बिमा कम्पनीहरुलाई चुक्ता पुँजीको सीमा पुर्याउनै सकस परेको छ।
जीवन बिमा कम्पनी मात्र नभई निर्जीवन, लघु र पुनर्बिमा कम्पनीलाई समेत चुक्ता पुँजीको न्यूनतम सीमा कायम गर्न समस्या परेको हो।
नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीहरुका लागि ५ अर्ब, निर्जीवन बिमा कम्पनीहरुका लागि साढे २ अर्ब र लघुबिमाका लागि न्यूनतम चुक्ता पुँजी ७५ करोड पुर्याउनुपर्ने व्यवस्था गरेको छ।
त्यसैगरी पुनर्बिमा कम्पनीहरुलाई पनि २० अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिइसकेको छ। अहिले न्यूनतम चुक्ता पुँजी नपुग्ने ८ जीवन बिमा कम्पनी छन्।
राष्ट्रिय जीवन बिमा, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एसियन लाइफ, सन नेपाल लाइफ, रिलायबल लाइफ, सानिमा रिलायन्स, सिटिजन्स लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी कायम नगरेका हुन्।
यीबाहेक हिमालयन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ र आईएमई लाइफ इन्स्योरेन्सले भने न्यूनतम चुक्ता पुँजी कायम गरेका छन्।
यस्तै निर्जीवनतर्फ ७ वटाले न्यूनतम चुक्ता पुँजी कायम गर्न सकेका छैनन् भने ५ वटाले तोकिएको पुँजी पुर्याएका छन्। न्यूनतम पुँजी २ अर्ब ५० करोड पुर्याउने कम्पनीहरुमा आईजीआई प्रुडेन्सियल अगाडि छ।
यो कम्पनीको चुक्ता पुँजी ३ अर्ब माथि हुँदा हिमालयन एभरेस्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले न्यूनतम चुक्ता पुँजी कायम गरेका हुन्। यीबाहेकका नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु, एनएलजी, राष्ट्रिय बिमा र सानिमा जीआईसी इन्स्योरेन्सले न्यूनतम चुक्ता पुँजी कायम नगरेका हुन्।
लघुबिमातर्फ भने ७ वटै कम्पनी न्यूनतम चुक्ता पुँजीनजिक मात्रै पुगेका छन्।
नेपाल माइक्रो, गार्डियन माइक्रो, प्राटेक्टिभ, क्रेस्ट, लिबर्टी, स्टर र ट्रस्ट माइक्रो इन्स्योरेन्सको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ।
प्राधिकरणले लघुबिमा कम्पनीहरुलाई ७५ करोड न्यूनतम चुक्ता पुँजी कायम गर्न भनेको छ। यसका लागि कम्पनीहरु प्राथमिक सेयरसँगै हकप्रद सेयर समेत जारी गरेर न्यूनतम चुक्ता पुँजी कायम गर्ने योजनामा छन्।
यस्तै माघमा प्राधिकरणले पुनर्बिमा कम्पनीको चुक्ता पुँजी पनि २० अर्ब पुर्याउनुपर्ने व्यवस्था गरेपछि नेपाल पुनर्बिमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीले पनि पुँजी थप गर्नुपर्ने देखिएको छ।
चैत मसान्तसम्म नेपाल पुनर्बिमा कम्पनीको १३ अर्ब ४२ करोड चुक्ता पुँजी छ भने हिमायन रिइन्स्योरेन्स कम्पनीको १० अर्ब ४० करोडको चुक्ता पुँजी छ।
Shares

प्रतिक्रिया