समाज


गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १६:३४, काठमाडौँ

फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई दस्तावेजीकरण गरिएको फोटो प्रदर्शनी आयोजना गरेका छन्। वैशाख १२ गते बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटोहरू प्रदर्शनमा राखिएका छन्।  

प्रदर्शनीको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे। साथै उनले प्रदर्शनीमा राखिएका सबै तस्बिर अवलोकन गरेका थिए। अध्यक्ष प्रचण्डसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले पनि फोटो प्रदर्शनी अवलोकन गरेका थिए। 

प्रदर्शनी उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त गोरखाका भौतिक संरचनाको बाँकी पुनर्निर्माण सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ संकल्प अद्वितीय रहेको उनले बताए। पुनर्निर्माणका धेरै काम सम्पन्न भए पनि जनताले अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गरे।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भूकम्पपछिको पुनर्निर्माण सन्तोषजनक नभएको स्वीकार गरे। उनले भने, भूकम्प अघि जस्तो बारपाक थियो त्यस्तो बनाउन हामीले सकेनौं। पर्यटक आकर्षण गर्ने हिसाबले भौतिक संरचना बनाउन सकिएन। हेर्दा राम्रो त देखिएको छ तर बारपाकको मौलिकता हराएको छ। भूकम्पबाट पाठ सिकेर आगामी दिनमा त्यस्तो दिन नआओस् भनेर पूर्वतयारी गर्नुपर्ने उनले बताए। 

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले पुनर्निर्माणपछि स्थानीयको आयआर्जन बढाउन र पर्यटक बढाउन गाउँपालिकाले प्रयास गरिरहेको बताए। भूकम्पपछि बारपाकको स्वरुप नै परिवर्तन भएको बताउँदै उनले विनाससँगै केही सकारात्मक परिवर्तनहरू पनि ल्याएको धारणा राखे।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको फोटो प्रदर्शनीको प्रवर्द्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ। अर्घाखाँची सिमेन्ट, कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकको सहयोग रहेको फोटो प्रदर्शनीको मिडिया पार्टनरको रुपमा नेपाल फोटो लाइब्रेरी रहेको छ।

प्रदर्शनीमा राखिएका सम्पूर्ण तस्बिर बारपाक सुलिकोट गाउँपालिकालाई हस्तान्तरण गर्ने घोषणा फोटो पत्रकार तिमिल्सेनाले गरेका छन्। ती तस्बिर गाउँपालिकाले बारपाकमा निर्माण गरिरहेको भूकम्प संग्रहालयमा राखिनेछ।

प्रदर्शनीको मुख्य उद्देश्य फोटोमार्फत भूकम्प प्रतिरोधी संरचना बनाउन गरिएका प्रयासको प्रभावकारितालाई पुनः स्मरण गराउनु रहेको तिमिल्सेनाले बताए। यसका साथै फोटो प्रदर्शनीले पुनर्निर्माणपछि बारपाकको अवस्थालाई देश-विदेशसम्म पुर्‍याउन प्रयास गरेको उनको भनाइ छ। प्रदर्शनीले बारपाकलाई पर्यटकीय गन्तव्यको रुपमा पनि विकास गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।

२०७२ सालको भूकम्पपछि बारपाक पुगेर त्यहाँको विनाश क्यामेरामा कैद गरेका उनी हरेक वर्षजस्तो त्यहाँ पुगेका थिए। त्यही क्रममा विगत १० वर्षमा त्यहाँ देखिएको परिवर्तनलाई फोटो प्रदर्शनीमार्फत स्थानीय र सरोकारवालाहरूलाई देखाउने प्रयास गरेको उनले बताए।

गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको शुक्रबार एक दशक पुगेको छ। भूकम्पमा करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए भने बाइस हजारभन्दा बढी घाइते भएका थिए। देशभर २८ लाख मानिस तत्कालका लागि घरवारविहीन हुनुका साथै सांस्कृतिक सम्पदा, सडक, जलविद्युत लगायतका विकास परियोजनाका अर्बौंको क्षति हुन पुगेको थियो। भूकम्पको केन्द्रविन्दु बारपाकमा ७२ जनाले ज्यान गुमाएका थिए। प्रभावित अन्य जिल्लाहरूमा जस्तै भौतिक संरचना क्षतिग्रस्त भएका थिए। ध्वस्त भएका संरचना पुनर्निर्माण भएका छन्। तर दु:खको कुरा, मन लोभ्याउने परम्परागत ढुंगे घर लोप भएका छन्। तिनको ठाउँमा क्रंकिट र जस्तापाताका संरचना बनाइएका छन्। 

प्रदर्शनीको मुख्य उद्देश्य फोटोमार्फत भूकम्प प्रतिरोधी संरचना बनाउन गरिएका प्रयासको प्रभावकारितालाई पुनः स्मरण गराउनु रहेको तिमिल्सेनाले बताए। यसका साथै फोटो प्रदर्शनीले पुनर्निर्माणपछि बारपाकको अवस्थालाई देश-विदेशसम्म पुर्‍याउन प्रयास गरेको उनको भनाइ छ। प्रदर्शनीले बारपाकलाई पर्यटकीय गन्तव्यको रुपमा पनि विकास गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।

विगत दुई दशकदेखि फोटो पत्रकारिता गरिरहेका तिमिल्सेना कान्तिपुर मिडिया ग्रुपका फोटो सम्पादक हुन्। विभिन्न नेपाली सञ्चारगृहमा काम गरेका तिमिल्सेनाले खिचेका फोटाहरू अमेरिकाको एसोसियट प्रेस, क्याराभान, यूरोपियन प्रेस एजेन्सी र स्टर्न म्यागेजिन लगायतका सञ्चारमाध्यममा प्रकाशित भएका छन्। 

सन् २०२४ मा इजरायले प्यालेस्टाइनमा आक्रमण गरेपछि त्यहाँ देखिएको तनावपूर्ण अवस्थालाई फोटोमा कैद गर्ने संसारका केही सीमित फोटो पत्रकारमध्ये तिमिल्सेना पनि एक हुन्। उनले खाडी मुलुकका साथै चीन, पाकिस्तान र भारतमा पुगेर रिपोर्टिङ गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad