नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूको प्राथमिकताको आधारमा बजेट छुट्टाउनुपर्ने बताएका छन्।
बिहीबार बीपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थापनको सहकार्यमा काठमाडौँमा आयोजित ‘आगामी बजेटका प्राथमिकताहरू’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आगामी योजनाहरूमध्ये प्राथमिकतालाई प्रमुख जोड दिन सक्नुपर्ने बताए। उनले पर्यटकीय केन्द्र, उत्पादन क्षेत्र र जनसङ्ख्याको केन्द्रलाई प्रमुख आधार बनाएर बजेट विनियोजन गरी भौतिक निर्माणका कामहरूलाई अगाडी बढाउनुपर्ने बताए।
उनले आफूहरूले तीन करोड भन्दा तलका योजनाहरू केन्द्र सरकारले नराख्ने भनेर कार्यविधि बनाए पनि कार्यान्वयन गर्न नपाउँदै सरकारबाट बाहिरिनुपरेको स्मरण गरे।
उनले भने, ‘हजारौँ सडक विकासका आयोजनाहरू सहरी विकास र भौतिक योजना। स्थानीयदेखि प्रदेश र केन्द्रसम्म। १० लाख, २० लाखदेखि अनेक खालका छन्। त्यसैले हामीले तीन करोड भन्दा तलका योजनाहरू केन्द्रले नराख्ने भनेर कार्यविधि पास गर्यौँ। तर त्यो लागू गर्न नपाउँदै सरकार गयो।’
उनले उत्पादनको नेतृत्व आम नागरिक र निजी क्षेत्रलाई दिने र वितरणको जिम्मेवारी राज्यले लिनु नै आजको समाजवाद भएको बताए।
नेता महतले उत्पादनमा सरकार फेल भइसकेको बताउँदै उत्पादनको नेतृत्व आम नागरिक र निजी क्षेत्रलाई दिनुपर्नेमा जोड दिए। पूर्वअर्थमन्त्री महतले उपस्थित नभई नहुने क्षेत्रमा राज्य संलग्न हुनुपर्ने बताए।
पूर्वाधारमा लामो समयसम्म प्रतिफल नआउने गरेकोले त्यसमा निजी क्षेत्र नजाने भन्दै त्यसको जिम्मा सरकारले लिनुपर्ने उनको भनाई थियो। उनले शिक्षा, स्वास्थ्य निजी क्षेत्रले निःशुल्क नदिने बताउँदै त्यस्तो संवेदनशील क्षेत्रमा सरकारले कदम बढाउनुपर्नेमा जोड दिए।
पूर्वअर्थमन्त्री महतले केन्द्र सरकारलाई साना—साना लगानी आयोजनाहरू छुट्याइँदा परिणाम निकाल्न नसकेको जिकिर गरे।
Shares

प्रतिक्रिया