कारोबार


अढाई अर्ब लगानीमा ठमेलमा लग्जरी हेरिटेज होटल सञ्चालन

अढाई अर्ब लगानीमा ठमेलमा लग्जरी हेरिटेज होटल सञ्चालन

नेपालखबर
जेठ १, २०८२ बिहिबार १०:३१, काठमाडौँ

नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ। जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्वामित्वमा होटल सञ्चालनमा ल्याइएको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक सिम्खडाले नेपाली पर्यटनमा भविष्य देखेर नै आफ्नै देशमा लगानी गरेको बताए। ‘म जापानमा बस्दा महत्त्वपूर्ण कुरा सिक्ने मौका पाएँ, उनीहरूलाई आफ्नो कला र संस्कृतिलाई लामो समयदेखि जोगाइराखेका छन्। मलाई पनि आफ्नै देशमा आएर केही गर्नुपर्छ भन्ने सोचले होटल निर्माण सुरु गरेँ।’

सिम्खडाको बुझाइअनुसार ठमेल विदेशमा नेपाल चिनाउने माध्यम हो। नेपाल आउने सबैजसो पर्यटक ठमेल नपुगी फर्कँदैनन्। नेपालबाट स्वदेश फर्कँदै गर्दा उनीहरूले नेपाली कला र संस्कृतिको अनुपम अनुभव लिएर फर्किन पाउन् भन्ने उद्देश्यले आफ्नै सोचमा होटल निर्माण गरेको उनको भनाइ छ। होटल फरक र मौलिक बनाउने प्रयास गरिएको छ।

मूल ढोकाबाट भित्र पस्दै गर्दा नेपाली शिल्पकलाले स्वागत गर्छ। परम्परागत पोसाकमा सजिएका कर्मचारीले आतिथ्यता प्रदर्शन गर्छन्। पहिलो तलादेखि नै नेवारी शिल्पकलाको बेजोड प्रस्तुति यहाँ देख्न सकिन्छ। होटलका थाम, कुर्सी, कुसनमा नेपालीपन झल्काउने प्रयास गरिएको छ। ठमेल नरसिंह चोकमा छ यो होटल।

होटलको लबीमा मयूर झ्याल र देशमरु झ्यालको मिश्रणसहितको उत्कृष्ट काष्ठकला देख्न सकिन्छ । होटलका रूपमा देखिने टुँडाल, फाल्चा, आँखीझ्याललगायत नेपाली कलाकृतिले जोकोहीलाई मोहित बनाउँछ । पाहुनालाई स्वागत गर्नका लागि पनि नेपाली परम्परालाई अँगालिएको सिम्खडाले बताए। 

उनका अनुसार करिब २० आना जग्गामा निर्माण भएको होटलमा जग्गासहित रु. दुई अर्ब ५० करोड लगानी भइसकेको छ। 

‘विदेशका चिल्ला होटल हेर्न त सबै आउँछन् तर नेपाली कला र संस्कृति झल्कने होटल निर्माण गर्न सकियो भने यसले हाम्रो संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्छ भन्ने विश्वास छ’, सिम्खडाले भने। 

७२ वटा रुम भएको होटलमा ४१ वटा डिलक्स रुम छन्, जसलाई आधुनिक र परम्परागत गरी दुई शैलीमा डिजाइन गरिएको छ। परम्परागत शैलीमा डिजाइन गरिएका रुममा नेपाली कला बढी देख्न सकिन्छ।

होटलका हेरिटेज रुमहरूमा भक्तपुरमा निर्माण गरिएको तेलिया इँटा बिछ्याइएको छ । परम्परागत शैलीको कोठामा ऐनाको फ्रेमदेखि दराजको ढोकामा काष्ठकला देख्न पाइन्छ। 

होटलका रुमहरू स्वयम्भू, धरहरा र सिटी भ्यू हुने गरी तयार गरिएको छ। दुई सभा हल रहेको होटलको १२औँ तलामा ‘सोरा’ नामक अल डे डाइनिङ रेष्टुरेन्ट छ। त्यसैको छेउमा ‘स्काई लाइन सोरा’ पनि छ। सोरा स्काई लाइनको सिसामा स्काई वाकको मजा लिँदै डिनर गर्न सकिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad