राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमा पहिलो ध्यान नेपाली नागरिकको सुरक्षित हवाइ यात्राबारे हुनुपर्ने बताएकी छिन्।
संसदमा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले युरोपेली युनियनको कालोसूचीलाई पहिलो ध्यान दिने गरेको भन्दै आपत्ति जनाएकी हुन्।
प्राधिकरणलाई सेवाप्रदायक र नियामकमा छुट्याउने विषय सार्वजनिक वृत्तमा आउनेबित्तिकै युरोपेली संघले लगाएको प्रतिबन्धमा नै बढी केन्द्रित हुने गरेको उनको भनाइ छ।
‘तर यो प्रतिबन्ध हटाउनुपर्ने विषय आवश्यक छ। सबैको चासोको विषय हो। यो ऐन पारित भइसकेपछि कानुन निर्माण भएपछि यो प्रतिबन्ध हटाउन अझ बल पनि पुग्ला’, उनले भनिन्, ‘तर सबैभन्दा महत्त्वपूर्ण विषयचाहिँ नेपाली नागरिकहरुको यात्रा गर्दा सुरक्षित महशुस गर्ने विषय हो। यात्रा गर्दा सुरक्षित महशुस गरेका छन् कि छैनन् भन्नेचाहिँ प्रधान विषय हो। त्यसपछि अन्य विषयहरु आउँछन्। अहिले नेपालका आम नागरिकले सुरक्षित हवाइ यात्रालाई जोड दिइरहेका छन्।’
उनले हवाइ यात्रा गर्दा जहिले पनि पहिला भगवानसँग प्रार्थना गरेर यात्रा गर्नुपर्ने परिस्थिति रहेकाले यसलाई हल गर्न सेवा र नियामक छुट्याउने विषय आउनु ठीक भएको बताइन्।
‘ईयूको कालोसूचीभन्दा अघि यो विधेयक नागरिकको सुरक्षित यात्राबारे आउनु आवश्यक छ। नियामक निकाय छुट्याउने भन्नासाथ ईयूको दबाबमा भन्ने सुनिन्छ’, उनले भनिन्।
Shares

प्रतिक्रिया