कारोबार


घरजग्गा कारोबारमा थपिएन उत्साह, राजस्व बढे पनि कारोबार गत वर्षजस्तै

घरजग्गा कारोबारमा थपिएन उत्साह, राजस्व बढे पनि कारोबार गत वर्षजस्तै

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १४:४६, काठमाडौँ

घरजग्गा कारोबारमा केही सुधार हुँदै गए पनि उत्साह थपिएको छैन।

बैंकहरूबाट जाने कर्जामा वृद्धि र राजस्व संकलनमा वृद्धि भए पनि समग्र कारोबार गत वर्षजस्तै रहेको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चैत महिनामा ४९ हजार ८३२ वटा कारोबार भएका छन्। १३५ मालपोत कार्यालयमध्ये सबैभन्दा बढी सुनसरीको इनरुवा मालपोत कार्यालयबाट १८ सय ९६ कारोबार भएको छ। झापाकै भद्रपुरबाट १८ सय ४ वटा कारोबार भएका छन्।

विभागको तथ्यांक हेर्दा तराईका जिल्लामा कारोबार बढी नै भए पनि अघिल्ला वर्षजस्तो उत्साह छैन। व्यवसायीका अनुसार अहिले आवश्यक परेका ठाउँमा मात्रै कारोबार भएको छ।

मोरङको बेलबारीबाट १७ सय १४, विराटनगरबाट १ हजार २३ कारोबार भएका छन्।

सप्तरीको राजविराज १४ सय ९, सिरहा कार्यालयबाट ११ सय ६१, जनकपुरधामबाट १५ सय ३८, सर्लाहीमा १२ सय ४७, भक्तपुरमा १ हजार ६१, कैलालीको धनगढीको १ हजार ८५ कारोबार भएका छन्।

गत वर्षको चैतसम्म ५० हजार २५२ कारोबार भएको थियो। २०७९ मा ४९ हजार १५० लिखित पारित भएका थिए। २०७८ मा ७० हजार ८२९ घरजग्गा कारोबार भएका थिए।

राजस्व संकलन ४५ करोडले बढ्यो
चैतसम्म ४ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। सेवा करबाट ३१ करोड ८३ लाख रुपैयाँ प्राप्त हुँदा २ अर्ब ३८ करोड रजिस्ट्रेसन दस्तुर र १ अर्ब ६४ करोड रुपैयाँ पुँजीगत लाभकर उठेको छ।

२०८० को चैतमा ३ अर्ब ९४ करोड राजस्व संकलन भएको थियो। सो महिना सेवाशुल्कबापत ३१ करोड ५२ लाख, रजिस्ट्रेसन शुल्कबाट २ अर्ब ४९ करोड र पुँजीगत लाभकरबाट १ करोड ४६ लाख उठेको थियो। 

२०७९ को चैतमा ४ अर्ब ५१ करोड राजस्व संकलन भएको थियो। २०७८ मा ५ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने २०७७ चैतमा ८ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। 

घरजग्गा व्यवासायी महासंघका अध्यक्ष विष्णु घिमिरे (ध्रुव)ले गत वर्षको तुलनामा घरजग्गा कारोबार बढ्ने देखिए पनि धेरै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताए।

‘समग्रमा हेर्दा गत वर्षको तुलनामा कारोबारमा सुधार हुँदै गएको देखिन्छ’, उनले भने, ‘राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो र आम्दानीको ७० प्रतिशत मात्रै ऋण लिन पाउने व्यवस्थाले कर्जा लिन धेरै बढ्नसकेको छैन।’

राष्ट्र बैंकले २ करोडसम्म होम लोनको सुविधा प्रवाह गर्नसक्ने व्यवस्था गरेको छ। तर व्यवसायीले त्यसमा आम्दानीको ७० प्रतिशत मात्रै किस्ता तिर्न मिल्ने व्यवस्थाले कारोबार बढ्न नसकेको व्यवसायीको दाबी छ।

राष्ट्र बैंकको फागुनसम्मको तथ्यांकले घरजग्गा कारोबारमा केही सुधार भएको देखाएको छ। गत वर्षको तुलनामा कर्जा बढेकाले सुधारको चरणमा रहेको देखिन्छ।

आवासीय होम लोन ४.४ प्रतिशतले बढेको छ। गत साउनमा ३८ अर्ब ७० करोड ऋण प्रवाह भएकोमा चैतसम्म बढेर ४० अर्ब ३८ करोड बढी ऋण प्रवाह भएको छ। गत वर्षबाट २ करोडसम्मको व्यक्तिगत घरकर्जा बढेको थियो। तर रियल इस्टेट क्षेत्रमा गत वर्ष ०.५ प्रतिशतले घटेको कर्जा अहिले ८.२ प्रतिशतले बढेको छ।

साउनमा २६ अर्ब ८१ करोड रुपैयाँ ऋण रहेकोमा अहिले बढेर २९ अर्ब २ करोड रुपैयाँ बढेको छ। २०८० को साउनदेखि चैतसम्म १३ करोडले कर्जा प्रवाह घटेको थियो। व्यावसायिक भवन, अपार्टमेन्ट निर्माणमा ३.७ प्रतिशत, जग्गा खरिद र प्लटिङका लागि लिइने ऋण साउनको तुलनामा घटेको छ।

‘नेपालमा सचिवको तलब ७५ हजार रुपैयाँ हुँदा ५५ हजार मासिक किस्ता तिर्न सक्ने गरी ऋण लिन सक्छ’, घिमिरेले भने, ‘२ करोडको घर खरिद गर्नेले मासिक ५५ लाख किस्ता मात्रै बुझाउँदा पुग्दैन।’

समग्र निर्माण क्षेत्रमध्ये आवासीय निर्माणमा कर्जा प्रवाह बढेको छ। चालू आर्थिक वर्षको साउनमा ७० अर्ब ६ करोड ऋण प्रवाह भएकोमा चैतसम्म आउँदा बढेर ७१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। पछिल्लो ९ महिनामा १ अर्ब ८२ करोड ऋण बढेको छ।

गत आर्थिक वर्षको साउनको तुलनामा चैतसम्म कर्जा प्रवाह ०.९ प्रतिशतले घटेको थियो। २०८० साउनमा ८२ अर्ब ९३ करोड ऋण प्रवाह भएकोमा माग घटेपछि चैतमा ८२ अर्ब २२ करोडमा सीमित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad