विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको ४.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।
आन्तरिक व्यापार बढ्दो, हाइड्रोपावर उत्पादन बढ्ने र धान उत्पादन वृद्धिले नेपालको आर्थिक वृद्धि साढे ४ प्रतिशत हुने अनुमान गरेको हो।
आर्थिक वर्ष २०२४ मा ३.९ प्रतिशतमै सीमित रहने उल्लेख गरेको विश्व बैंकले सेवा क्षेत्रमा आएको सुधारले २०२६ र ०२७ मा ५.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यलयले चालू आर्थिक वर्षको ६ महिनामा ५.१ प्रतिशत वृद्धि हुने भएको उल्लेख गरेको छ।
विश्व बैंकले पछिल्लो ६ महिनामा वास्तविक कुल गार्हस्थ्य उत्पादन ४.९ प्रतिशतले बढेको उल्लेख गरेको छ। अघिल्लो वर्षको ६ महिनामा ४.३ प्रतिशतले सीमित थियो।
नेपालको बाढी र पहिरोले पूर्वाधार, कृषि, सामाजिक सेवा प्रभावित हुँदा ०.८ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा असर गरेको विश्व बैंकको दाबी छ। त्रिभुवन विमानस्थल विस्तार गर्दा हवाइ टिकटको मूल्य बढ्दा पर्यटन क्षेत्र नै प्रभावित बनेको छ।
नेपालको मुद्रास्फीति राष्ट्र बैंकले तोकेको सिलिङभित्रै रहेको उल्लेख छ। २०२४ को ६ महिनामा ६.५ प्रतिशतसम्म मुद्रास्फीति रहेकोमा ५ प्रतिशतमा सीमित रहेको उल्लेख गरेको छ।
मूल्यवृद्धि कम हुनुमा गैर खाद्यवस्तु र सेवा, हाउजिङ, रेस्टुरेन्टको मूल्य घट्दा मुद्रास्फीति नियन्त्रण गर्न सहज भएको जनाएको छ।
६ महिनामा खाद्यान्न, पेयपदार्थको ७.५ प्रतिशत र तरकारीजन्य वस्तुको २६.६ प्रतिशत मुद्रास्फीति भएको उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया