नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। कोसी प्रदेशमा कानुन परिवर्तन भएपनि बाह्य र आन्तरिक लगानी गर्न चाहने लगानीकर्ताहरू सुरक्षित हुनुपर्ने उनले बताए।
विराटनगरमा उद्योग वाणिज्य महासंघ कोसीले आयोजना गरेको प्रदेशको आर्थिक अवस्था, लगानीको सम्भावना र चुनौती बारेमा आयोजित अन्तरसंवाद कार्यक्रममा ढकालले लगानी मैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी भित्र्याउन अन्तर्राष्ट्रिय र आन्तरिक रुपमा प्रचारप्रसार गर्दै आएको भए पनि लगानीकर्ताहरू निरुत्साहित हुनुपर्ने अवस्था राज्यको तर्फबाट सिर्जना हुन नहुने बताए।
‘निजी क्षेत्रको लगानी तथ्यमा नआउँदासम्म कुनै पनि सम्मेलनले रिजल्ट दिँदैन’, उनले भने, ‘कोसीमा हुन लागेको लगानी सम्मेलनबाट पनि लगानी गर्न इच्छुक लगानीकर्तालाई लगानीको सहज वातावरण बनाउने अवसर सिर्जना गर्नु राज्यको दायित्व हो।’
ताप्लेजुङमा केबुलकार बनाउने कामको नेतृत्व गर्दै आएका ढकालले केबुलकारको विरोध गर्ने पहिचानवादीहरूले अहिले आएर काम बढाउन आग्रह गरेको विज्ञप्ति सार्वजनिक भएको भन्दै आफू यसबाट उत्साहित भएको बताए।
ढकालले भने, ‘विरोध गर्ने पहिचानवादीहरू अहिले काम अगाडि बढाउनुपर्छ भनेर विज्ञप्ति आएको छ, यसलाई सकारात्मक लिन सकिन्छ।’
ताप्लेजुङमा पाथिभरा केबुलकार निर्माण हुनु नहुने भन्दै त्यसको विरोधमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ। त्यही विषयमा ढकालले भाषा, धर्म, रीतिरिवाज, संस्कार र संस्कृतिको संरक्षण गर्ने कुरामा आफू विश्वस्त रहेको समेत बताएका छन्।
‘आन्दोलनरत पक्षलाई म विश्वस्त दिलाउन चाहन्छु’, उनले भने, ‘कुनै पनि जातिको संस्कृति, भाषा, धर्म, रीतिरिवाजमा आँँच आउन दिने छैन, त्यसको सांस्कृतिक प्रवर्धन र संरक्षणको लागि बफादार भएर लाग्छौँ।’
उनले समस्याको वार्ताबाट समाधान गर्न सकिने समेत बताएका छन्। मौलिकताको सम्बर्धन गर्दै अघि बढ्ने विषयमा पहिचानवादीको विज्ञप्ति आएकोमा उनले धन्यवाद समेत दिएका छन्। उनले कुनै पनि संस्कार संस्कृति र पहिचान लोप हुन नदिने र संरक्षण गर्ने प्रतिवद्वता जनाए।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विराटनगर र पूर्वसँग जोडिएको जुटको गौरवलाई बचाउने गरी लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए। कोशीको सुनसरी मोरङ औद्योगिक करिडोरलाई बचाउँदै आर्थिक समृद्धिको गति दिने गरी लगानी सम्मेलन अगाडि बढाउन आग्रह गरे।
उनले पाथिभरा क्षेत्रमा भएको गतिविधिलाई राजनीति गर्ने काम भएको समेत उल्लेख गरे।
चिया उत्पादक संघका आदित्य पराजुलीले ९८ प्रतिशत चिया कोशीमा उत्पादन हुने र त्यसबाट १० अर्ब कारोबार भएको बताए। ६ अर्ब निर्यात गर्दै आएको दाबी गरेका पराजुलीले प्रदेश सरकारले दिगो आय स्रोतको रुपमा चियालाई लिनुपर्ने बताएका छन्।
कोशी सरकारले लगानी सम्मेलन गर्दैगर्दा चिया पर्यटनलाई सँगसँगै लिएर जान सकिने दाबी गरे। उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पर्यटन कृषि उद्योग र व्यापारको प्रचुर सम्भावना हेरेर लगानीको विषयमा ध्यान दिनुपर्ने उल्लेख गरे।
लगानीकर्ता शैलेन्द्र गुरागाईले कोशी प्रदेशमा २५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने दाबी गर्दै यसले प्रदेशलाई समृद्ध बनाउने उल्लेख गरे।
‘सरकारको वार्षिक बजेट बराबरको ऊर्जा उत्पादन कोसी प्रदेशबाट मात्रै हुनसक्छ,’ उनले भने, ‘दुई दर्जन बढी आयोजनाका फाइलहरू दुई वर्षदेखि वन मन्त्रालयमा घुमिरहेको छ यसलाई कोशी प्रदेश सरकारले समन्वय गरिदिनुपर्छ।’
कानुन बनाउँछौँ
उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले आयोजना गरेको कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले लगानीमैत्री वातावरण बनाउने दाबी गरे। उनले लगानीको वातावरण बनाउनका लागि आगामी अधिवेशनबाट नयाँ कानुन निर्माण र संशोधनलाई प्राथमिकतामा राखिने उल्लेख गरे।
सरकार लगानीको वातावरण बनाउन तयार रहेको बताउँदै कार्कीले प्रदेश सरकारले गर्ने सबै खालका सहयोग हुने र संघीय सरकारबाट गर्नुपर्ने समन्वयका काम पनि गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाए। मुख्यमन्त्री कार्कीले आगामी एक हप्ताभित्रमा सातवटा कानुन संशोधन गरेर लिएर जाने बताए। यसले आगामी दिनमा थप लगानीको वातावरण सिर्जना हुने समेत उल्लेख गरे।
Shares

प्रतिक्रिया