यान्समा पनि प्रभाव पर्न सक्छ। नेपालमा पनि रोजगारी असर गर्छ। दैनिक काम गर्ने, निर्माण क्षेत्रमा काम गर्नेहरुलाई रोजगारी गुम्ने असर हुनसक्छ।

सरकारले कोरोना संकटलाई सम्बोधन गर्दै राहत प्याकेज घोषणा गरेको छ। यसले निजी क्षेत्रको समस्यालाई समाधान गर्न सक्ला?
राष्ट्र बैंकले दिएको ब्याजको सुविधाले उद्योगी व्यवसायीलाई राम्रो सहयोग गर्छ। ब्याज र करलाई असार मसान्तसम्म तिर्न सकिने भनेको छ। यो राम्रो कुरा हो। सरकारले घोषणा गरेको राहत प्याकेज सकारात्मक नै छ। यसले केही न केही सहयोग गर्छ। क्षेत्रगतरुपमा हेर्ने हो भने पर्यटनमा ठूलो घाटा छ। तिनीहरुको लागि छुट्टै प्याकेज ल्याउनुपर्छ। यो विषयमा नेपाल सरकारलाई थप सुझाव पनि दिँदै छौँ।

कोरोना संकटमा सहयोगको रुपमा महासंघले के–के काम गरिरहेको छ?
सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० लाख रुपैयाँ महासंघले हस्तान्तरण गरेको छ। त्यसबाहेक एक करोड रुपैयाँबराबरको स्वास्थ्य तथा खाद्यान्न वितरण गरिहेका छौं। स्थानीय सरकार, वडासँग मिलेर मजदुर र आवश्यक परेका व्यक्तिहरुका लागि राहत वितरण गरिरहेका छौं।

त्यस्तै, मास्क, पीपीई आवश्यक ठाउँमा वितरण गरिरहेका छौं। स्थानीयस्तरमै हामी सहयोग गरिरहेका छौँ। क्वारेन्टिनमा बसेकाहरुलाई राहत, स्वास्थ्य सामग्री वितरण गरिरहेका छौँ। नेपाल सरकारसँग सहकार्य गरेर काम गरिरहेका छौँ। आपूर्ति व्यवस्था चुस्त बनाउनुपर्छ भन्नेमा हाम्रो ध्यान गएको छ। खाद्यान्नलगायतका अत्यावश्यक सामग्री अभाव नहोस् भनेर सरकारसँग सहकार्य गरेर काम गरिरहेका छौं।

चैतमा हुने भनिएको महासंघको चुनाव जेठमा सरिसकेको छ। लकडाउनमा चुनावको चर्चा कस्तो छ?
हामी अहिले पूर्ण रुपमा कोरोना संक्रमणले निम्त्याएको अप्ठ्यारोलाई सम्बोधन गर्नेतिरै लागिरहेका छौं। चुनाव भनेको जहिले पनि गर्न सकिन्छ। सबैभन्दा पहिला देशमा आइलागेको अप्ठ्यारो समाधान हुनुपर्छ।

अहिलेको सबैभन्दा ठूलो कुरा कोरोना भाइरस संक्रमण बढ्न नदिने, नियन्त्रणमा लिने र आपूर्ति व्यवस्था सहज गर्ने हो। हाम्रो ध्यान यसैमा केन्द्रित छ।

यसभन्दा अघि हामीले जेठमा गर्ने भनेर भनेका छौँ तर अबको अवस्था कस्तो हुन्छ त्यसमा भर पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .